मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डोर्याउने बताए । “देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ”, उनले भने, “जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ, हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ ।” उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे । “गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ”, उनले भने । मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागि परेको समेत जानकारी दिएका छन् । शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, सङ्घीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए । उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकमा शिक्षा र स्वास्थ्यमा प्रगति भएको भन्दै बजारले माग गर्ने खालका प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने जानकारी दिए । शिक्षाको गुणस्तर उठाउनका लागि सरकार, शिक्षक र व्यवस्थापन मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हिस्टानका निवर्तमान अध्यक्ष दीपकराज सुवेदी र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सबै शिक्षक सङ्गठन गोलबन्द हुनुपर्ने भन्दै शिक्षकका समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा शिक्षक आन्दोलनमा सहयोग पुर्याएको भन्दै काँग्रेसका नेता महत, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हिस्टानका पूर्वअध्यक्ष डिल्ली सिग्देल र दीपकराज सुवेदीलाई सम्मान गरेका थिए । माध्यामिक विद्यालय शिक्षक युनियन, नेपाल र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनबीच एकता भएको हो । हिस्टानका अध्यक्ष पुष्पप्रसाद न्यौपानेले एउटै मुद्दा भएकाले दुई शिक्षक सङ्गठनलाई एक बनाइएको जानकारी दिए। उनका अनुसार आजको एकता महाधिवेशनले ११५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । रासस
सुभाङ्गि एजुकेसनले विद्यार्थीको आवश्यकता बुझी योग्य व्यक्तिबाट सही परामर्श दिन्छ: किशोर तिवारी
काठमाडौं । विगत १४ वर्षदेखि शैक्षिक परामर्श सेवामा आवद्द किशोर तिवारी सन् २००९ यता काठमाडौंको बागबजारमा सुभाङ्गि एजुकेसनमार्फत विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका छन्। उनी हाल जापान र फ्रान्सको लागि परामर्श सेवा दिदैं आएका छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरुको जापानप्रतिकाे रुची बढेको छ । यद्यपी, सही परार्मश नपाउँदा धेरै विद्यार्थीहरु जापान गएर विभिन्न खालका समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरूले विदेश जानुअघि के कस्ता कुरामा ध्यान दिने ? विद्यार्थीका लागि जापान कस्ताे गन्तव्य हाे ? लगायत विषयमा कन्सल्टेन्सीका सञ्चालक किशाेर तिवारीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेकाे कुराकानीः जापान अन्तर्राष्टिय विद्यार्थीको लागि कस्तो गन्तव्य हो ? अन्तर्राष्टिय बजारको हिसाबले जापानमा जन्मदर घटेको हुनाले कौशल जनशक्क्तिको कमि भएको देश हो । यसकारण जापान सरकारले भाषाको कोर्षहरुमा अन्तर्राष्टिय विद्यार्थीहरुलाई