विदेशमा रहेका नेपाली विद्यार्थीका पीडाः अमेरिका भन्छः होस्टेल खाली गर, अष्ट्रेलिया भन्छः देशै छोड
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको कारण अहिले संसारभर स्वास्थ्य सेवा र केही महत्वपूर्ण अत्यावश्यक वस्तु तथा सेवाबाहेक सबै प्रकारका बन्दव्यापार, सेवा, उत्पादन जस्ता क्षेत्र बन्द छन् । कोभिड १९ संक्रमण र सम्भावित संक्रमणको त्रासले धेरै देशले लकडाउन गरेर मानिसलाई घरबाट बाहिर निस्कन रोक लगाइरहेका छन् । यसैकार संसारभर धेरै मानिसले जागिर गुमाएका छन् । रोजगारी गुमेका कारण धेरैलाई जिविकोपार्जनमा ठूलो समस्या परेको छ । यसरी समस्यामा पर्नेहरुमा विदेशमा अध्ययनरत विद्यार्थी पनि छन् । संसारभरका विद्यार्थी आफ्नो देश छोडेर अध्ययनको लागि अन्य देश जाने गरेका छन् । नयाँ संस्कृति, नयाँ समाज, नयाँ परिवेश जस्ता परिस्थितिको सामना गर्दै स्वतन्त्रताका साथ केही पैसा कमाउने र आफ्नो भविष्य उज्ज्वल बनाउने सपना सहित विशेष गरेर युवाहरु अध्ययनका लागि विदेश जाने गरेका छन् । यसरी विदेशमा गएका विद्यार्थीलाई कोरोना भाइरस संक्रमणले ठूलो असर गरेको छ । यस्तो असर पर्दा विश्वभरका विद्यार्थीसँगै नेपाली विद्यार्थी पनि प्रभावित भएका छन् । भखरै मात्र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो जिविकोपार्जन गर्न नसक्ने अन्तराष्ट्रिय विद्यार्थीलाई सक्दो चाँडो घर फर्कन सल्लाह दिएका छन् । सरकारसँग छैन यकिन तथ्यांक नेपालबाट पनि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च रहेको छ । नेपालको शिक्षा मन्त्रालय अन्तगर्तको उच्च शिक्षा महाशाखाका अनुसार २०६५ सालयता ३ लाखभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्नको लागि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । मन्त्रालयबाट एनओसी लिएका विद्यार्थीले विश्वका १ सय २४ देशमा अध्ययन गर्न विवरण मन्त्रालयमा पेश गरेका थिए । यद्यपि एनओसी लिएका सबै विद्यार्थी अध्ययनको लागि विदेश जान पाउँदैनन् । शिक्षा मन्त्रलयले पनि नेपालबाट अहिलेसम्म कति विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् भन्ने यकिन तथ्यांक राखेको छैन । मन्त्रालयको आधार भनेको एनओसी लिएकाहरुको संख्या नै हो । अष्ट्रेलियमा ६० हजार, जापानमा ३५ हजार नेपाली विद्यार्थी नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुसार अष्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये गतवर्ष मात्रै करिब ८ हजार विद्यार्थी अध्यनको लागि गएका थिए । यस्तै, अमेरिकामा करिब १३ हजार, जापानमा करिब ३५ हजार, करिब भारतमा १ लाख र बेलायतलगायत अन्य देशमा करिब ५ हजार भन्दा कम नेपाली विद्यार्थी रहेको पाण्डे बताउँछन् । के गर्दैछ सरकार ? विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले सामना गरिहेका समस्या र गर्नुपर्ने समाधानका उपायका बारेमा काम गर्न गत शनिबार शिक्षा मन्त्रालयले सहसचिव रामशरण सापकोटाको संयोजकत्वमा समिति बनाएको छ । समितिले विदेशमा रहेको विद्यार्थीको संख्या, अवस्था जस्ता विषयमा खोजी गरी आवश्यक निर्णय र पहल गर्ने सापकोटाले बताए । समस्यामा रहेका विद्यार्थीलाई दुतावासहरुको माध्यमबाट उद्धार गर्न सरकारले पहल थालेको सापकोटाले जानकारी दिए । यस्तै इक्यानले पनि नेपाली विद्यार्थीले विदेशमा भोग्नु परेका समस्या र समाधानको विकल्पका बारेमा पहल थालेको छ । गत शनिवारदेखि सरकार