वाग्मतीमा नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

काठमाडाैं । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताए । उनले भने, “भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब ३ हजार ८ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हाैं । यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।” घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिए । सामाजिक सञ्जालको पहुँच कम गाउँपालिकाका चारपाँच विद्यालयमा मात्र सामाजिक सञ्जालको पहुँच भएकाले हरेक विद्यार्थीलाई शिक्षामा जोड दिन ‘अभ्यास पुस्तिका’ नामक व्यावहारिक तथा समुदायमा आधारित पुस्तिका प्रकाशन गर्ने योजना बनाइएको शिक्षक चौलागाईँले बताए । उनले भने, “गाउँपालिकाका हरेक विद्यार्थीको हातहातमा अबको १५ दिनभित्र सो पुस्तिका दिने निर्णय गरेका छाैं ।” हरेक बिद्यालयले लिने आवधिक परीक्षामा सो पुस्तकमा उल्लिखित केही प्रश्न पनि सोधिने चौलागाईँले जानकारी दिए । विद्यालयमा सिसी क्यामेरा गाउँपालिकाले केही दिनअघि वडा नं ३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा चार सिसी क्यामेरा जडान गरेको छ । गत वर्ष वडा नं २ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा एउटा क्यामेरा जडान गरिएको थियो । गाउँपालिकामा रहेका कूल १० माध्यमिक तहका विद्यालयमा पनि क्यामेरा जडान भइसकेको अध्यक्ष वीरबहादुर लोप्चले बताए ।   रासस

असार १ गतेदेखि टिभी र रेडियो मार्फत कक्षा १० सम्मको पढाई हुँदै, यस्ताे छ तालिका

काठमाडौं । लकडाउनको कारण शैक्षिक संस्थाहरु लामो समय बन्द रहेका छन् । केही विद्यालयहरुले अनलाईन कक्षा संचालन गरिरहेको छन् तर अधिकांश विद्यालयहरु अनलाईनमा सबै विद्यार्थीहरु समेट्न सम्भव नहुँदा कक्षा राम्रोसँग संचालन गर्न पाईरहेका छैनन् । यसैलाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखि रेडियो र टिभी मार्फत विद्यालयका विद्यार्थीहरुलाई पढाउने भएको छ । यो लकडाउनको समयमा अधिकांश विद्यार्थीहरुले समेट्ने उदेश्यको साथ सरकाले टिभी र रेडियो मार्फत पढाउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द«ले यसको व्यजस्था गरेको हो । केन्द्रको अनुसार कक्षा १ देखि कक्षा ८ सम्मको विद्यार्थीको लागि एनटिभी मार्फत दैनिक बिहान १० बजेदेखि ३ बजेसम्म पढाई हुनेछ । प्रत्येक कक्षा ३५ मिनेटको हुने केन्द«ले जनाएको छ । यस मार्फत अंग्रेजी, गणित र नेपाली पढाई हुनेछ । यस्तै डिसहोम, नेट टिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानल मार्फत कक्षा ९ र कक्षा १० को पढाई हुने केन्द्रले बताएको छ । कक्षा १० को बिहान १० बजेदेखि ११ ५५ सम्म ३५–३५ मिनेटको कक्षा संचालन हुने र कक्षा ९ को दिउँसो १२ बजेदेखि २ बजेसम्म ३ वटा भिन्न विषयको कक्षा संचालन हुनेछ । विज्ञान, अंग्रेजी, गणित, नेपाली, सामाजिक, जनसंख्या वातवरणको पढाई यस मार्फत हुनेछ । काठमाडौं महानगरपालिकाले पनि मेट्रो एफएम मार्फत कक्षा १ देखि १० कक्षा सम्मको विद्यार्थीलाई पढाउन सुरु गरिसकेको छ । मेट्रो एफ. एम. ९४ थोप्लो ६ मेगाहर्जकाे रेडियो शिक्षा कार्यक्रम मार्फत महानगरपालिकाले पढाउन सुरु गरेकाे हाे । देशभर विभिन्न ठाउँमा रेडियो मार्फत पढाई सुरु भईसकेकाे छ ।      

