एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक, बुधबारबाटै लागू हुने

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक आज (बुधबार, वैशाख ३१) बाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ । मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् । विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याक मार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकैनै हर्षित रहेको एनसेलले जनाएको छ । अनलाइन सिकाईका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सापटी रकमा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजीटल सेवाहरुमा निःशुल्क पहुँच जस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा शुरु गर्न निर्देशन

बुटबल । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको लागि सबैखाले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको बताउँदै प्रतिष्ठानमा चिकित्सा शिक्षा पनि शुरु गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले अस्पतालको विकास र हितका लागि गुरुयोजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराइने प्रतिबद्धता व्यक्तसमेत गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रतिष्ठानको १० शय्याको आइसियुको उद्घाटनसमेत गरे । प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीले प्रतिष्ठानले हाल गरेको कोरोना नियन्त्रणसम्बन्धी कामकारवाहीबारे जानकारी दिँदै प्रतिष्ठानको विकासका लागि थप बजेट माग गरेकी छन् । बालरोग विशेषज्ञ डा किशोर खत्रीले नवजात शिशु र बाल उपचार, कक्ष र सघन उपचार कक्षबारे बताए । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रल्हाद कार्की र कामु रजिष्ट्रार कैलाश देव र डिन वसन्त लामिछानेले पनि प्रतिष्ठानका कामबारे जानकारी दिए । मुख्यमन्त्री पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको निरीक्षण गरेको अस्पतलाका मेसु डा सर्वेश शर्माले बताए । रासस

लकडाउन खुलेपछि एसईई हुने, विद्यार्थीलाई तयारीमा रहन आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने भनिएकाे एसईई परीक्षा राेकिएकाे छ । मन्त्रालयले अब लकडाउन खुले लगत्तै परीक्षा हुने बताएकाे हाे ।  विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । ‘एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको बुझिएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ । हामी (मन्त्रालय) त्यो बिन्दुमा पुगेका छैनौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको वेबिनारमा उनले उक्त विचार व्यक्त गरेका हुन् । बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । परीक्षा नियन्त्रक रामराज खकुरेलले कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताए ।