लहैलहैमा होइन बुझेर आउनुपर्छ अष्ट्रेलिया
मेलबर्न । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्टे«लिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ । गैरआवासीय नेपाली महासङ्घ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल यहाँ आफ्ना सन्तान पठाउनुअघि अभिभावक र स्वयम् विद्यार्थीले विचार पुर्याउन नसक्दा दुःख पाउने गरेको बताउँछन् । उनका अनुसार सुजबुझबिना आउनेले विभिन्न समस्या भोगेको पाइन्छ । आधिकारीक तथ्याङ्क नभए पनि एक लाख ५० हजारभन्दा बढी नेपाली अष्ट्रेलियाको विभिन्न सहरमा अध्ययन र काममा छन् । कँडेल सङ्ख्या बढिरहेको भन्दै गएको ६ महिनामा ४६ हजार विद्यार्थी यहाँ आएको बताउँछन् । सन् १९७५ देखि नेपाली अष्ट्रेलिया आउन थालेको बताइन्छ । यो क्रम क्रमशः बढ्दै आएको हो । पूर्वतयारी बिना आएका विद्यार्थी यहाँ रोजगारी नपाउने, क्याम्पस शुल्क तिर्न नसक्ने, बस्न–खानदेखि विभिन्न समस्या भोग्न बाध्य छन् । यससँगै परिवार र यहाँको दोहोरो दबाबका कारण मानसिक समस्यामा पर्ने गरेका छन् । यस्तै, नक्कली बिहे, नक्कली लाइसेन्स र सीप नजानी प्रमाणपत्रमात्र बोकेर आउने जोकोहीका लागि अष्ट्रेलियामा समस्या बन्ने गरेको छ । मेलबर्नको एक प्रतिष्ठित अस्पतालमा कार्यरत अजिता दवाडी मानसिक समस्या बोकेर नेपाली विद्यार्थी आउने गरेको बताउँछिन् । उनले भनिन्, “नेपालमा अभिभावकले पैसा पठाउन दबाब दिने यहाँ काम नपाएर वा पाएर पनि क्याम्पसको शुल्क तिर्न कठिन हुँदा विद्यार्थी मानसिक समस्यामा पर्ने गरेका छन् ।” गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष कँडेल अष्ट्रेलिया नेपालीका लागि महत्वपूर्ण गन्तव्य भएको भन्दै बुझेर आउनेका लागि भविष्य उज्वल भएको बताउँछन् । उनको भनाइमा नेपाली विद्यार्थी कम्तीमा स्नातक वा स्नातकोत्तर गरेरमात्र अष्ट्रेलिया आउनुपर्छ । आउनुअघि सीप लिएरै आउनुपर्छ । घरभित्रका नियमित कामदेखि सीपमा कफी बनाउने, वेटर, हाउसकिपिङ, फ्रन्टडेस्क, कार्यालय सहयोगी जस्ता कुनै न कुनै काम जानेकै हुनुपर्छ । यससँगै नक्कली नभएर गाडी चलाएर चालक अनुमतिपत्र लिएरै आउनुपर्ने उनको सुझाव छ । प्रमाणपत्रमात्र होइन काम जानेरै आउन सुझाव दिँदै उहाँ योग्यता र सीपमा दक्ष र सक्षम भएर आउनुपर्ने बताउँछन् । अष्टे«लियाका लागि नेपाली राजदूत महेशराज दाहालले यहाँका बारेमा आफैँ नबुझी सीपबिना आउनेहरुका लागि शुरुका दिनहरु निकै कठिन भएको भन्दै प्राविधिक र व्यावसायिक तालीम लिएर आउनुपर्ने बताए । सबै कामको यहाँ उत्तिकै सम्मान भएको भन्दै उनले कम्तीमा एउटा सीप भयो भने निकै सहज हुने बताएका छन् । नेपाली विद्यार्थीहरुले कुनै समस्या परेमा तत्काल राजदूतावास, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायत सँग सम्पर्क गर्न र यी सङ्घसंस्थाका वेबसाइट अध्ययन गर्न दाहालले सुझाव दिए । परामर्शदाता कम्पनी छनोट गर्दा अष्ट्रेलियामा शाखा भएको, दर्तावाला, माइग्रेशन एजेन्ट भएको छान्ने र त्यो हो÷होइन विद्यार्थीले गुगलमा खोजी गर्नुपर्ने भन्दै एउटैमा मात्र निर्भर नभएर राम्रो गरी परामर्शदाता कम्पनी छान्नुपर्ने सुझाए । यहाँ ख्याति प्राप्त विश्वविद्यालय छान्न र अध्ययनमा ध्यान दिनुपर्ने भन्दै कँडेलले कुन सहरमा आउने हो सो सहरका बारेमा राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । आफ्ना इष्टमित्र, साथीभाइ भएको सहर छान्न, एक वर्षका लागि आवश्यक खर्च व्यवस्थापन गरेरमात्र आउन (करिब आठ हजार डलर), एक वर्षका लागि विश्वविद्यालय शुल्कको तयारी घरबाटै गर्न र अक्टोबरको सत्रमा नआउन कँडेलको सुझाव रहेको छ । अष्टे«लियामा पढाइका लागि यहाँ सामान्यत दुई र केही विश्वविद्यालयमा तीन सत्र हुने गर्दछ । अक्टोवर, मार्च र जुलाई सत्र हुने गर्दछ । जुलाई सत्रपछि बिदा पर्ने भएकाले विद्यार्थीलाई काम खोज्ने अवसर मिल्ने गर्दछ । परामर्शदाता कम्पनीले जहाँ आफूलाई नाफा बढी हुन्छ त्यही भर्ना गरिदिने भएकाले विश्वविद्यालय आफैँ छान्नुपर्ने जानकारहरु बताउँछन् । कँडेल यहाँ आएपछि विद्यार्थीलाई छिटो साथी बनाउन, हरेक विश्वविद्यालयमा स्टुडेन्ट वेलफेयर सपोर्ट अफिसर हुने भएकाले भेट गरी आफ्नो समस्या राख्न सुझाव दिन्छन् । ती सुविधा विद्यार्थीले