तथा शैक्षिक परामर्श संघले सम्बन्धित देशका नेपाली दुतावाससँग समन्वय गरेर समस्यामा परेको नेपाली विद्यार्थीको तथ्यांक संकलन गर्न सुरु गरेका छन् । खाना–बस्नमा समस्या भएर मारमा परेका विद्यार्थीले आफू रहेको देशको नेपाली दुतावासको वेभसाईटमा गएर ‘ईमरजेन्सी ईन्फरमेसन कलेक्सन’ फारम भरी सहयोग लिन सक्ने व्यवस्था सरकारले मिलाएको छ । शैक्षिक परामर्श संघ के गर्दैछ ? जागिर गुमाएका नेपाली विद्यार्थीका लागि आफूहरुले सम्बन्धित देशको नेपाली संस्थाहरुसँग समन्वय गरेर सहयोग अगाडी बढाईरहेको ईक्यानका अध्यक्ष पाण्डेले जानकारी दिए । ‘मारमा परेको विद्यार्थीका लागि हामीले हाम्रो तर्फबाट सक्नेसम्मको सहयोग सुरु गरेका छौं, अहिले हामीले विद्यार्थीको लागि सबैभन्दा महत्वपूर्ण र अति आवश्यक रहेको बस्ने ठाउँ, खाना र स्वास्थ्यको लागि आवश्यक सहयोग गरिरहेका छौं,’ अध्यक्ष पाण्डेले विकासन्युजसँग भने । एनआरएनएको भरथेग यस्तै, गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले खान, बस्न समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक र सम्भव भए जति सहयोग गर्नका लािग सम्पर्क गर्न भनेकोले पनि आधारभूत तहको सहयोग प्राप्त भएको अध्यक्ष पाण्डेको भनाइ छ । एक्काकाे कोषमा १६ हजार डलर यस्तै, अस्ट्रेलियाकाे शैक्षिक परामर्शदाता संस्था एक्कासँगकाे समन्वयमा एउटा कोष स्थापना गरेको र सो कोषमा अहिलेसम्म १६ हजार अस्ट्रेलियन डलर जम्मा भइसकेको पाण्डेले जानकारी दिए । यस्तो रकम पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको लागि आवश्यक सहयोग गर्न खर्च गरिने उनकाे भनाइ छ । छात्रवृत्ति दिलाउन इक्यानको पहल यस्तै, आफूहरुले विभिन्न विश्वविद्यालयहरुसँग सम्पर्क गरी अहिलेको समयमा विद्यार्थीहरुसँग कलेज फि नमाग्न, अनलाईन कक्षा संचालन गरेको अवस्थामा छात्रवृत्रि प्रदान गर्न जस्ता सकेजति सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ । कलेजले शुल्क मागे हामीसँग सम्पर्क गर्नुः इक्यान इक्यानले नेपाली विद्यार्थीसँग तत्कालका लागि कुनै पनि प्रकारको शुल्क नलिन सम्बन्धित कलेजसँग आग्रह गरिसेको छ । तर, आफ्नो आग्रह नमानेर कुनै पनि कलेजले शुल्क मागे इक्यान वा आफूलाई विदेश अध्ययनको लागि परामर्श दिने शैक्षिक परामर्श संस्थासँग सम्पर्क गर्न इक्यानले नेपाली विद्यार्थीसँग अनुरोध पनि गरेको छ । ‘विद्यार्थीको समस्या हामीले नजिकबाट नियालिरहेका छौं, सहयोगको लागि आवश्यक र सकेसम्म पहल र प्रयास पनि गरिरहेका छौं, यो विश्वव्यापी महामारी हो भन्ने बुझेर विद्यार्थीले पनि सोही प्रकारको सावधानीका उपाय अपनाउनु पर्छ, यो महामारी हो, जति पनि लम्बिन सक्छ, त्यसैले १४–१५ दिनमा हरेस नखान सबै विद्यार्थीसँग आग्रह पनि गरेका छौं,’ अध्यक्ष पाण्डेले भने । मुख्य दायित्व परिवारकै यद्यपि विद्यार्थीको मुख्य दायित्व परिवारकै रहेको पाण्डे बताउँछन् । कुनै पनि देशले विद्यार्थीलाई राम्रो आर्थिक अवस्था भएमात्रै विदेशमा अध्ययनको लागि जान भन्ने गरेकोले परिवारले सोही अनुसारको दायित्व निर्वाह गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीले बैधानिक कामबाट बढीमा उनीहरुको पकेट खर्च मात्रै धान्ने भएकोले रोजगारी नपाउने र कोठामै बस्नुपर्ने अहिलेको परिस्थितिमा परिवारको सहयोग जरुरी भएको उनको भनाइ छ । एक जनालाई ५ सय अमेरिकी डलर पठाउँन पाइन्छ विदेशमा अध्ययनरत विद्यार्थीलाई खान बस्नकै