लामो समय देखि आवेदन खुल्ला गरेको छ । जापानमा अन्य भाषा नचल्ने हुनाले जापानमा पहिला भाषा पढ्ने र भाषा पढिसकेपछि टेक्निकल स्कुल अथवा विश्वविद्यालयमा पढ्न सक्ने प्रावधान छ । त्यस्ता टेक्निकल स्कुलहरुमा कार, कम्प्युटर जस्ता टेक्निोलोजीहरुको व्यावहारिक शिक्षा प्रदान गरिन्छ । उनीहरुलाई रोजगारको बजारमा पुराउने हिसाबले जापानले विद्यार्थीलाई ट्रेन गर्दछ । त्यसैले अन्तर्राष्टिय विद्यार्थीहरुलाई पढाईको र करियरको हिसाबले जापान एक राम्रो गन्तव्य हो । जापानमा नेपाली विद्यार्थीहरुको रोजाईमा कुन कुन कोर्षहरु पर्ने गरेका छन् ? ९० प्रतिशत नेपाली विद्यार्थी जापान सुरुवाती चरणमा भाषाको लागि जाने गर्छन् । जापानिज भाषा पढिसकेपछि विद्यार्थीहरुसँग दुईवटा विकल्प हुन्छ । एउटा भनेको भोकेसनल स्कुल जाने र दोस्रो विश्वविद्यालय जाने जसमा जानको लागि विद्यार्थीले भाषामा दोस्रो लेभलको परीक्षा पास गर्नुपर्ने हुन्छ । तर, भोकेसनल स्कुल पढ्नको लागि विद्यार्थीको भाषा राम्रो हुनुपर्छ । विद्यार्थी जापान जानुभन्दा अगाडि ध्यान दिनुपर्न कुराहरु के के हुन् ? विद्यार्थीहरुले जानुभन्दा अगाडि जापान आफुनो लागि सहि गन्तव्य हो कि होईन भन्ने कुरा बुझ्नपर्छ । र उसले एउटा उपयुक्त कन्सलटेन्सी छान्नु पर्छ । दोस्रो रहेको छ पार्ट टाईम काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा । यस्तै विद्यार्थी आफ्नो लक्ष्यलाई लिएर प्रष्ट हुनुपर्छ । यस्तै, मुख्य भनेकाे भाषाको तयारी हो । भोलि तपाई ब्याचलर पास गरेर सिधैं वोर्किङ भिसामा जानुहुन्छ कि भन्ने बिषयहरुमा तपाई आफै खुलस्त हुनु्पर्छ । तर, पहिलो प्राथमिक कुरा भनेको एउटा सही कन्सल्टेन्सी नै हो । त्यो किन भन्दा जापान जानुभन्दा अगाडि तपाईको दुई कुरा एकदमै महत्वपूर्ण हुन्छ जसले तपाईलाई सजिलै भिषा पाउन मद्दत गर्दछ । पहिलो भनेको राइट डकुमेन्टेसन जसको लागि कन्सल्टेन्सी राम्रो हुनु जरुरी छ। दोस्रो भनेको तपाई जापान गएर अध्ययन गर्ने जाने स्कुलको प्रोफाईल । जापानमा त्यो स्कुलको अवस्थाको बारेमा विद्यार्थीलाई कन्सलटेन्सीले जानकारी दिनैपर्छ। त्यो स्कुल ब्ल्याक लिस्टमा छ वा छैन अथवा त्यो स्कुलको नतिजाहरु कस्तो छ, बजारमा उनका उत्पादन अर्थात पास भएर निस्किएका विद्यार्थीको अवस्था कस्तो छ भन्ने विद्यार्थीमा जानकारी हुनुपर्छ, जापान सरकारको मिनिस्ट्री अफ जस्टिसले स्कुलहरुलाई उसको नतिजाहरुको आधारमा वर्गीकृत गरेको हुन्छ । जापान सरकारले विद्यार्थीहरुलाई कति वर्षको भिसा दिन्छ ? जापानको हकमा विद्यार्थीहरुले कोर्स र ईन्टेक हेरेर भिसा पाउने गर्छन् । अप्रिलमा आवेदन दिएका विद्यार्थीहरुको लागि २ वर्षको भिसा प्रदान गरिन्छ । यस्तै जुलाईमा गर्नेहरुको लागी २१ महिना, अक्टोबरमा १८ महिना र जनवरीमा १५ महिनाको भिसा दिईन्छ । भिसाको कुरा गर्नुपर्दा सामान्यतः जापान जाने विद्यार्थीहरुको १५ महिनाको सिओई सर्टिफिकेट अफ ईलिजिबिलिटी आउँछ । जति महिनाको सिओई आउँछ त्यती नै महिनाको भिसा आउँछ तर त्यसलाई पछि गएर सजिलै बढाउन सकिन्छ । डिपेन्डेन्टको हकमा जापानमा कस्ताे राष्ट्र रहेको छ ? डिपेन्डेन्टको