विश्वविद्यालयको परीक्षाः आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्ने तयारी !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका समेस्टर प्रणालीका परीक्षाहरुको नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गरिने तयारी भइरहेको बताइएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको कारण प्रभावित स्नातकोत्तर तहका परीक्षाहरुको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । कोरोना भाइरसको कारण सञ्चालन हुन नसकेको सेमेस्टर प्रणालीका परीक्षाहरु आन्तरिक मूल्यांकन र प्रि-बोर्ड परीक्षाको आधारमा नतिजा निकाल्ने तयारी भइरहेको हो । स्रोतका अनुसार त्रिवि अन्तर्गका विभिन्न संकायका विभागहरुले कलेजले लिएको आन्तरिक परीक्षाको आधार मानेर विद्यार्थीहरुको मूल्यांकन गरी नतिजा नकाल्नको लागि त्रिविमा पत्र पठाइसकेका छन् । कतिपय सेमेस्टरहरुको परीक्षा गरिसक्नु पर्ने भएपनि कोरोनाको कारण परीक्षा लिन नपाएको र अब परीक्षा लिन धेरै ढिलो भइसकेकोले आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्नु पर्नेसहितको पत्र उनीहरुले त्रिविलाई पठाएका हुन् । यस्तै, विश्वविद्यालय अनुदान आयोगले कोरोना भाइरसको सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको छ । त्रिविका अनुसार विभिन्न संकायमा विभागबाट आएका पत्र र आयोगले गरेको सिफारिसका आधारमा निर्णय हुने बताएको छ । सिफारिसमा कोभिडको तयारी स्तर, परीक्षाको आवासीय स्थिति र महामारीको स्थानीय स्थिति विस्तृत रूपमा अवलोकन गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ । निर्देशिकामाा परीक्षा सञ्चालकका लागि अन्तिम वर्षका अथवा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । तर, स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्यक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्समार्फत सञ्चालन गर्न सकिने बताइएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले सकेसम्म परीक्षा लिने र सम्भव नभएमा शैक्षिक सत्र खेर नजाओस् भनेर सेमेस्टर स्तरोन्नति गर्न सिफारिस आएको बताएका छन् । विद्यार्थीको समय खेर नजाने किसिमले अगाडि बढ्ने उनले बताए । गत चैतमै हुनु पर्ने स्नातकोत्तरका परीक्षाहरु हालसम्म हुन नसकेकोले अब चाँडै नै यसको बारेमा सोच्नु पर्ने उनको भनाई छ । चैतमा व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित भएका छन् । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको बताए । विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको उनको भनाई छ । सरकारले कोरोनाको सङ्क्रमण बढ्ने अवस्था देखिएपछि चैत ५ गते विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन गरेको थियो । सरकारको सो निर्देशनपछि विश्वविद्यालयले चैत ७ गतेबाट जारी परीक्षा स्थगन गर्ने निर्णय लिएको थियो ।
एसईईको नतिजा साउन १५ गतेभित्रै प्रकाशित हुने
काठमाडौं । एसईईको नतिजा साउन १५ गतेसम्ममा प्रकाशन गरिसक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यालयले पठाएको डाटामा कुनै समस्या नभए साउन १५ गतेसम्ममा एसईईको नतिजा प्रकाशन गरिसक्ने बताएका हुन् । ‘विद्यार्थीहरुको डाटामा कुनै पनि प्रकारको समस्या नदेखिए साउन १५ सम्ममा नतिजा प्रकाशन गरिसक्ने हाम्रो लक्ष्य छ, केही समस्याहरु आईपरे थप केही समय लाग्न सक्छ,’ उनले भने । यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु एसर्ईई परीक्षा दिनलाई तयार बसेका थिए । तर, कोरोनाभाइरस (कोभिड १९) को कारण सरकारले चैत ६ गतेदेखि हुने भनिएको परीक्षा चैत ५ गते स्थगित गरेको थियो । परीक्षामा सबैभन्दा बढि काठमाडौंका ३६ हजार विद्यार्थीहरुले सहभागी हुने तयारीमा थिए । लगतै परीक्षा स्थगित भएसँगै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो । यस कारण एसईई परीक्षाको कुनै पनि टुँगो लागेको थिएन । तर, गत जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले एसईईलाई यस वर्ष आन्तरिक मुल्यांकनको आधारमा नतिजा निकाल्ने भएको हो । विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्नु पर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण असार २० गतेभित्र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा असार ३० गतेभित्र नतिजा पठाउनु पर्नेछ ।त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।
नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न मागसहित बुधबार त्रिवि पुगेका उनीहरुले बास्काेटाको कुर्सी जलाएका हुन् । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ ।