टेलिकमले ल्यायाे विद्यार्थी र शिक्षककाे लागि निकै सस्तो दरमा डाटा सेवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दरमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । रु. २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । यसैगरी रु. ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ । बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने छ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई पढाउने, बैशाख २० गतेदेखि क्लास शुरू

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ । यसका साथै विगत ६ महिनाभन्दा बढि समयदेखि विभिन्न कारण बस डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागू हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ । डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गरौं: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् । रासस