हकमा भोलि गएर विद्यार्थीले आफ्नो श्रीमान अथवा श्रीमती लैजान आफ्नो आवश्यकता हेरेर उसले आवेदन दिन सक्छ । आवेदन दिनुभन्दा अगाडि उसले पढेको संस्थाबाट चाहिँ स्विकृति लिनुपर्ने हुन्छ । प्रकृयाको कुरा गर्नुपर्दा उसले आफ्नो नाता प्रमाण लगायतका डकुमेन्टहरु अध्यागमनमा बुझाईसकेपछि त्यसको पनि सिओई नै आउँछ । त्यसपछि विद्यार्थीहरुले आफ्नो पार्टनरलाई लैजान सक्छन् । विद्यार्थी भिषालाई जापानमा वर्किङ भिषामा परिवर्तन गर्न कत्तिको सहज छ ? सामान्यतः ब्याचलर पास भएका र भाषामा राम्रो भएकाहरुलाई आफ्नो भिसा वर्किङ भिसामा परिवर्तन गर्न खासै गाह्राे हुँदैन । यसको मतलब प्लस २ पास गरेकाले नपाउने भन्ने होइन । मुख्य कुरा जापानमा भाषा र सीपलाई प्राथमिकता दिईन्छ । तपाईले विभिन्न माध्यमबाट जापानमा कामको लागि आवेदन दिन सक्नुहुन्छ। जापानमा काम खोज्ने ब्रोकर कम्पनीदेखि लिएर काम खोज्ने एप्सहरु रहेका छन् वा तपाईले आफ्नो तपाईको जापानिज भाषा साह्रै राम्रो छ भने त्यहाँको कम्पनीहरुले तपाईको क्षमताहरुलाई मापन गर्दछ र तपाई उनीहरुको कामको लागि उपयुक्त लागे कम्पनीले अध्यागमन शाखामा गएर आवेदन दिन्छ । आवेदन दिईसकेपछि त्यसको पनि सिओई नै आउँछ र तपाई वर्किङ भिसा पाएर बस्न सक्नुहुन्छ । विद्यार्थीहरुले आफ्नो करियरलाई कतिको प्राथमिकतामा राखेको पाउनुहुन्छ ? मूलतः विद्यार्थीहरुलाई सही परामर्श नभएर हो कि किन हो अहिलेको अवस्थामा पनि धेरै विद्यार्थीहरुमा अझै पनि पैसा कमाउन प्रति नै आकर्षित छन् । हुन त धेरै विद्याथीहरु ऋण लिएर गएका हुन्छन् जसका कारण पनि उनीहरु पैसा कमाउन तर्फ बढी ध्यान दिएको पाइन्छ । तर, म मेरो विद्यार्हर्थीहरूलाई पैसा कमाउनुको साथसाथै करियरमा फोकस गर्न नछोड्न सुझाव दिन्छु । त्यहाँ गएर भाषा राम्रो भएर विश्वविद्यालयबाट दीक्षीत भए उ सजिलैसँग जापानको जब मार्केटमा बिक्छ । म हरेक विद्यार्थीहरु जो जापान जान चाहनुहुन्छ उहाँहरुलाई आफ्नो करियरबाट ध्यान अन्त्य नलैजानुहाेला, भविष्य राम्रो बनाउन सके बल्ल जिन्दगी सुखमय हुन्छ भन्ने सुझाव दिन चाहन्छु । जापान जानको लागि सुरुवाती चरणमा कति खर्चको आवश्यकता हुन्छ ? सुरुमा जापानमा भाषाको कोर्षको स्कुलको शूल्क ७ देखि ८ लाख पर्न जान्छ । त्यसपछिको बस्नको लागि, आफुले लाने पैसा, डकुमेन्टेसन, टिकेट जस्ता सबै चार्जहरु गर्दा लगभग १२ लाखको हाराहारीमा खर्च लाग्ने गर्दछ । नेपाल फर्केर विद्यार्थी कत्तिको आएका छन् ? यहाँ आएर के पेसा रोज्ने गरेका छन् ? धेरै फर्केर अाएका छन् । यद्यपी, फर्कनेको दाँजोमा उतै बस्नेको संख्या धेरै छ । यहाँ आएर धेरै जना परामर्श व्यवसायमै आबद्ध छन्। कोही कलेजहरुमा पढाईरहेका छन्, कोही भाषाका कक्षाहरु संचालन गरेर बसेका छन्, कोही आईटी क्षेत्रमै काम गरेर मनग्य पैसा कमाइ रहेका छन् । कन्सल्टेन्सीको विद्यार्थीहरुप्रतिको भूमिका के हो ? कन्सलटेन्टहरु डाक्टर जस्तै हुन् र हुनुपर्छ । जसरी एउटा डाक्टरले बिरामीलाई चेकजाँच गरेर उसलाई सही औषधि खानको लागि सुझाव दिन्छ त्यसरी नै कन्सलटेन्सीहरुको काम भनेको विधार्थीलाई गहिराईमा गएर कुनै पनि विषयको बारेमा