मोम्स मन्टेश्वरीद्वारा पोषणसम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिएकी हुन् । अहिलेको व्यस्त जीवनमा उचित खानपानको तथा सन्तुलित पोषिलो खानेकुराको बारेमा सबैलाई जानकारी हुनु यो एउटा सरल मार्ग हो। आफ्ना बालबालिकाको पोषण स्तर कस्तो छ , के कस्ता खानेकुराहरु स्कुलमा खाइरहेका छन , त्यो सबैको बारेमा सहजै जानकारी पाउनु आफ्नो दायित्व मात्रै होइन अधिकार पनि भएकाे उपस्थित सबै अभिभावकले बताए । बाहिरका जन्क फुड , कुरकुरे , चाउचाउ, मःमः चाउमिन, रियल जुस, हर्लिक्स, मैदाको प्रयोगले स्वास्थमा नराम्रो असर पारिरहेको पोषण विज्ञले जानकारी दिइन् । आफ्नो घरमा पकाएको पोषिलो खाना नै स्वस्थको लागि राम्रो हो, साथै लिटो,जौ, कोदो, फापर , मकै आदिको प्रयोग गर्नुपर्ने र मौसमी फलफूल , सागपात, तरकारी , आदिको प्रयोग दिनहुँ आफ्नो गक्ष अनुसार खानामा समावेश गर्नुपर्ने डा. शाहले बताइन् । स्कुलका प्रिन्सिपलले अब हरेक स्कुलमा पोषणको कार्यकर्म संचालन हुनु पर्नेमा जोड दिए । अभिभावकहरु पनि अब आफ्नो नानी बाबुहरु अब ढुक्कसँग स्कुलमा शिक्षा मात्र नभई पोषिलो खानेकुरामा पनि विश्वस्त रहेको बताए । पोषण विशेषज्ञ शाहले अब हरेक क्षेत्रमा पोषणको एउटा अभियान थाल्नुपार्ने समेत जानकारी दिएकी छन् । यस स्कुल विगत ६ वर्षअघिदेखि शिक्षण क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । स्कुलमा डे केयरको पनि सुविधा भएको यस स्कुलमा ४५ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् ।
पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित विश्वविद्यालय खुल्दै
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयक माथिको छलफलमा उनले सो विश्वविद्यालय मकवानपुरको चित्लाङमा निर्माण हुने स्पष्ट गरे । मन्त्री पोखरेलले नेपालका अरू विश्वविद्यालयभन्दा उक्त विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने पनि बताए । छलफलमा सांसदहरुले सो विश्वविद्यालय खोलिनु सामयिक भएको उल्लेख गर्दै यसको नाम मदन–आश्रित विश्वविद्यालय हुनुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रष्ट गराउन मन्त्री पोखरेललाई आग्रह गरेका थिए । बैठकमा सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयमा अरू विषय समावेश गर्न नहुने धारण व्यक्त गरे । नेकपाका सांसद विद्या भट्टराईले नयाँ पुस्ताका लागि युग सुहाउँदो शिक्षा पाउने आशामा रहेका युवाहरु सो विश्वविद्यालयको प्रतीक्षामा रहेकाले चाँडोभन्दा चाँडो विधेयक अघि बढाउन आग्रह गरे । समितिका सभापति जयपुरी घर्तीले विधेयकमाथि दफावार छलफल गरी विज्ञ र संशोधनकर्ताको सुझावका आधारमा संशोधनसहित पारित गरिने जानकारी दिए । रासस
बागलुङका ६ सामुदायिक विद्यालयबीच समायोजन, कुन कुन गाँभिए ?