समस्या परेको महसुस गरी नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार विदेशमा अध्ययन गरिरहेका विद्यार्थीका लागि परिवार वा आफन्तले प्रतिविद्यार्थी ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सम्बन्धित विद्यार्थीले पाउने गरी पठाउन पाइने व्यवस्था मिलाइएको छ । नेपाली विद्यार्थीलाई समस्या परेको महसुस गरेर एनओसी लिएका वा नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा जुनसुकै देशमा पनि पठाउन पाइने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । कसरी पठाउन पाइन्छ रकम ? विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई खान बस्न नै समस्या भएपछि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर बराबर रकम पठाउन पाइने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले १९ चैतमा बैंक वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरिएकोले सटही सुविधा दिन भनेको छ । कोभिड १९ संक्रमणले अधिकांश देशमा लकडाउन गरिएको कारण नेपाली विद्यार्थीलाई खान बस्न नै समस्या भएकोले नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि रकम पठाउन पाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । ‘यो महामारीको बेलामा नेपाली विद्यार्थीलाई आवश्यक खर्चको व्यवस्थापन गर्न सहज होस भनेर प्रतिविद्यार्थी ५ सय अमेरिकी डलरसम्म पठाउन पाइने व्यवस्था गरिएको हो, कुनै नेपाली अभिभावकले विदेशमा अध्ययरत विद्यार्थीलाई रकम पठाउन चाहेमा नजिकको बैंक वित्तीय संस्थामा गएर रकम साटेर पठाउन सक्ने बाटो खोलेका छौं,’ कार्यकारी निर्देशक मिश्रले भने । यसरी रकम पठाउनको लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी हुनुपर्नेछ । यस्तै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ । रकम पठाउँदा प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म एक एकपटक मात्र पठाउन सकिनेछ । विद्यार्थीका अभिभावक/आफन्तले मात्र यसरी रकम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा सम्बन्धित बैंक वित्तीय संस्थाले रिपोर्टिङ गर्नुपर्ने लगायतका शर्त भने तोकिएको छ । यसरी लिइएको रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक/आफन्त स्वयम जिम्मेववार हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । अमेरिका भन्छः होष्टेल खाली गर, अष्ट्रेलिया भन्छः देशै छोड करिब ४ वर्षदेखि अमेरिकाको टेक्सास राज्यको ड्यालसमा बस्दै आएकी २५ वर्षीय दालामु शेर्पाले अहिले आफ्नो काम गुमाएकी छिन् । उनी एक व्युटी पार्लरमा काम गर्दै आएकी थिइन् । उनी अमेरिकामा नर्सिङ अध्ययन गर्दै थिइन् । ‘यहाँ धेरै नेपाली विद्यार्थी स्टोर, रेस्टुरेन्टहरु, डेलिभरीमा काम गर्छन्, अस्पताल, ग्यास स्टेसन स्टोरहरु बाहेका सबै बन्द छन्, स्टोरहरुको काम पनि कम समय मात्रै पाइन थालेको छ, यसैकारण धेरैको आम्दानीको श्रोत गुमेको छ,’ उनले भनिन् । तर, एक दुई वर्षभन्दा लामो समयदेखि बस्दै आएका विद्यार्थीलाई भने नयाँलाई जस्तो समस्या नपर्ने उनले बताइन् । भर्खरै नेपालबाट आएर विश्वविद्यालयको होस्टेलमा बस्नेहरुलाई सबैभन्दा धेरै समस्या परेको उनको भनाइ छ । अहिले विश्वविद्यालयहरुले होस्टेलमा बस्दै आएका विद्यार्थीलाई त्यहाँबाट निस्कन आदेश दिएको उनले बताइन् । भर्खरै आएका विद्यार्थीसँग काम पनि नहुने र कतिपयको आफन्त पनि नहुनेले बढी समस्या भोग्नुपरेको