हेराल्ड कलेजले सम्पन्न गर्यो पहिलो दिक्षान्त कार्यक्रम

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले बुधबार पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त दिक्षान्त समारोहमा बिएस्सी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना विद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका छन् । दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सह उपकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । साथै, हेराल्ड कलेजलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुग्नेछ । ‘विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने गरिन्छ ।’ उनले भने– ‘उभ्धरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उतिर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन् ।’ सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ठ मानिन्छ । कलेजले चारवर्षे ब्याचलर अफइन्टरनेशल विजनेश म्योजमेन्ट र तीन वर्षे बिएस्सी अनर्स कम्प्युटर साइन्स कक्षा संचालन गरिरहेको छ । आइएनजी ग्रुपले संचालन गरेको हेराल्ड कलेज काठमाडौको बारेमा जानकारी दिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेको छ । उनले आइएनजी ग्रुप अन्तर्गत संचालित पाच वटा कलेजले करिब ५०० युवालाई रोजगारी दिँदै आएको जानकारी गराउँदै सन् २०२५ भित्र करिब १० हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । ती संस्थामा अध्ययनरत मध्ये करिब ४ हजारले ग्रयाजुएट हासिल गरेको र ४ हजारको संख्यामा पुर्व विद्यार्थीको एल्मुनाई संगठित रहेको कलेजले जानकारी दिएको छ ।

आईडीपी आईएलटीएसद्वारा अल्फाबिटा सम्मानित

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा चर्चित अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान बिजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो । आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागीहुने भएका कारणले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ । अल्फाबिटा नेपालमा पहिलो पटक ब्रिजकोर्स सुरुवात गर्ने संस्था हो । संस्थाले विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदानगर्दै आएको छ । अल्फाबिटाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाहरु समेत आयोजना गर्दै आएको छ । अल्फाबिटाका अध्यक्ष तथा सीईओ द्विराजशर्मा संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए ।

जापानी राजदूतावासको ९२ लाख सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । दूतावासको रु ९१ लाख ६१ हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पोष्टबहादुर विश्वकर्माले जानकारी दिएका छन् । विसं २०७२ को भूकम्पका कारण पुरानो भवन जीर्ण बनेको थियो । “नयाँ भवन बनेपछि पठनपाठनमा धेरै सहज भएको छ”, प्रअ विश्वकर्माले भने “यस्तो विकट गाउँमा पनि पक्की भवन बनेकामा धेरै खुशी र उत्साहित भएका छाैं ।” गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनको समन्वयमा दूतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताए । राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले रु नौ लाख बराबरको श्रमदान गरेका थिए । भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । यसअघि पुरानो जीर्ण भवनमा बसेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पर्खाल चिरा परेको, पानी चुहिने र भूईं हिलो हुने समस्या थियो । नयाँ पक्की भवन निर्माण भएपछि सुरक्षित अनुभव भएको कक्षा ८ की छात्रा ईशा घर्तीले बताइन् । विसं २०४२ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ । विद्यालयमा २०२ विद्यार्थी रहेका शिक्षक तुलबहादुर पुनले बताए । दुई जना दरबन्दी, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्ची सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ती मानिन्छ । नवनिर्मित भवनको सोमबार जापानी राजदूतावासका प्रतिनिधि यासुकी स्याण्डोले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको पठनपाठनमा सुधार गर्न सहयोग पुग्ने बताए । रासस