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

काठमाडाैं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्प मानिएको छ तर प्रत्यक्ष कक्षामा पढ्ने आदत र परीक्षामुखी प्रणालीको अभ्यासमा यो विकल्प स्थापित गर्न तत्काल सहज हुन भने गाह्रो रहेको विज्ञहरुको भनाइ छ । निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण हुन थालेका छन् । यद्यपि काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगन छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय समिति गठन गरी वैकल्पिक विधिको अनलाइन या दूरशिक्षाबारे अल्पकालीन र दीर्घकालीन सुझाव तयार गराई महामारीको यस अवस्थालाई शिक्षाको सूचना प्रविधिको फड्को मार्ने अवसर र चुनौतीका व्याख्या गर्दै आएका छन् । उक्त निर्देशिकामा रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने उल्लेख छ । निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरिएको जानकारी दिए । अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५ सय २० विद्यालयमध्ये २९ हजार ६ सय ७ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये ८ हजार ३ सय ६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये ३ हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् । विद्यालयमा भएको कम्प्युटर प्र्रयोगशला बन्दाबन्दीमा घरमा रहेका विद्यार्थीले उपयोग गर्न नपाए पनि विद्यालयको प्रशासन सञ्चालन हुँदा शिक्षकलाई सहज हुनेछ । चालू आवमा थप १ हजार माध्यमिक विद्यालयमा सूचना प्रविधिको प्रयोगशाला स्थापनाको लक्ष्य राखिएको थियो । सर्र्वेक्षणमा कक्षा १ देखि १२ सम्म कूल ७० लाख २१ हजार ६ सय २२ विद्यार्थी छन् । शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन् । कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ । यही जेठ २८ गतेदेखि काठमाडौं महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । विभिन्न जिल्लामा सामुदायिक रेडियोले पनि कक्षा शुरु गरेका छन् । काठमाडौं महानगरले शुरु गरेको रेडियोमार्फतको पढाइमा महानगरपालिकाभित्रका ९१ सार्वजनिक विद्यालय, तीन विशेष विद्यालय र ६ सय४३ संस्थागत ९निजी० विद्यालयमा अध्ययनरत तथा आसपासका विद्यार्थी प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । महानगरपालिकाको रेडियो कक्षाको संयोजन गरिरहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले अनलाइनबाटै विद्यार्थीको आवेदन फारम भराई वैकल्पिक विधिको शिक्षा दिन शुरु गरिएको बताउनुभयो । यसबीचमा इन्टरनेट, रेडियो, टेलिभिजन, कम्प्युटरमा पहुँच भएका विद्यार्थीको पहिचान गरी शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिम दिइएको छ । भौतिक दुरी कायम गरेर पाठ्यपुस्तक वितरण भइसकेको छ । प्रअ कँडेलले विद्यालयको आफ्नै मोबाइल एप्सबाट विद्यार्थीलाई गृहकार्य दिने, गतिविधि बुझ्ने, परीक्षण गर्नेलगायतका काम गरिएको र असार मसान्तसम्ममा सबै विद्यार्थीलाई भर्चुअल अनलाइन कक्षामा रुपान्तरण गर्ने योजना रहेको सुनाए । विभिन्न समयमा बोर्ड परीक्षामा सर्वोत्कृष्ट भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल उक्त नमूना विद्यालय विश्व निकेतनमा गत वैशाखको पहिलो साता विद्यालयको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकबाट गत वर्षको वार्षिक नतिजा प्रकाशन भइसकेको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकार दूरदर्शीले विद्यालयले ६ सय ५ विद्यार्थीलाई पुस्तक वितरण गरिसकेको र कक्षा १० का विद्यार्थीलाई विषयगत शिक्षकबाट यसै साताबाट अनलाइन कक्षा गुगल मिटामर्फत सञ्चालन गरिएको जनाए ।  रासस