चीनबाट उद्धार गरी ल्याइएका कसैमा देखिएन कोरोना, आजै घर फर्काइँदै

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।उक्त जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ‘मैले भर्खरै रिपोर्ट पाँए । सबैको नेगेटिभ छ,’ उनले भने । रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत, प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल, प्रयोगशालाकी निर्देशक डा रुना झा लगायतको टोली अहिले खरिपाटी पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि उनीहरुलाई लिन गएको चालकदलका सदस्यहरु रिपोर्ट नेगेटिभ आएपछि हिजो नै क्वारेन्टाइन मुक्त भएका थिए ।  खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको १४ दिन पछि दोस्रोपटक जाँच गरिएको थियो ।

यस वर्ष कर्णालीमा ३६ हजार परीक्षार्थीले एसईई दिँदै

सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको कुराकानीमा उनले भने, “ग्रेड वृद्धि साधरणधारतर्फ दुई हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।” उनले कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेकाे बताएका छन् । त्यसमा १७६ केन्द्राध्यक्ष, २४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८११ निरीक्षक, ३६२ परीक्षा सहायक, ७२३ कार्यालय सहयोगी र दुई हजार ६५५ सुरक्षाकर्मीगरी जम्मा पाँच हजार ९६९ जनशक्ति प्रत्यक्षरुपमा परिचालन गरिने छन् । यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पुर्याइसकेको उनले बताए । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाउनुभयो । उनका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ । स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । रासस

जाजरकाेटमा बने १५ वटा आधुनिक विद्यालय, निर्माण हुँदै ११ भवन

जाजरकाेट । पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण शुरु गरेको हो जिल्लाको पश्चिम क्षेत्रमा पर्ने छेडागाड नगरपालिका सडक सञ्जालको पहुँचमा रहेको स्थानीय तह हो । स्थानीय सरकार घोषणा भएसँगै शैक्षिक क्षेत्रमा भारी बजेट विनियोजन गरी काम थालेको नगरले अहिलेसम्म १५ वटा आधुनिक विद्यालय भवन निर्माण गरिसकेको छ । यो आर्थिक वर्षमा आठ वटा सुविधा सम्पन्न विद्यालयका भवन निर्माण भइरहेको छ । त्यस्तै तीन वटा विद्यालयका भवन कर्णाली प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । विद्यालय भवन भए पनि विद्यार्थीलाई खेल मैदान नहुँदा समस्या भोगिरहेको गुनासो बढेपछि नगरपालिकाले आठ वटा नयाँ खेल मैदानसमेत निर्माण गरेको प्रमुख महतराले जानकारी दिए । विद्यालय भवन निर्माण कार्य पूरा भएको ठाउँमा सहजरुपमा कक्षा कोठामा बसेर पढ्न पाउँदा खुशी भएको छेडागाड नगरपालिका–९ स्थित अमृत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा रमिता केसीले जानकारी दिए । विद्यालय भवन नहुँदा खुला आकाशमा बसेर पढ्दा समस्या भोग्दै आएका विद्यार्थी नयाँ भवन पाएसँगै पढाइ कार्य सहज भएको बताउँदै आएका छन् । विद्यालयमा बस्ने कक्षा कोठा नहुँदा अन्य साथीभन्दा अगाडि विद्यालय आएपछि मात्र बस्न पाइने प्रतिस्पर्धा चल्ने चन्द्रज्योति आधारभूत विद्यालय छेडागाड नगरपालिका–१२ मनघाटमा अहिले विद्यालय भवन निर्माणसँगै विद्यार्थी बस्ने कोठाका लागि प्रतिस्पर्धा गर्ने समस्या हल भएको छ । अहिले सबै विद्यार्थी मिलेर रमाई रमाई पढ्न पाएको शिक्षकले बताएका छन् । कक्षा कोठा नहुँदा छात्रभन्दा छात्रालाई बढी समस्या हुने गरेको थियो, अहिले समस्या हल भएपछि शिक्षक विद्यार्थी सबैलाई सहज भएको छ, कक्षा ६ मा अध्ययनरत चन्द्रिका बुढाले बताए । विद्यालयमा खानेपानीको समस्या समाधान गर्नका लागि समस्या वर्गीकरण गरी नगरले खानेपानी निर्माण कार्य जारी राखेको नगरपालिका निर्मित प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । खानेपानी र कक्षा कोठाकै अभावमा विद्यालय आउन नमान्ने विद्यार्थी अहिले भवन तथा खानेपानी विद्यालयमा सहज तरिकाले पाएपछि विद्यालयमा नियमित आउने केसीको भनाइ छ । छेडागाड नगरपालिकाभित्र ८६ सामुदायिक विद्यालय रहेका छन् । नगरभित्रका सबै विद्यालयको समस्याको पहिचान गरेर त्यसको निराकरण गर्ने कार्य जारी रहेको बताइएको छ । “नगरपालिकाको आफ्नै बजेटले सबै विद्यालयमा भवन निर्माण कार्य सम्पन्न गर्न समस्या भएकाले विभिन्न सङ्घ, संस्थासँग सहकार्य गरी भवन निर्माणको कामलाई तीव्रता दिएकाे नगरप्रमुख महतराले बताए । उनले भने, “कोही पनि विद्यार्थी विद्यालयमा बस्ने र खानेपानीकै समस्याले पीडित नहुन भन्ने हाम्रो आशा छ ।” केही विद्यालयमा बालमैत्री खानेपानीको धारासमेत निर्माण गरिएको छ । कुपोषण हुन नदिन आइरन चक्की छेडागाड नगरपालिकाले यहाँका १० देखि १९ वर्षभित्रका छात्रालाई कुपोषण हुन नदिनका लागि आइरन चक्की खुवाउँदै आएको छ । घरायासी कामदेखि महिनावारी हुँदा धेरै समस्या भोग्नुपर्ने भएकाले बालिकालाई कुपोषणबाट जोगाउन आइरन चक्की खुवाउन थालिएको छ । १३ हप्तासम्म आइरन चक्की उपलब्ध गराएर स्वास्थ्य अवस्था मजबुत बनाउने अभियान शुरु गरिएको नगरप्रमुख महतराले जानकारी दिए । रासस