विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुवात गर्ने तयारी भएको हो । विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनका अनुसार लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो । उनले भने, “इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भएको छ ।” यसका लागि विश्वविद्यालयले मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता छ । अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको क्याम्पस प्रमुख अवस्थीको भनाइ छ । विश्वविद्यालयअन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग समेत सहकार्य भइरहेको छ ।  रासस

एसइई, कक्षा ११ र १२ को परिक्षाबारे एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए । उनले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । उनले बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गरे । ‘आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन’, उनले भने- ‘तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।’ मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै भने, ‘पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने छ ।’ रासस

सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द

काठमाडौं । दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो । अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २ सय ५१ विद्यालय बन्द गरिएको छ । राजधानी सियोलमा निर्धारण गरिएको १ सय १७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ । सियोलको एक विद्यालयमा अध्ययनरत एक छात्रमा सङ्क्रमणको पुष्टि भएको छ । छात्रकी आमा बुकनस्थित वेयरहाउसमा कार्यरत हुनुहुन्छ । सियोल शहर र वरिपरिको सार्वजनिक पार्क तथा सङ्ग्रहालय बन्द गरिएको छ । भिड गर्न नहुनेमा जोड दिइएको छ । सन् २०१९ को अन्त्य तथा जनवरी महिनामा दक्षिण कोरिया विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्रको रुपमा देखा पर्यो । तर ‘ट्रेस, टेष्ट र ट्रिट’को नीति कठोरतापूर्वक लागू गर्दा कोरिया एक महिनाभित्रै सङक्रमण नियन्त्रणमा ल्यायो । शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला पर्यो । दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४ सय २ पुगेको छ । २ सय ७२ जनाकाे मृत्यु भएकाे छ । (गाेरखापत्र दैनिकबाट)