शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताएका छन् । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे । आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।रासस

२८ दिनदेखि बन्द काठमाडौं विश्वविद्यालयकाे सात सङ्कायमा मात्र खुल्यो ताला

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर (टिटिसी) प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो । विश्वविद्यालयमा सञ्चालित सातै सङ्कायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा. डा. कन्हैया झाले जानकारी दिए । उनका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन । केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले संयुक्त रुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो । “सोमबारको बालुवाटार भेलामा शिक्षामन्त्रीले तालाबन्दी खोल्नुस्, पठनपाठन रोक्नु भनेको अपराधजस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौँला भनेपछि आन्दोलनरत पक्षले आज बिहान ९ बजे आंशिक रुपमा मात्रै तालाबन्दी खोल्नुभयो”, उनले भने । हिजोको विशेष छलफलमा केयू प्रशासनले प्राध्यापक र कर्मचारी सङ्घका प्रतिनिधिलाई छलफलमा नराखेको र छलफलमा बसेका प्रतिनिधिलाई जबर्जस्त बाहिर पठाएको विरोधमा उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दीे नखुलाइएको सङ्घका अध्यक्ष डा वेदमणि जानकारी दिएका छन् । उनले भने, “विशेष सभामा लगेका कार्ययोजनाबारे भएको छलफलमा हामीलाई सहभागी नगराउनु खेदजनक छ, त्यसैले हाम्रा कार्ययोजना सकारात्मक सम्बोधन नभएसम्म तीनवटा कार्यालयको तालाबन्दी खोल्दैनौँ ।” यसअघि केयू प्रशासनले आन्दोलनरत पक्षलाई ‘माग सम्बोधन गर्ने’ आश्वासन दिँदा २१ दिनपछि ताला खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलनमा छन् । विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका छन् । सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास जस्ता माग राखेको छ ।रासस

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट हटाईए देशव्यापी आन्दोलनको गर्न विज्ञहरुकाे चेतावनी

काठमाडौं  गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका हुन् । गणितका विज्ञहरुले गणितलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन् । उनीहरुले ‘गणित विज्ञानको पनि विज्ञान’ भएको भन्दै पाठ्यक्रम प्रारुपमा समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछिमात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यैपनि बोलाईएन, र म गएको पनि छैन् ।’ कार्यक्रममा त्रि.वि. गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले कम्तिमा विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नुपर्नेमा जोड दिए । प्राध्यापक धमलाले भने,‘स्कुलमा गणित विषयमा अनुतिर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद विषय हो ।’ त्यस्तै, नेपाल गणित समाजका सभापति प्रा.डा. चेतराज भट्टले अहिले ल्याईएको प्रारुपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गरे । उनले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको स्पष्ट पारे । त्यस्तै, त्रि.वि. ईन्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले हालै त्रि.वि.को अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाईएको जनाउँदै गणितको महत्व ईन्जिनियरिङ पढ्ने विद्यार्थीको लागि कति छ भन्ने कुरा पुष्टि भएको बताए । कार्यक्रममा त्रि.वि. गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. वेदराज आचार्यले गणित विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न ईच्छुक विद्यार्थी बञ्चित हुनुपर्ने बाध्यता औंल्याए । कार्यक्रममा नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जिवन काफ्लेले गणित प्राकृति र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको सुनाउँदै यो विषको जगबिना अन्य कुनैपनि विषयको दक्षता हाँसिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नुमात्रै भएको टिप्पणी गरे । उनले भने,‘पाठ्यक्रम विकास केन्द्रले अहिले ल्याएको पाठ्यक्रम प्रारुप खच्चडजस्तो भयो । यो पाठ्यक्रम प्रारुपले सिर्जना र आविष्कार गर्न सक्दैन् । अझ सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित शिक्षा (स्टिम एजुकेशन) लाई पाठ्यक्रमको अभिन्न अंग बनाउने कुरा उल्लेख गरिएको छ । सिडिसीले ल्याउन खोजेको पाठ्यक्रमको प्रारुपमा यो नीतिलाई पुर्ण रुपमा बेवास्ता गरेको देखिन्छ । यो सुहाउँदो कुरा होईन् ।’ कार्यक्रममा वमुन अफ नेपाल ईन म्याथमेटिकल साईन्स (ओनिम्स्) का उपाध्यक्ष डा. नीलम सुवेदीले विगत दुई वर्षभन्दा अघिदेखि आफूहरुले पाठ्यक्रम प्रारुपको बारेमा बारम्बार सचेत गराएको बताउँदै भनिन्,‘हामीले सेचत गराउँदा गराउँदै गणित विषयलाई पाठ्यक्रम प्रारुपमबाट बेवास्ता गरियो, यो दुःखदायी कुरा हो ।’ त्यस्तै, स्कुल स्ट्रक्चरका संयोजक तथा नेपाल गणित समाजका केन्द्रीय सदस्य हरि प्रपन्न कँडेलले यस्तै पाठ्यक्रम हुबहु लागु गरेको खण्डमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले उक्त पाठ्यक्रम तत्काल सच्याउनुपर्ने माग गरे । उनले भने,‘यदि जबरजस्ती यो पाठ्यक्रम प्रारुप हुबहु लागु गरिए, देशमा आन्दोनलको ठूलो आँधीबहेरी आउनेछ । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा राज्यले लिनुपर्छ ।’