पूर्ण रुपमा जानकारी दिनु हो । विधार्थीलाई जापान यस्तो देश हो भनेर सतही रुपमा थाहा छ । तर, त्यहाँ कुन क्षेत्रमा उनीहरुको करियर बन्छ, उसको क्षमता के हो भन्ने जस्ता सबै कुरालाई मूल्यांकन गरेर उनीहरुलाई कोर्सहरु सुझाव गर्न कन्सलटेन्सीको भुमिका हुन्छ । यसका साथै विद्यार्थीलाई पढ्नकाे लागि पठाइसकेपछि आफ्नो कर्तव्य पुरा भएको सोच्नु हुँदैन। विद्यार्थीले सुबाङ्गिलाई नै किन रोज्ने ? सुभाङ्गि आउनुको कुनै ठूलो उद्देश्य, गफ र आश्वासन पनि छैन । हाम्रो एउटै हो हामी सही सूचना दिन्छौं र विद्यार्थीलाई मिसगाईड गर्दैनौं । हामी हाम्रो अनुभवको आधारमा डकुमेन्टेसन गर्छाैं । विद्यार्थीहरुलाई हाम्रो भिषा सक्सेस रेट, काम गर्ने शैली, हाम्रो शिक्षकहरु हेरेर हामीलाई मूल्यांकन गर्न आग्रह गर्छाैं । हामी हाम्रो कामप्रति ईमान्दार छौं र हामी विद्यार्थीको डकुमेन्टेसन दिल दिमाग लगाएर गर्छौं त्यति नै हो । साथै, विद्यार्थीलाई अध्ययनको लागि पठाइसकेपछि हाम्रो काम त्यहीँ सकिदैँन । उनीहरुलाई भविष्यमा आवश्यक सहयोग हामी गर्छाैं र गर्दै आएका छौं ।
नर्सिङ कलेज र सिटिइभिटीकाे भूमरीमा फसेका ३० छात्रा, माग पुरा नगरे आत्मदाह गर्ने चेतावनी
काठमाडौं । सुर्खेतकी प्रेमिका राज्यलक्ष्मी शाहीको सानैदेखि नर्स बन्ने सपना थियो । त्यो सपनालाई यथार्थमा परिणत गर्न उनी २०७५ सालमा सिटिइभिटीको प्रवेश परिक्षा पास गरेर भक्तपुरस्थित चक्रवर्ति नर्सिङ कलेजमा भर्ना भइन् । प्रवेश परीक्षा पास गरेसँगै उनी धेरै खुशी भइन् । कारण थियो नर्स बन्ने उनको सपना पूरा हुने भयाे। चक्रवर्तिमा एक वर्ष राम्रैसँग बित्यो । उनीसहित ३० जना छात्राहरू सँगै पढ्थे । कलेजबाट सञ्चालित हुने त्रैमासिक, प्रि बोर्ड परीक्षा पनि उनीहरूले राम्रैसँग दिए । त्रैमासिक र प्री-बाेर्ड परीक्षामा अंक पनि राम्रै ल्याए । अब उनीहरुअन्तिम परीक्षा जुटे । बोर्ड परीक्षा साउन २६ गतेबाट शुरु हँदै थियो । राज्यलक्ष्मीसहित उनका साथीहरु परीक्षा शुरु हुनुभन्दा ३ दिन अगाडि अर्थात २३ गते परीक्षाको प्रवेश पत्र लिन कलेजमा पुगे । तर, कलेजले उनीहरुको प्रवेश पत्र दिएन । उनीहरु झसंग भए । त्यो दिन त्यतिकै बित्यो । २४ गते गए काम भएन, २५ गते गए, अँह, प्रवेश पत्र पाएनन् । साउन २६ गते उनीहरु बिहानै कलेज गए । अहँ, त्यो दिन पनि प्रवेश पत्र आएन । अब उनीहरुलाई शंका लाग्यो । भर्ना हुनभन्दा पहिला कलेज केही विवादमा रहेको भन्ने सुनेका पनि थिए । तर, कलेजसँग यस विषयमा बुझ्दा कलेजले उच्च अदालतबाट आएको स्टे अर्डर देखाएपछि उनीहरु ढुक्क भइन् र पढ्न शुरु गरिन् । प्रवेश पत्र नपाएसँगै उनीहरुलाई त्यसबेला बल्ल थाहा भयो कि कलेजको विवाद कायमै छ । यद्यपी, सिटिभिटीका कन्ट्रोलर र सदस्य सचिवले तपाईहरु पढ्दै गर्नुस् पछि कलेजको विवाद सकिएपछि यस विषयमा छिट्टै सेटलमेन्ट गरौंला भन्ने आश्वासन दिएर पठाए । परीक्षामा सामेल हुन नदिएपछि चक्रवती नर्सिङ कलेज पाटन उच्च अदालतमा गयो । अदालतले विद्यार्थीलाई प्रवेश पत्र दिई २७ गतेको परिक्षामा सामेल गराईदिन अन्तिरम आदेश दियो । तर, सिटिइभिटीले अदालतको आदेशलाई वास्ता गरेन । त्यसपछि घटनाले अर्कै मोड लियो । चक्रवर्ति कलेजले सिटिइभिटीविरुद्ध व्यक्तिगत रुपमा मानहानीको मुद्दा हाल्यो । मानहानीको मुद्दा हालेपछि सिटिइभिटी कलेजसँग मात्र नभएर विद्यार्थीहरुसँग पनि नकरात्मक बन्यो । उनीहरुले परीक्षा पनि दिन पाएनन् । अहिले पाँच महिना बिति सकेको छ । शाही र उनका अन्य साथीहरुले धेरै ठाउँमा धाए । तर, त्यसिको सुनुवाई भने अहिलेसम्म भएकोे छैन । उल्टै बेलाखत उच्च पदस्तहरुले नबुझेर कलेज भर्ना गरेको भन्दै विद्यार्थीहरुलाई झस्काई रहे । ‘हाम्रो काम भनेको पढ्ने हो, हामी गाउँबाट आएकालाई कहाँ के छ ? केही विवाद छ की छैन भनेर कसरी थाहा हुन्छ’ शाहीले भनिन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले २०७४ साल असोज २२ गते नै उक्त कलेजले परिषद्ले तोकेका मापदण्ड पूरा गर्न नसकेका कारण सम्बन्धन खारेज गरेको रहेछ । शुल्क फिर्ता गरेर पछाडि हट्यो कलेज चक्रवर्ति नर्सिङकलेज उनीहरुबाट लिएको शुल्क फिर्ता गरेर पछाडि हटिसकेको छ । शुरुमा ४० प्रतिशत रकम लिनुपर्नेमा कलेजले विद्यार्थीसँग ६० प्रतिशत रकम लिएको थियो । रकम फिर्ता गरेर विद्यार्थीलाई दिएको ठूलो धोकाबाट कलेज पन्छिन खाेजेकाे छ । कलेजका कुनै पनि व्यक्तिसँग अहिले सम्पर्क नभएको शाहीको भनाई छ । माघसम्म सुनुवाई नभए आत्मदाह गर्ने माघ भित्रमा आफ्ना मागको समाधान नभए सिटिइभीटी, शिक्षा मन्त्रालय र नेपाल सरकारको नाममा आफूहरू आत्मदाह गर्ने शाहीले बताइन् । यति लामो समय खर्च भएको बताउँदै उनले आफ्नो माग पूरा नभए आत्मदाह गर्ने चेतावनी दिएकी हुन् । आफू अध्ययनरत कलेजलाई खारेज गर्न अदालतले आदेश दिएपछि पहिलो वर्षको अन्तिम परीक्षा दिन नपाएका नर्सिङका ३० विद्यार्थीले आफूहरूलाई अर्को कलेजमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । तर, कलेजको मापदण्ड पुगे नपुगेको हेर्ने सीटीइभीटीले भने मापदण्ड नपुगेको कलेजबारे आफूहरूले विद्यार्थीलाई पटपटक जानकारी गराएको जनाएको छ । उक्त खारेजीको निर्णयविरुद्ध चक्रवर्ती नर्सिङ कलेजले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसमा पाएको अन्तरिम आदेशकै आधारमा कलेज सञ्चालन भइरहेकोले आफूहरूलाई त्यस्तो कानूनी पाटोबारे थाहा नभएको विद्यार्थीहरूले बताएका छन्। तर, सिटिइभिटीले भने त्यसबारे बेलैमा विद्यार्थीहरूलाई सूचित गरेको जनाएको छ । सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले विद्यार्थीलाई कलेजको सम्बन्धन रद्द गरिएको भनेर जानकारी गरिएको बताए । ‘तपाईँहरू त्यहाँ अध्ययन नगर्नुस् भनेर पटकपटक जानकारी गराएका थियौं, अब अदालतले पनि खारेज गर्ने विषय सदर गरिसकेको अवस्थामा विद्यार्थीको माग पूरा गर्ने कानूनी आधार हामीसँग छैन’ उनले भने । अब मन्त्रिपरिषद्ले नै कुनै विशेष व्यवस्था गरेर केही निर्देशन दिए मात्रै उनीहरूलाई व्यवस्थापन गर्ने ठाउँ रहन्छ। नत्र अरू केही पनि आधार नरहेको उनको भनाइ छ । पिडित विद्यार्थीहरूले बिहीबार शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि भेटेकाे शाहीले बताइन् । शिक्षा मन्त्रालयबाट समस्याकाे समाधान गर्ने आश्वासन आएकाे बताइन् ।