जागिरको लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? अब यसरी जित्नुस् प्रश्नकर्ताको मन

काठमाडाैं । राम्रो तयारीका साथ उपयुक्त ढंगबाट रोजगारीका लागि दिइने अन्तर्वार्ताको माध्यमबाट तपाईंले जागिर हासिल गर्ने मात्रै नभएर रोजगारदाताको मनमा आफ्नो विशेष छाप समेत बसाल्न सक्नुहुन्छ । सामान्यतया रोजगारदाताले आवेदन दिएका आवेदकहरुमध्ये उचित ठहर्याएर अन्तर्वार्ताका लागि तपाईंलाई डाक्नुको मतलब रोजगारदाता तपाईंप्रति अहिलेसम्म सकारात्मक छन् र तपाईं रोजगारीको अर्को एक कदम नजिक आइपुग्नुभएको छ भन्ने हो । यस अवस्थामा प्रश्न-उत्तरमार्फत आफ्नो सीप, दक्षता, कार्यअनुभव र क्षमता प्रमाणित गरी खुल्ला गरिएको पदमा तपाईंले आफूलाई स्थापित गराउन सक्नुहुन्छ । यदि अन्तर्वार्ताको क्रममा तपाईंले प्रदर्शन गर्नुभएको सीप, दक्षता, कार्यअनुभव र क्षमता लगायतका कारण नै तपाईंले रोजगारी हासिल गर्दै हुनुहुन्छ भन्ने तपाईंलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ । त्यसोत आजको दिनमा सीपको आधारमा रोजगारी पाइन्छ वा आवेदकको आचरण, व्यवहार, आत्मविश्वास तथा सो कम्पनी वा कार्यालयप्रतिको प्रतिबद्धताको आधारमा काम गर्ने अवसर हासिल हुन्छ भन्नेमा फरक-फरक रोजगारदाता र व्यवस्थापकहरुको भिन्न मत रहेको छ । तर, अन्तर्वार्ता नै त्यस्तो माध्यम हो जसमार्फत रोजगारदाताले आवेदकको यि सबै गुण एवं विशेषताको निर्क्यौल गरी तपाईंको रोजगारी पाउने सम्भावनाको निर्धारण गर्दछन् । तसर्थ, रोजगारी खोज्ने जोसुकैका लागि अन्तर्वार्ता निकै नै महत्वपूर्ण कोशेढुंगा हो । तर यहाँ विचार गर्नुपर्ने कुरा के हो भने रोजगारी खोज्ने मानिसका लागि अन्तर्वार्ता जवाफ दिनेमात्र नभइ प्रश्न सोध्ने थलो पनि हो । तपाईंले रोजगारीका लागि अन्तिम पटक कहिले अन्तर्वार्ताको सामना गर्नुभयो ? यदि हालसालै गर्नुभएको छ भने, तपाईंले याद गर्नुभयो, रोजगारदाताको समूहले तपाईंलाई आफ्नो प्रश्नहरु सोधिसकेपछि अन्तमा ‘अब हामीलाई तपाईंले सोध्नुपर्ने केहि प्रश्न छन् कि ?’ भनेर तपाईंको जिज्ञासा मेटाउने अवसर दिएको ? रिक्रुटिङ्ग फर्म (कर्मचारी नियुक्ती गर्ने जिम्मेवारी लिएको कम्पनी), इसिए पार्टनर्स्का संस्थापक तथा इभिडेन्स बेस्ड रिक्रुटिङ्ग पुस्तकका लेखक अट्टा टार्कीका अनुसार कुनै पनि रोजगारीका लागि दिइने अन्तर्वार्ताको सफलता तपाईंले दिने जवाफहरुमा मात्रै नभएर तपाईंले रोजगारदातालाई सोध्ने प्रश्नमा पनि निर्भर गर्दछ । विभिन्न कम्पनीहरुका लागि नियुक्ती प्रक्रियाको जिम्मेवारी सम्भालेका टार्की आफ्नो अनुभव यसरी उल्लेख गर्छन्, ‘यस काममा एक दशक बिताइसकेपछि मैले के पाएँ भने अधिकांश जागिरका आकांक्षीहरु डर वा आत्मविश्वासको कमीका कारण रोजगारदातालाई प्रभावित गर्ने साहसिक प्रश्न गर्न सक्दैनन् ।’ उनी अगाडी बताउँछन् कि यसरी उचित प्रश्न गर्न नसक्ने ब्यक्तिहरु रोजगारदाताको नजरमा कम जिम्मेवार, दृष्टिकोणविहिन र काम एवं संस्थाप्रति लापरवाह व्यक्तिको रुपमा चित्रित हुन्छन् । तसर्थ, अन्तर्वार्ताको क्रममा तपाईंले सोधेर रोजगारदातालाई प्रभावित तुल्याउन सक्ने केहि प्रश्नहरु निम्न उल्लेखित छन् जुन ऐजेन्सी तथा विभिन्न अन्तराष्ट्रिय वेभसाइटको सहयोगमा तयार पारिएको होः १. यस पदमा रहेर योभन्दा अगाडी काम गर्ने कर्मचारीहरु के कस्ता थिए ? उनीहरुको काम गर्ने तौरतरिका कस्ता थिए ? र उनीहरुको गुणदोष केके थिए ? माथि उल्लेखित प्रश्नहरुले तपाईं आफूलाई र आफ्नो काम गर्ने शैलीलाई अरुसँग तुलना गरी उनीहरुबाट केहि सिक्न खोजीरहनुभएको छ भन्ने प्रष्ट्याउँछ जसलाई रोजगारदाताले तपाईंको सकारात्मक चतुर कदमको रुपमा लिनसक्दछन् । २. यस पदमा रहेर काम गर्नेहरुमध्ये कस्ता कर्मचारीलाई तपाईं सफल कर्मचारी मान्नुहुन्छ र सोको मापन कसरी गर्नुहुन्छ ? यस प्रश्नले तपाईं आफ्नो पदभारप्रति जिम्मेवार हुनुहुन्छ र सफलता हासिल गर्नेतर्फ प्रयासरत हुनुहुन्छ भन्ने तथ्यलाई इंगित गर्दछ । ३. मैले यस जागिर सुरु गरेको खण्डमा तपाईं मैले पहिलो तीन महिना, छ महिना वा एक वर्षभित्र केकस्तो योगदान गरोस् वा उपलब्धी हासिल गरोस् भन्ने चाहनुहुन्छ ? यस प्रश्नले तपाईं कुनै पनि काम योजनाबद्ध ढंगबाट गर्न रुचाउनुहुन्छ भन्ने जनाउँछ । ४. तपाईं आफ्नो नवनियुक्त कर्मचारीले कार्यालयभित्र केकस्तो नयाँ मूल्य मान्यता भित्र्याओस् भन्ने चाहनुहुन्छ ? नवनियुक्त कर्मचारीले कार्यवातावरणमा के-कस्तो योगदान गरोस् भन्ने अपेक्षा राख्नुहुन्छ ? यस्ता प्रश्नले तपाईं काममा मात्रै नभएर मावन मूल्य तथा कार्यालयको प्रोफेसनल वातावरणप्रति पनि सचेत हुनुहुन्छ भन्ने जनाउँदछ । ५. यस कम्पनीभित्र के-कति अन्तरालमा पारिश्रमिक तथा सेवा सुविधाको मूल्यांकन हुन्छ ? कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले केकस्ता क्रियाकलापहरु संचालन गरिरहेको छ ? यस्ता प्रश्नले तपाईं भविष्यप्रति सचेत हुनुहुन्छ र आफ्नो करियरको वृत्ती-विकासप्रति गम्भिर हुनुहुन्छ भन्ने स्पष्ट गराउँछ । ६. तपाईं कर्मचारीले समयमै वा सोभन्दा अघि कार्यसम्पादन गरोस् भन्नेमात्रै चाहनुहुन्छ वा कार्यसम्पादन गर्दा प्रोफेसनल, ह्यूमन तथा यथिकल भ्यालुज्तर्फ पनि ध्यान देओस् भन्ने चाहनुहुन्छ ? यस प्रश्नले तपाईं काम, डेडलाइनको अलावा नीतिगत तथा मानविय मूल्य-मान्यताप्रति पनि सजग हुनुहुन्छ भनेर प्रष्ट्याउँछ । ७. तपाईंको कम्पनीको दृष्टिकोण, लक्ष्य तथा उद्देश्य के के हुन् ? यस प्रश्नले तपाईं सो कम्पनीसँग दीर्घकालसम्म आवद्ध हुन चाहनुहुन्छ भन्ने देखाउँछ । ८. यस कम्पनीभित्र सहकर्मीहरुबीच सहकार्य, सहअस्थित्व एवं सौहाद्रपूर्ण वातावरण निर्माणका लागि के-कस्ता पहलहरु भएका छन् ? यस प्रश्नले तपाईंलाई समूहकार्य गर्न रुचाउने र सबैसँग मिलेर काम सम्पादन गर्न रुचाउने व्यक्तिको रुपमा चिनाउँछ । ९. यस कम्पनीले कस्तो नेतृत्वको शैलीलाई प्रोत्साहन गर्दछ ? अवस्थाअनुसार