पुनः निर्माण शुरु भएको १९ महिनामै सकियो दरबार हाईस्कुलकाे काम

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको हो । निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्नुपर्ने र उनहरु माघको तेस्रो साता आउने हुँदा यो महिनाको अन्तिम सातामात्रै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य भइरहेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्नेगरी चीन र नेपालका गरी दैनिक १ सय कामदारले काम गरी सम्पन्न गरेका हुन् । ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताए। “माघ अन्तिम साता सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाई स्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाईस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताए । भूकम्पअघि उक्त भवनमा भानुमावि र संस्कृतमावि दुबै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३ सयमात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले बाल्मिकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५ सय विद्यालयमा क्षति पुगेको थियो । रासस

नेपाल इन्जिनियरिङ कलेजद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भएको हो । प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दितीय रहेका थिए । २००८ मा स्थापित कार्डद्वारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिजासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा शिप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ । कार्ड परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ । इन्जिनियरिङ  पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिङ क्षेत्रबाट सहजीकरा गर्ने उद्देश्यले कार्ड स्थापित गरेको आशुतोषमणि त्रिपाठीले बताए । यही उद्देश्य अनुसार कार्डबाट समाजका लागि विभिन्न कामहरु गर्न सफल भएको अर्का विद्यार्थी सचेत जमरकटेलले उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ साथै एनवाईसीए युथ नेटवर्क रहेका थिए । कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका प्रतियोगीहरुमाझ इन्जिनियरिङ इनोभेसन क्षेत्रमा मैत्रीपूर्ण वादविवाद भएको थियो ।

भुकम्पले क्षतिग्रस्त निजी तथा सरकारी भवनको पुनःनिर्माणमा ढिलाइ

पाल्पा । चार वर्ष अघिको विनाशकारी महाभुकम्पले क्षतिग्रस्त पाल्पाका निजी तथा सरकारी भवनको पुनःनिर्माण अझै सम्पन्न हुन सकेको छैन । पुनःनिर्माण कार्य पुरा नहुँदा लाभग्राहीले सास्ती खेप्नु परेको छ । क्षतिग्रस्त ४ हजार ६ सय ९४ निजी आवाशमध्ये हालसम्म १ हजार ७ सय ३२ परिवारको पुनःनिर्माण भएका छन् । २ हजार ९६२ भूकम्पपीडितका निजी घर बन्न सकेको छैन । नीतिगत समस्याका कारण पहिलो र दोस्रो किस्ता पाउन सफल भएपनि मापदण्ड अनुसारका घर ठड्याउन सकेका छैनन् । पुनःनिर्माण हुन नसक्दा किस्ता निल्नु न ओकल्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माणमा ढिलासुस्तीले सर्वसाधारणले आशैआशामा चार वर्ष बिताउनु परेको हो । आर्थिक रूपमा कमजोर वर्गका लागि सरकारले पुनःनिर्माणका लागि प्रदान गर्ने चार लाख अपुग हुँदा झनै समस्या खेपेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिद्वारा आयोजित २२औंँ भूकम्प सुरक्षा दिवसमा प्रदेश नं ५ का सांसद नारायण आचार्यले भूकम्पका कारण क्षतिग्रत संरचना असार महिनाभित्र सम्पन्न गर्नुपर्ने बताए । उनले भूकम्पबाट क्षतिग्रस्त घर बनाउन पहिलो किस्ता लिई पुनःनिर्माण कार्यमा सहभागी नहुनेलाई सूचीबाट हटाउनुपर्ने बताएका छन् । जिल्लाको तिनाउ गाउँपालिकाको कोलडाँडामा भूकम्पबाट झत्केका घर निर्माणकार्य पूरा भएको बताउँदै उनले अरु स्थानमा पनि सोही अनुसारको निर्माण कार्य पुरा गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिए । प्रदेश सांसद पुरनमान बज्राचायले भूकम्पका कारण क्षति भएका संरचना निर्माण अब ढिलाइ हुन नहुने बताएका छन् । चार वर्षको अवधिमा निर्माणकार्य पुरा हुन नसक्दा सेवाग्राही हैरानीमा छन् । पाल्पाका प्रजिअ उमेशकुमार ढकालले चार वर्षसम्म पुनःनिर्माणका कार्यसम्म नहुँदा थप चुनौती सिर्जना भएकोले छिटोछरितो रुपमा काम सम्पन्न गर्नुपर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइका इञ्जिनीयर सुरेशराज गिरी स्थानीय स्रोत र साधनका भरिपूर्ण प्रयोग भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिने बताउँछन् । तर, पछिल्ला वर्ष पक्की भवनप्रति आकर्षण भएपछि त्यस्ता भवनमा गुणस्तरहीन सामानको प्रयोगले घर जोखिममा रहेको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख अन्नत सुनारले भूकम्पबाट क्षतिग्रस्त १ सय १६ विद्यालयमध्ये एक–एक कोठे १ सय ३ निर्माण भइसकेको बताएका छन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नेपालमा प्राकृतिक विपत् र गैरप्राकृतिक विपतका कारण जोखिम रहिरहने हुँदा सचेत हुनुपर्ने जानकारी दिए । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाका प्रत्येक वडामा विपत् व्यवस्थापनका लागि समिति गठन भएको बताए । उनले विपत् सम्बन्धी स्थानीय तहमा तालिम सञ्चालन गरी वडा, दुई प्रहरी चौकी, सेना तथा सशस्त्र प्रहरीलाई विपत् व्यवस्थापनका लागि चाहिने औजार प्रदान गरिएको बताउँछन् । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले स्थानीय तह र आयोजना कार्यान्वयन एकाइबीच प्रभावकारी समन्वयन हुन आवश्यकता महसुस भएको बताए । दुई कार्यालयबीच प्रभावकारी समन्वय गर्न सकेको अवस्थामा छिटो काम सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिए । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिकामा भूकम्पबाट प्रभावित छन् । नेपाल पत्रकार महासंघका राजेशकुमार अर्याल र स्थानीय वृद्धिजीवी वृद्धिप्रसाद शर्माले भूकम्पका कारण क्षतिग्रस्त निजी तथा सरकारी, विद्यालयका भवन निर्माण छिटो सम्पन्न गर्नुपर्ने बताए । विसं ०७२ सालको ७.८ रेक्टरको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माण नहुँदा जिल्लावासी चिन्तित छन् । रासस