शिक्षकको तलब बढाउन माग गर्दै हजाराैं प्रदर्शनमा

काठमाडौं । शिक्षकको तलब बढाउन माग गर्दै क्रोएसियामा हजारौ शिक्षकले प्रदर्शन गरेका छन् । देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए । उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनु पर्ने मागसमेत उठाएको अधिकारीहरुले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरुले आग्रह गरेका छन् । सरकारी पक्ष र आन्दोलनकारीहरुको संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ । वार्तापछि सहमति भएमा सवै विद्यालयहरु खुल्ला हुने र पढाई हुने आन्दोलनकारीहरुका नेताले बताएका छन् । प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाडै नै सहमति हुने पत्रकारहरुलाई बताए । “बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सवै युनियन र युनियन नेताहरुलाई अनुरोध गर्दछु,” उनले भने । प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षकहरु कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गरे । उनले शिक्षकहरुको तलब यसअघि पनि ११ प्रतिशत बृद्धि गरिएको स्मरण गराउदै आन्दोलन फिर्ता लिन आग्रह पनि गरे। राससर/सिन्ह्वा

अंग्रेजी भाषालाई व्यवहारिक बनाउन विद्यार्थीलाई शिक्षण तालिम प्रदान

काठमाडाैं ।  कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक बनाउने उद्धेश्यकासाथ सुरु गरिएको एकदिवसिय शिक्षण तालिम दिइएकाे छ । उनीहरुमा अंग्रेजी भाषाको ज्ञानलाई थप मजबुत बनाउने लक्ष्यका साथ कार्यक्रम गिरएकाे हाे । ललितपुरकाे सेन्ट जेभियर्स स्कुलमा भएको कार्यक्रममा अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक समेत बिमोचन गरिएको छ । अक्सफोर्ड न्यू पाथ–फाइन्डर : एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक बिमोचन गरिएको हो । पुस्तकको लेखक गायत्री खन्ना हुन । उनके प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डि.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी.एस.जे लगाएत काठमाण्डौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो ।

बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही

काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा साेमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो । यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ । गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सकिने निर्णय गरेको थियो । रासस