गुनासो गर्ने प्रणालीको विकास भएको छ कि छैन ? यस प्रश्नले तपाईंभित्र रहेको नेतृत्व कलासम्बन्धी चेतलाई उर्जागर गर्दछ । १०. कम्पनीले  व्यवसायिक सामाजिक उत्तरदायित्वप्रति कत्तिको ध्यान दिएको छ ? अथवा सोअन्तर्गत केकस्ता कार्यहरु संचालित छन् ? यस प्रश्नले तपाईंको समाजप्रतिको जिम्मेवारीको बोधलाई झल्काउँछ । ११. के तपाईंले मेरो रिज्यूमेमा केहि त्यस्ता चिज वा गुणहरु देख्नुभयो जसको कारण तपाईंले मलाई आदर्श उम्मेदवार मान्न सक्नुहुन्छ वा जसको कारणले म यस रोजगारीको लागि अन्यभन्दा बढी योग्य देखिन्छु ? यस प्रश्नले तपाईं सो रोजगारीको अवसरप्रति चासो राख्नुभएको छ भनेर बुझिन्छ । अन्तमा, कार्यालय वा कामको प्रकृतिअनुसार तपाईंले रोजगारदातालाई सोध्न सक्ने प्रश्नहरु अन्य पनि हुन सक्छन् जुन तपाईं आफ्नो क्षमता वा सुविधाअनुसार आफैले विकास गरी सोध्न सक्नुहुन्छ । तर याद राख्नुस्, अन्तर्वार्ता तपाईंको हो न कि रोजगारदाताको । तसर्थ, आफूलाई अन्य प्रतिस्पर्धीभन्दा अलग प्रमाणित गर्ने एक वा दुईभन्दा बढी प्रश्न नगनुहोला ।

गर्भावस्थामा के खाने ? कस्तो व्यवहार गर्ने ? बारे नयाँ पाठ्यक्रम शुरू गर्दै भारतीय विश्वविद्यालय

काठमाडाैं । गर्भावस्थामा के खाने ? सरसफाइ कसरी गर्ने ? कस्तो संगित सुन्ने ? र कसरी आफूलाई आराम र स्वस्थ राख्ने ? भन्ने बारेमा कतिपयलाई ज्ञान नहुन सक्छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि पुरुषहरुले पनि यस बारे थाहा पाइ राख्न निकै जरूरी छ । यहि विषयलाई मध्यनजर गर्दै भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयले ‘गर्भ संस्कार’ नामक एक अनौठो विषयमा अध्ययन सुरु गराउने भएको छ ।  यसै वर्षको अप्रिलबाट सुरु हुने नयाँ शैक्षिक शत्रबाट भारतमै पहिलो पटक संचालनमा आउन लागेको गर्भावस्था तथा मातृत्वसम्बन्धी यस शैक्षिक कार्यक्रमअन्तर्गत महिलाहरुले गर्भावस्थामा कस्तो कपडा लगाउने, कस्तो खानेकुरा खाने र कस्तो व्यवहार गर्ने लगायत विषयमा गहन अध्यापन गराउने उद्देश्य राखेको छ । प्रविणतापत्र र डिप्लोमा तहमा संचालन हुने यस विषयअन्तर्गत गर्भावस्थामा कस्तो संगित सुन्ने, गर्भावस्थामा सरसफाइ कसरी गर्ने र कसरी आफूलाई आराम र स्वस्थ राख्ने भन्ने पनि सिकाइने छ । विश्वविद्यालयले भने अहिले यूवावस्थामा प्रवेश गरिरहेका छात्राहरुलाई भविष्यमा आमा बन्न सहायता गर्ने उदेश्यले सो पाठ्य कार्यक्रम संचालन गर्न लागेको जनाएको छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि विश्वविद्यालयले भने पुरुष विद्यार्थीहरुलाई पनि यस पाठ्यक्रममा सहभागीता जनाउन दिने टाइम्स अफ इण्डियाले जनाएको छ ।  