शेर्पाको भनाइ छ । ‘अमेरिकी सरकारले सबैलाई वर्कपर्मिट कार्ड दिने भनेपनि कार्ड प्राप्त गर्न ३ देखि ४ महिना लाग्ने भनिएको छ, अहिले नै खान बस्न नपाएका विद्यार्थीको लागि यो सुविधा पनि त्यति उपयुक्त नहुन सक्छ,’ शेर्पाले भनिन् । वर्कपर्मिट कार्डले अन्तराष्ट्रिय विद्यार्थीलाई जहाँ पनि काम गर्न दिन्छ । वर्कपर्मिटबिना अन्तराष्ट्रिय विद्यार्थीले कानुनी रुपमा कलेजभित्र बाहेक अन्य ठाउँमा काम गर्न पाउँदैनन् । जापानको सिजनेकामा ३ वर्षदेखि बस्दै आएकी मिना पच्छाईले जापानमा लकडाउन नभएकोले खासै समस्या नभएको बताइन् । ‘यहाँ त सबै कामहरु स्भाविक रुपमा चलिरहेको छ, कतै पनि केही बन्द भएको छैन, स्वास्थ्य सुरक्षाको हिसाबले भने भन्न सकिदैन,’ पच्छाईले भनिन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी मोनिका मगर हाल स्वास्थ्य सेवामा संलग्न र केही पेशाहरु बाहेक सबैले जागिर गुमाएको बताउँछिन् । अष्ट्रेलियाली प्रधानमन्त्रीले पनि आफ्नो जिविकोपार्जन गर्न नसक्ने विदेशी विद्यार्थीलाई आफ्नै देश फर्कन आग्रह गर्दै गरेको अवस्थामा झन् धेरै अन्योलता बढेको उनी बताउँछिन् । भखरै आएका विद्यार्थीलाई बढी प्रभाव पर्ने उनी बताउँछिन् । अष्ट्रेलियाले एक वर्ष पूरा नगरेका विदेशी विद्यार्थीलाई कुनै प्रकारको राहत प्याकेज प्रदान गर्न नसक्ने बताएको छ । अष्ट्रेलिया एक वर्ष पूरा नगरेका करिब ८ हजार नेपाली विद्यार्थी रहेका इक्यानको अनुमान छ ।
विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै
काठमाडाैं । लोकसेवा आयोग र चाटर्ड एकाउन्टेन्सी परिक्षाको तयारी अब घरबाटै गर्न सकिने भएकाे छ । इच्छुकले भुक्तानी सेवा प्रदायक कम्पनी स्प्यारो पे प्रा.लि. को “खल्ती-डिजिटल वालेट” मार्फत बिजहब आई.टि. सर्भिस प्रा.लि. को ओटिस प्लेटफर्मकाे शैक्षिक सामग्रीहरु पढी परिक्षाकाे उक्त तयारी गर्न सक्नेछन् । जसकाे लागि दुई संस्थाबीच समझदारी भएकाे छ । यससँगै विज्ञहरुद्वारा तयार पारिएका शैक्षिक सामग्रीहरुलाई भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा ७५ प्रतिशत न्यून शुल्कमा नै आउने परिक्षाको लागि तयार गर्न सकिने छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभावकारी बनाउन विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट नै आफ्नै समयमा आफ्नै घरमा बसेर ओटिस प्लेटफर्म मार्फत परिक्षाकाे तयारी गर्न सकिने छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले सबैको जनजीवन प्रभावित भएको छ | “तत्कालको गाह्रो अवस्थाले नै भविष्यमा हाम्रो अवस्था अझै मजबुत बनाउने” कुरामा सबैको विश्वाश भएकोले नै आफ्नो परिवार सहित हामी सुरक्षाका विभिन्न उपायहरु मनन गर्दै लकडाउनलाई पूर्ण पालना गर्दैछौ | सरकारको मुख्य उद्देश्यहरु मध्ये डिजिटल प्रविधि पनि एउटा रही आएको कुरा र अहिलेको यो अवस्थालाई फलदायी बनाउन परम्परागतमा आधारित शैक्षिक क्षेत्रलाई डिजिटलाईज गर्न सुरु गरिएकाे संस्थाले जनाएकाे छ । ओटिस मार्फत थप २५ प्रतिशतसम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप १०० रूपैयाँसम्मको क्यास व्याक पाइने छ । लोकसेवा, चाटर्ड एकाउन्टेंन्सी तथा ई.पी.एस. अन्तर्गतका कोरियन भाषाको सम्पूर्ण तयारि कक्षा लिन http://ottish.com वेबसाईटमा खाता खोली आफुले छानेको तयारी कक्षाको भुक्तानी सजिलै खल्ती http://khalti.com/app मार्फत गर्न सकिने संस्थाले जनाएकाे छ ।