नेपालमै सम्भव छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा
काठमाडौं । संसारभरी नै विद्यार्थीहरुलाई गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने लहर चलेको अवस्थामा पनि नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशिलताको विकास गर्ने र विश्व बजारका लागि विकाउ एवं सक्षम नागरिक तयार गर्ने उद्देश्यले स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको छ । केवल किताबी ज्ञान र शिक्षक केन्द्रीत शिक्षणले बालवालिकाहरुको चौतर्फी विकास गर्न सक्दैन । बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धती, प्रकृति र समुदायसँगको अन्तरक्रिया, गहन एवं अन्वेषक विश्लेषण, नियमित मूल्याङ्कनले मात्र प्रतिस्पर्धी विश्वबजारका लागि सक्षम नागरिक तयार गर्न सक्दछ । विद्यार्थीहरुले बन्द कोठा भित्रभन्दा बढी समय प्रयोगशालाहरु, खेलकुद मैदान, समुदाय र वातावरणसँग बिताउनेछन् । जहाँ सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा दिइने छ । नेपाल सरकारले निर्दिष्ट गरेको नियमित पाठ्यक्रम अन्तर्गत रहेर यस स्कुलले समय सुहाउँदो र विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न केही पाठ्यक्रम थप गरी अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका सिकाई पद्धतिहरुलाई पनि अनुशरण गर्ने लक्ष्य रहेको छ । विद्यार्थीहरुको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशालाको अलावा गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा लगायतका सबै कक्षा कोठाहरुलाई प्रयोगशाला कै रुपमा विकास गरिने छ । केवल कितावी ज्ञान भन्दा पनि पढेको कुरालाई जीवन उपयोगी बनाउन सकियो भने मात्र त्यसको दीगो अर्थ रहन सक्छ । त्यसैले चारवटा पर्खालहरु भित्रको कक्षा कोठामा दिइने पुरातन शिक्षा पद्धतिलाई परिवर्तन गरी सिकाइलाई प्रकृति र समुदायसँग अन्तरक्रिया गर्ने र घुलमिल हुने वातावरणको निर्माण गर्दै शिक्षालाई व्यवहारिक बनाइने छ । यसका साथै सबै कक्षा कोठाहरु स्मार्ट बोर्ड सहितको उच्च प्रविधियुक्त (स्मार्ट कक्षा), विद्यालय परिसरमा अत्याधुनिक इन्टरनेट सुविधा उपलब्घ हुनेछ । विद्यार्थीहरुलाई अत्याधुुनिक सेवा, सुविधा दिने उद्देश्यले खोलिएको यस स्कुलमा सबै कक्षाकोठाहरु वातानुकुलित (एयर कण्डिसन), फुटवल, बास्केटवल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुदको लागि संरचना, जिम हल, अत्याधुनिक तातोपानी सहितको पौडि पोखरी (इन्डोर हिटेड सुइमिङ्ग पूल) लगायत अन्य विभिन्न सुविधाहरु उपलब्ध छन् । विद्यार्थीहरुलाई स्कुल आउन र घर जानको लागि वातानुकुलित आधुनिक बसको सुविधा दिइने छ । एउटा राम्रो विद्यालय सञ्चालन गर्न राम्रा र सक्षम शिक्षकहरुको पनि आवश्यकता पर्दछ । त्यसको लागि राष्ट्रिय सञ्चार माध्यममा आवश्यकताको विज्ञापन प्रकाशित गरेर सयौं आवेदकहरुको माझबाट अन्तरवार्ता, लिखित परीक्षा, कक्षा शिक्षण जस्ता चरणहरु पार गर्दै शिक्षक÷शिक्षिकाहरु छनौट भएका छन् र छानिएका शिक्षक÷शिक्षिकाहरुलाई छिट्टै तालिम सञ्चालन गरिने छ । गुणस्तरीय शिक्षाका लागि नियमित रुपमा शिक्षकहरुलाई प्रदान गरिने तालिम, चुस्त ब्यवस्थापन जस्ता कारणहरुले पनि प्रमुख भूमिका खेलेको हुन्छ । तालिम एक निरन्तर प्रक्रिया हो र यो वर्षैभरी चल्ने छ । स्वस्तिश्री गुरुकुलले आफ्ना शिक्षक, कर्मचारीहरुलाई तालिम दिन, शिक्षण कार्यमा सहकार्य गर्न, आफ्ना शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरु विच भ्रमण आदान प्रदान गर्न संयुक्त राज्य अमेरिकाको वाटकिन्सन स्कुलसँग सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ र छिट्टै सम्झौता समेत हुँदैछ । यसैगरी यस स्कुलले गत बर्षदेखि नै बेलायतको फिल्डओर्क एजुकेशनसँगको सहकार्यमा ईन्टरनेशनल अर्ली इयर करिकुलम (आई.इ.