रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानः फागुन १५ गते नेपाली निबन्ध लेखन प्रतियोगिता हुँदै
काठमाडौं । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रिय स्तरको ‘नेपाली निबन्ध लेखन प्रतियोगिता’ आयोजना गरेको छ। प्रथम स्मृति दिवसका सन्दर्भमा नेपाल भरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरू सहभागी हुने गरी उक्त निबन्ध प्रतियोगिता गर्ने भएको हो । कार्यक्रम फागुन १५ गते पाेखरामा हुने भएको छ । प्रतिष्ठालने सूचना मार्फत विद्यार्थी आफै सहभागी हुन वा क्याम्पसले सहभागीताको लागि सहयोग गरिदिन समेत अनुरोध गरेको छ । निबन्ध पठाउने समय फागुन पहिलो हप्ता सम्म, समय थप गरिएको छ ।
मुख्यमन्त्री पौडेलले भनेः पाँच वर्षभित्र बागमती प्रदेशमा आमूल परिवर्तन हुन्छ
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताए । उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताएका छन् । शिक्षालय बेराजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुन नहुने भन्दै सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर रोजगार बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने गरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । भूकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा आगामी सयौँ वर्षका लागि हुनेगरी पुनःनिर्माणको कामसमेत गराएको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये मकवानपुरमा २५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको जानकारी दिए । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पले नष्ट भएका भौतिक संरचनाको दीर्घकालीन सोंचका साथ भएको पुनःनिर्माणले उत्साहित बनाएको बताए । उनले हामीले प्राप्त गरेको ठूलो उपलब्धिको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने उल्लेख गरे । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उनको भनाइ थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडिपरेको यस क्षेत्रले विकासको लय समातेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभात उच्च माविमा सूचना प्रविधि कक्षा स्थापना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा संचार प्रविधि(आइसिटी) कक्षाको सञ्चालन भएको हो । स्थापनासँगै कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सूचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताएका छन् । सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।