जर्मनीमा पहिल्यैदेखि समान प्रकृतीको शैक्षिक कार्यक्रम संचालन भइरहेको जनाएको विश्वविद्यालयले यस पाठ्यक्रमका कारण भविष्यमा भारतमा रोजगारीको श्रृजना हुनसक्ने पनि विश्वास लिएको छ । विश्वविद्यालय श्रोतका अनुसार, यस शैक्षिक पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरुले गर्भावस्थाभन्दा अघि र गर्भावस्थामा रहेका महिलाहरुले अंगिकार गर्नैपर्ने परिवार नियोजन, पोषण, सरसफाइ तथा स्वच्छता लगायतका १६ वटा मान्यताहरु सिक्नेछन् । ‘गर्भावस्थामा प्रवेश गर्न लागेका केहि भारतीय महिलाहरु सचेत र शिक्षित भएता पनि अन्य असंख्या महिलाहरुको अवस्था त्यस्तो छैन । फेरी शिक्षित महिलाहरुमा पनि गर्भावस्थाको बेला के गर्नुपर्ने र के गर्नुनपर्ने भन्ने बारेमा जानकारीको अभाव रहेको पाइन्छ,’ विश्वविद्यालयका प्रवक्ता दुर्गेस श्रीबास्तव भन्छन् । उनका अनुसार यस विषयको अध्ययनले महिलाहरुलाई सफा तथा सुरक्षित वातावरणमा बस्न, स्वस्थ तथा पोषिलो खानेकुरा खान, आफ्नो र जन्मेको बच्चाको शरिर र स्वास्थ्यको स्याहार गर्न सघाउने छ । ‘भारतको नयाँ पुस्तालाई सुखी र स्वस्थ बनाउन यस पाठ्यक्रमको ठूलो योगदान रहनेछ,’ श्रीबास्तव थप्छन् । लखलउका विद्यार्थी तथा स्त्री रोग चिकित्सकहरुले विश्वविद्यालयको यस घोषणाको खुलेर स्वागत गरेका छन् । ‘यो बास्तवमै राम्रो र संबेदनशील विषय हो । यस विषयको अध्यापनले दम्पत्तिहरुलाई स्वस्थ बच्चा जन्माउन मद्धत गर्छ जसले भारतको स्वस्थ भविष्य निर्माण गर्नमा टेवा पुर्याउँछ,’ पुरुष विद्यार्थी सञ्जिब शर्मा भन्छन् । यसैगरी वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर मधु गुप्ता यस्तो खालको पढाइले महिला र बालबालिका सहायता कार्यक्रमलाई बल पुर्याउने बताउँछिन् ।

स्टार इंडिया ग्रुपद्वारा ‘स्टार इन्टरनेशनल ऐजुकेशन अवार्ड’ वितरण, विभूषित भए ९ जना कलाकार

काठमाडौं । स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ । उक्त कार्यक्रम डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भएको थियाे । कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए । भारत गौरव रत्न अवार्ड २०२० बाट विभूषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् । कार्यक्रमका प्रमुख अतिथि स्टार इंडिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दुतावासका कार्यवाहक राजदुत महामहिम डा. अजय कुमार उपस्थित थिए । उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इंडिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए । स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी. विद्यालयले हात पा¥यो । त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् । यससँगै स्टार इंडिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी. विद्यालयले १२ औ पटक हात पार्न सफल भएको हो । अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गोैरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महत्वपूर्ण उपलब्धी भएको बताइन् । उक्त कार्यव्रmममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष–प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।