निःशुल्क पाउँछन् । अष्ट्रेलियमा २४ वर्षअघिदेखि बसोबास गर्दै आएका चितवनका विष्णु अधिकारी विद्यार्थीलाई एक्लो महसुस नगर्न सुभाव दिए । यहाँको यति फुटबल क्लबका संस्थापक अध्यक्ष अधिकारी हरेक सहरमा नेपालीका विभिन्न खेल र गतिविधि हुने भएकाले ती गतिविधिमा सहभागिता हुँदा एक्लोपनको महसुस नहुने र साथीभाई भेटघाटसँगै सहयोग आदानप्रदान हुने बताउँछन् । उपयोगी विषयमा अध्ययन गर्न सकेमा भविष्यमा यहाँमात्र नभएर नेपाल फर्किंदासमेत रोजागारीको अवसर मिल्ने उनको भनाइ छ । अष्ट्रेलियाको कानून तथा सामाजिक चालचलन बुझ्न र आफ्नो जीवन बीमालाई निरन्तरता दिन उनले सुझाव दिए । यहाँ आउँदा नै महिला र पुरुषले एकअर्कालाई सम्मान गर्न र रोजगारीका क्रममा जस्तोसुकै काम इमान्दारिताका साथ गर्छु भन्ने प्रतिबद्धताका साथ आउन अधिकारीको सुझाव छ । अष्ट्रेलियामा बस्ने नेपाली आप्रवासी समुदायमध्ये दोस्रो सबैभन्दा बढी रोजगारी गर्ने समुदायमा पर्दछन् । पहिलो ब्राजिल हो । रासस
सिप्रदीयन संस्थाद्वारा चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा र अन्य सामग्री वितरण
काठमाण्डौं । सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ । संस्थाले नारायणघाटको रत्ननगर स्थित श्री विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण गरेको हो । सो वितरण समारोहमा सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा शिक्षकहरू उपस्थित थिए । श्री विन्ध्येश्वरी आधारभूत विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीहरूलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ । ती चेपाङ विद्यार्थीहरूलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्रीहरू प्रदान गर्ने गरेको छ । सो विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरू कक्षाकोठा तथा विद्यालय र क्षेत्रीय स्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन् र अधिकांश चेपाङ विद्यार्थीहरू एसईइ परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन् । सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय रुपमा सहयोग र योगदान गर्दै आएको छ । हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालयहरू तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले शुरु गर्यो ‘गोल’ कार्यक्रम, युवालाई अगुवाई शिक्षा दिने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालमा “गोल” कार्यक्रमको औपचारिक शुरुवात् गरेको छ । बैंकले आफ्नो अन्तर्राष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वुमेन विन र नेपालको लागि स्थानीय कार्यान्वयनात्मक साझेदार राष्ट्रिय गैरसरकारी संस्था चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको हो । “गोल” कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशीता प्रोत्साहित गर्न स्ट्याण्डर्ड चार्टर्डले अबलम्बन गरेको एक विश्व व्यापी पहल हो । जसमार्फत् भविष्य निर्माताहरुलाई अगुवाई शिक्षा प्रदान गर्ने बैंकले जनाएको छ । “गोल”ले चेलीहरुलाई उनीहरुको परिवार र समुदायहरुमा आर्थिक नेतृत्व बहन गर्ने क्षमता प्रदान गर्न उनीहरुमा आत्मविश्वास, ज्ञान र सीपहरुको विकास गर्दछ । सन् २००६ र २०१८ को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकहरुका ४ लाख ८० हजार चेलीहरु र युवती लाभान्वीत भैसकेका छन् । बैंकले सन् २०२३ सम्ममा १० लाख चेलीहरुलाई यो कार्यक्रमबाट लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । “गोल” कार्यक्रम जीवनको महत्वपूर्ण सीपहरुलाई लक्षित गरेर मुख्यतः ४ भागमा विभाजित गरिएको छ, जस्तो कि सञ्चार, स्वास्थ्य र सरसफाई, महिला अधिकार र वित्तीय साक्षरता । कार्यक्रममार्फत् गोलले चेलीहरुको लागि समकक्षी नेताहरुमा विकास गर्ने, आफ्नो बारेमा सिक्ने, र बढी आत्मविश्वास प्राप्त गर्ने, साथीसँगीहरु र उनीहरु उनीहरुबीच सञ्जाल बनाउने लक्ष्य राखेको छ । ललितपुरस्थित मदन स्मारक उच्च मा.वि.मा गरिएको उक्त कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको तर्फबाट करिब १५० जना विद्यार्थीहरुलाई उनीहरुको अध्ययनकार्यमा सहयोग पुर्याउन स्टेशनरी सामग्रीहरु पनि वितरण गरिएको थियो ।