नेपाल एग्रो लघुवित्तद्धारा दुई दिने कर्मचारीको तालिम सम्पन्न
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २ दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । संस्थाले फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पुस २७ र २८ गते पोखरामा उक्त कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो । तालिममा संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले कर्जा प्रवाह गर्दा समूह सदस्यहरुलाई दोहोरोपना नहुने गरी, उनीहरुको व्यवसाय र क्षमता अनुसार मात्रै कर्जा प्रवाह गर्नुपर्ने, कर्जाको सदुपयोग राम्ररी जाच गरी उनीहरुलाई सफल र उदाहरणीय कृषक बन्न प्रेरित गर्नुपर्ने, कृषकहरुलाई तालिम दिइने बताएका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालबाट शाखाहरुले कार्यान्वयन गर्नुपर्ने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको वारेमा र वचत कर्ता तथा ऋणीहरुको हितलाई ध्यनमा राखेर कार्य गर्नुपर्ने बताए । पछिल्लो समयमा अधिककर्जाको भारबाट सदस्यहरुलाई बचाउनुपर्ने अवस्था आएकोले नेपाल राष्ट्र बैंकको एकल कर्जा सिमा भन्दा बढि कर्जा प्रवाहन गर्न र नेपाल एग्रोले आक्रमक होइन रक्षात्मक रणनीति लिनुपर्ने पनि प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।
विद्यालयको अनुगमन अब मोबाइलबाटै
कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयरमार्फत विद्यालयको अनुगमन शुरु गरिएको हो । गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी ‘रिभुलेसन टेक्लोलोजी’को उत्पादन स्कूल डायरीमार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । “पहिलोपटक गाउँपालिकाका दुई विद्यालयमा यो प्रविधि जडान गरिएको छ”, उनले भने, “प्रविधि सबै विद्यालयमा सञ्चालन गरिने छ ।” विद्युतीय सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने अध्यक्ष सेजुवालले बताए । “अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो”, उनले भने, “अब प्रविधिको प्रयोगले अनुगमनमा समेत सहज हुने छ ।” शिक्षकलाई नियमित विद्यालयमा आउन विद्युतीय माध्यम सजिलो हुने उनले बताए । विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने रिभोलुसन टेक्नोलोजीका अध्यक्ष विक्रम तिवारींले बताए । “विकट क्षेत्रबाट नै प्रविधिको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासँग साझेदारी गरिएको छ”, उनले भने, “बढी समस्या हुन्छ, त्यहाँ प्रविधिको जरुरी पनि हुन्छ ।” रासस
नेपाली प्राध्यापन गर्नेहरु संगठित, आचार्यको नेतृत्वमा बन्यो समिति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि, प्रविधिलगायत विषयमा छलफल भएको थियो । साथै, प्राध्यापकहरूले नेपाली भाषा शिक्षण र दोस्रो भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा छलफल, अन्तक्रिया गरी सामूहिक दृष्टिकोण विकासका माध्यमबाट प्राज्ञिक उन्नयनका निम्ति साझा मञ्च निर्माण गरेका छन् । कीर्तिपुरमा भएको विभिन्न क्याम्पसमा नेपाली शिक्षा प्राध्यापनरत शिक्षकहरुको भेलाले प्रा.डा. शर्वराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय नेपाली भाषा शिक्षा समाज तदर्थ समिति निर्माण गरेको छ । तदर्थ समितिका अन्य सदस्यहरुमा सानोठिमी क्याम्पस, भक्तपुरका हिमलाल पुरी, भारती अधिकारी, महेन्द्ररत्न क्याम्पस, ताहाचलका डा. दुर्गाप्रसाद दाहाल, रामकुमार राई शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दिनेश घिमिरे, डा. केशव भुसाल, बुटवल बहुमुखी क्याम्पसका डा. नारायणप्रसाद पन्थ रहेका छन् । यसैगरी, गोरखा क्याम्पसकी इन्द्रकुमारी देवकोटा, सोलुखुम्बु बहुमुखी क्याम्पसका उद्धवकुमार शर्मा, गणेशमान सिंह बहुमुखी क्याम्पस, काठमाडौँका दीपकबाबु निरौला, सिद्धज्योति क्याम्पस, सिन्धुलीका अर्जुन दाहाल र सुर्खेत क्याम्पसका डा. हर्कबहादुर शाही रहेका छन् ।