वाई सी.) फ्रेमओर्क सञ्चालनमा ल्याएको छ । यस स्वस्तिश्री गुरुकुल दिने शिक्षा २१ औं शताब्दी सुहाउँदो हुने, जसले गर्दा स्वस्तिश्रीका विद्यार्थीहरु संसारका जुनसुकै ठाउँ र शिक्षण संस्थाहरुमा सजिलै घुलमिल हुन सक्नेछन् । विभिन्न कारणले बिचैमा पढाई छाड्ने विद्यार्थीहरुले पनि स्वस्तिश्रीमा सिकेको व्यवहारिक ज्ञान र जीवन उपयोगी शिक्षाका कारण सजिलै जीवन यापन गर्न सक्षम नागरिक तयार गर्ने लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको लागि भन्दै आफ्ना कलिला नानी बाबुहरुलाई विदेशमा पठाउने परम्पराको अन्त्य गर्न नेपालमै राम्रो विद्यालय खुल्नु पर्दछ भन्ने धेरै अभिभावकहरुको मागलाई पूरा गर्दै अभिभावकहरुकै सपनाको विद्यालयको रुपमा स्वस्तिश्री गुरुकुल बन्नेछ भन्ने प्रण यसले लिएको छ ।
अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा पीआईसीयू र एनआईसीयू
काठमाडाैं । अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण/सुधारका लागि पुर्ण आर्थिक तथा अन्य सहयोग गरेको छ । स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको फाउन्डेसनले शिक्षण अस्पताललाई उक्त सहयोग गरेको हो । त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले १६ माघ २०७६ का दिन पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक वैद्य श्रेष्ठले भने, “एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्दछ । पिआईसीयुमा केहि दिन भन्दा बढी रहेका शिसुकै वरिपरि सबै पल सँगै रहनु भनेको शारीरिक तथा मानसिक रूपमा तनाव हुने हुंदा पिआईसीयूको सकारात्मक वातावरणसहितका सुविधाहरू, उचित हेरचाह र औषधोपचारले आमाबुवालाई अझ राम्रोसँग बालबालिकाको हेरचाह गरेर सम्पूर्ण परिवार सँगै घर फर्कने योजनामा सक्षम तुल्याउँदै परिवारको तनाव कम गर्न मद्दत गर्न सक्छ । हामी सदैव बालबालिकाकौ स्वास्थ्य र पारिवारिक मूल्यमान्यताहरूप्रति चिन्तित छौं । त्यसैले यस असल कार्यका लागि शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौं । आशा छ, अग्नि फाउन्डेसनको सानो पहलले एनआईसीयू र पिआईसियु बाट तुरुन्त र प्रभावकारी ढंगबाट लाभ प्राप्त गरी आवश्यकता परेका अभिभावक र बालबालिकाहरूलाई सहजीकरण र सुविधा प्रदान गर्नेछ ।” त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठ भन्छन्, “नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो । शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ । हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ ।” शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण/सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले “अग्नि विंग” को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुवाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनु पर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रीत रहेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरूका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राख्दछ । अस्पतालमा आमाबुवाको निद्रा पूरा हुँदा र आरामले पूरै परिवारका लागि अस्पतालमा भर्ना हुँदाका सकारात्मक अनुभव प्राप्त गर्न सकिन्छ । नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पुर्याउँदै आएको छ ।
संस्कृत विश्वविद्यालय वेलझुण्डीमा पिएचडी कक्षा शुरु
तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर बुधबारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो । अनुसन्धान केन्द्रका प्रमुख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै विद्यावारिधी शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन शुरु भएको जानकारी दिएका थिए । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका बारेमा जानकारी गराएका थिए । दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा भएको समेत बताए । विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुनेछ ।