काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द

बनेपा । कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन् । विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ ।

शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खुल्ने, सीमा नाकामा थप कडाई गरियो

काठमाडाैं । सरकारले शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाहरु भदाै १६ गतेपछि मात्रै अवस्था हेरेर खाेल्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए । यस अघि सरकारले भदाै १ गतेदेखि शैक्षिक संस्थाहरुमा भर्ना लिन सक्ने निर्णय गरेकाे थियाे । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खाेल्ने निर्णय गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । साेही अनुसार नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै, सरकारले सीमा नाकामा थप कडाई गर्ने भएकाे छ । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

त्रिविद्धारा व्यवस्थापन संकायकाे सबै परीक्षा स्थगित (सुचनासहित)

काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फकाे सबै परीक्षा स्थगित गरेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतकाे व्यवस्थापन संकायले स्नातक र स्नातककाेत्तर तहकाे परीक्षा अर्काे सुचना जारी नभएसम्मकाे लागि स्थगित गरेकाे जनाएकाे हाे । विश्वविद्यालयले महामारी बढिरहेकाे र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकाेले व्यवस्थापन संकायकाे परीक्षा स्थगित गरेकाे विज्ञप्तीमा उल्लेख छ । यसअघि त्रिविले साउन ९ गते अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।