बलेवा । विद्यालयमा पढ्न आउने विद्यार्थी संख्या कम भएपछि बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा छवटा सामुदायिक विद्यालय समायोजन भएका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम तर शिक्षकको दरबन्दी बढिरहेका कारण अनावश्यक व्ययभार परेको भन्दै नगरपालिकाले गत आर्थिक वर्षमा छवटा विद्यालयलाई समायोजन गरेका हुन् । विद्यार्थी सङ्ख्या कम हुँदाहुँदै पनि चलिरहेका विद्यालय शिक्षा ऐनमा व्यवस्था भएअनुसार अर्को विद्यालयमा समायोजन हुन नमानेपछि घुमाउरो तरिकाबाट विद्यालयलाई समायोजन गरिएको हो । शिक्षकको दरबन्दी मिलान र ती छवटा विद्यालयमा रहेका विद्यार्थीलाई अर्को नजिकैको विद्यालयमा पठाएर नगर शिक्षा शाखा व्ययभार कम गर्ने प्रयास थालेको थियो । सामुदायिक विद्यालयमा यो बागलुङ नगरपालिकाको मात्रै समस्या होइन, जिल्लाका दशवटै स्थानीय तहमा विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको सङ्ख्या धेरै छ । पालिकाले विद्यार्थी, शिक्षक र विद्यालय नै व्यवस्थापनमा आ–आफ्नो हिसाबले योजना बनाएर लागिरहेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुनुको मुख्य कारण हो बसाइँसराइ र बगे्रल्ती खुलेका संस्थागत विद्यालय । अभिभावकको अङ्ग्रेजी मोह र अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन खुलेका संस्थागत विद्यालयमा निकै प्रतिस्पर्धा छ । कल्पना गर्नुस् संस्थागत विद्यालय बन्द हुने वा समायोजन हुनेभन्दा धेरै फुट्ने र खुल्ने प्रक्रियामा देखिने गरेका छन् । तर सदरमुकाममा रहेका दुई संस्थागत विद्यालयले भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण विद्यालय नै धराशयी हुने अवस्थामा पुग्ने भन्दै समायोजन (मर्जिङ) भएका छन् । सदरमुकाममा रहेको अमृत आदर्श आवासीय मावि र अमर आदर्श विद्यामन्दिर आवासीय मावि समायोजन भएका हुन् । दुवै विद्यालय समायोजन भएर अमृत आदर्श एकेडेमी बनेको एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मेहेशचन्द्र प्रधानले बताए । ‘हामीले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र शिक्षामा गुणस्तर वृद्धिका लागि जिल्लामै पहिलो कदम उठायौँ’, अध्यक्ष प्रधानले भने, ‘शिक्षामा परिवर्तनका लागि विद्यालय मर्जिङ गरिएको हो ।’ अमृतमा रहेका ३२५ र आदर्श विद्यामन्दिरमा रहेका ४२९ जना विद्यार्थीलाई माघ १६ गतेदेखि एकै ठाउँमा राखेर पठनपाठन थालिएको छ । विद्यालयका लेखापाल रामप्रसाद घिमिरेका अनुसार कक्षा एकभन्दा तल्लो तहका विद्यार्थीलाई एकै ठाउँमा पठनपाठन शुरु भइसकेको छ भने कक्षा १ भन्दा माथिका विद्यार्थीलाई पहिलेकै विद्यालयको हिसाबमा सेक्शनमा राखेर अध्यापन भइरहेको छ । नयाँ शैक्षिक सत्रदेखि एकै ठाउँमा पठनपाठन हुने उनले बताए। दुवै विद्यालयका ४६ जना शिक्षक कर्मचारी पनि समायोजन भएका छन् । संस्थागत विद्यालयले समायोजन गर्दा सम्बन्धित पालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने व्यवस्था रहेको भए पनि बागलुङ नगरपालिकाको शिक्षा शाखाले भने औपचारिक जानकारी नआएको जनाएको छ । ‘विद्यालयहरु मर्जिङ हुने मौखिक हल्ला सुनिएको छ तर आधिकारिक जानकारी आएको छैन’, शिक्षा अधिकृत गौरव राना मगरले भने, ‘प्रक्रिया पूरा गरेर मात्रै समायोजन हुन पाइन्छ ।’ दीर्घकालीन योजना बिना खुलेका विद्यालयलाई चलाउनु चुनौतीपूर्ण रहेकाले संस्थागत विद्यालय पनि समायोजनको चरणमा पुगेको उनको प्रतिक्रिया थियो । प्रतिस्पर्धी विद्यालयको सङ्ख्या धेरै भएपछि जिल्लाका विभिन्न स्थानमा रहेका अन्य संस्थागत विद्यालयसमेत सङ्कटग्रस्त अवस्थामा रहेको जानकारहरु बताउँछन् । स्थानीय सरकार गठनसँगै बनेका पालिका मुकामहरुमा खुलेका निजी विद्यालय पनि साबिक सदरमुकामका निजी विद्यालयको चुनौतीका रुपमा खडा भएका छन् । अर्कोतर्फ स्थानीय सरकारको मातहतमा आएपछि सामुदायिक विद्यालयमा भइरहेको सुधारले पनि संस्थागत विद्यालयलाई असर पुर्याएको अधिकृत राना मगरले बताए । ‘अभिभावक गुणस्तरको खोजीमा हुनुहुन्छ, हाम्रा सामुदायिक विद्यालय पनि सुध्रिएका छन्’, उनले भने, ‘सामुदायिक जस्तै संस्थागत विद्यालय पनि समायोजन हुनु र परिमार्जित हुनु आवश्यक छ ।’ बागलुङ नगरपालिकाले थालेको सामुदायिक विद्यालय सुधार अभियानका क्रममा गत वर्ष नै बागलुङ नगरपालिका–६ मा रहेको एक संस्थागत विद्यालय बन्द नै भएको थियो । स्थानीय लहरेपीपल माविमा सबै विद्यार्थी गएकाले उक्त विद्यालय बन्द भएको वडाध्यक्ष खिमराज सापकोटाले बताए । रासस