वाग्मती प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच

काठमाडौं। वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसको प्रभावकारितामा वृद्धि हुन नसकेको उक्त आँकडाले औल्याउँछ । वाग्मती प्रदेश सरकारको प्रदेश शिक्षा निर्देशनालयले गरेको अनुगमन र विश्लेषणमा प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र इन्टरनेट प्रविधिमा पहुँच रहेको देखिएको हो । निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईँटेलले कतिपय विद्यालयमा ६०० विद्यार्थी रहेकामा १२ जनासँग मात्रै मोबाइल रहेको र त्यो पनि बाबुआमासँग भएकाले उनीहरुको सिकाइ चुनौतीपूर्ण भएको बताए । हाल मुलुकभर कूल ३५ हजार ६०१ विद्यालय छन् । एक तथ्याङ्कअनुसार मुलुकभर इन्टरनेटमा ७५ प्रतिशत, रेडियोमा ८५ प्रतिशत, टेलिभिजनको पहुँच ७२ प्रतिशत जनसङ्ख्यामा र मोबाइल प्रयोगकर्ता चार करोड मानिसमा रहेको पाइए पनि शिक्षामा यसको त्यसरुपमा प्रयोग भएको पाइँदैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०१८’ मा वाग्मती प्रदेशमा पाँच हजार २४३ सामुदायिक र दुई हजार १४५ संस्थागत गरी कूल सात हजार ३८८ विद्यालय छन् । यी विद्यालयमा गरी कक्षा १ देखि १२ सम्म १४ लाख ३८ हजार ५९९ विद्यार्थी र २९ हजार ५२१ शिक्षक छन् । निर्देशक लुइँटेलले केन्द्रमा झैँ प्रदेशमा प्रकोप व्यवस्थापन शिक्षा समूह गठन गरिएको र सोह्र हजार शिक्षक निर्देशिका र कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि केन्द्रले तयार गरेको स्वाध्यन अभ्यास पुस्तिका १३ हजार प्रति छपाइ गरी वितरण गरिएको जानकारी दिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको आजको भर्चुअल संवादमा उनले भने, “यस्तो स्थितिमा हाल शतप्रतिशत सिकाइ गुणस्तरीय र पहुँचयोग्य हुन्छ भन्नु भूल हुनेछ । विद्यार्थीलाई निःशुल्क मोबाइलन वितरण गर्न सकिए केही सुधार हुनेछ ।” वाग्मती प्रदेशमा पाठ्यपुस्तकको उपलब्धता भने भएको देखिन्छ । निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी गत असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गराउन भनेको थियो । हाल सोही निर्देशिकाअनुसार सिकाइलाई चालू शैक्षिक सत्रको मान्यता दिन पाठ्यक्रम विकास केन्द्रले गृहकार्य गरिरहेको छ । हालसम्म यस्तो प्रणालीलाई वैकल्पिक माध्यमको मान्यता नदिइएकाले पनि शिक्षक, अभिभावक र विद्यार्थीले जिम्मेवार भइ नियमित सिकाइ प्रक्रियामा अभ्यस्त नभएको देखिन्छ भने विपन्न र प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि निःशुल्क मोबाइल र इन्टरनेट सुविधाका लागि स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने सुझाव आएको छ । निर्देशिकाले निर्दिष्ट गरेअनुसार मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण भइरहेको छन् । काठमाडौँकै धेरैजसो अभिभावकमा पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ । कोरोना जोखिम बढेपछि गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीयता शिक्षालय खुल्न सकेका छैनन् । शिक्षाविद् डा विद्यानाथ कोइरालाले वैकल्पिक प्रणालीको सिकाइमा न्यून विद्यार्थीको पहुँच रहेको स्थितिमा शिक्षकरुलाई यति धेरै सङ्ख्यामा किन पाल्ने भन्ने प्रश्न उत्पन्न भएको जनाउनुभयो । विश्लेषक टीका भट्टराईले विषम स्थितिमा सिकाइ निरन्तरताका लागि शिक्षकहरुको परिचालन अति जरुरी भएको टिप्पणी गरे । महासङ्घका अध्यक्ष कृष्ण थापाले वैकल्पिक प्रणालीको सिकाइ प्रभावकारी गराउन स्थानीय तह र विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्ने जनाउँदै स्वास्थ्य जोखिम कायम रहेको स्थितिमा विद्यालय तत्काल खुलाउन नसकिने बताए । महासङ्घका महासचिव गुणराज मोक्तानले सो प्रणालीको कार्यान्वयन प्रभावकारी बनाउन सरोकार भएका पक्षबीच सहजीकरण गर्दै आएको जनाए । विजयस्मारक मावि, काठमाडौँका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले इन्टरनेट र मोबाइलको पहुँचबाट टाढा रहेका विद्यार्थीका लागि टेलिफोनको प्रयोगजस्ता खुल्ला विकल्पमा जान सुझाव दिए ।

नेपाल मेडिकल काउन्सिलद्वारा चिकित्सक लाइसेन्स परीक्षा स्थगित

काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । काउन्सिलले काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी हुन थालेपछि बुधबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक दर्ता परीक्षा स्थगित गरेको जनाएको छ । काउन्सिलले स्थिती सहज हुने बितिकै उपकेन्द्रहरूबाट परीक्षा लिने जनाएको छ ।

म्याग्दीकाे भूकम्प प्रभावित ५५ विद्यालय भवन पुनःनिर्माण

म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुनःनिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, नौ वटा तीन कोठे र २२ वटा दुई कोठे भवन पुनःनिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए । उनका अनुसार २२ वटा शौचालय र दुई वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । “भवन, शौचालय र खानेपानीसहित पुनःनिर्माण भएका कुल योजना सङ्ख्या ७९ र कक्षा कोठा १६७ वटा छन्”, प्रमुख चौलागाईले भने, “१०१ वटा विद्यालय पुनःनिर्माणका लागि सूचीकृत भएका थिए ।” कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनःनिर्माण शुरु भएको थियो । पहिलो वर्ष एक वटा दुई कोठे, दुई वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो । आव २०७४/७५ मा तीन वटा दुई कोठे, तीन वटा तीन कोठे र एक वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५/७६ को पहिलो चरणमा आठ वटा दुई कोठे, दुई वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए । ०७५/७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आव २०७६/०७७ को पहिलो चरणमा छनोट भएका पाँच वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् । नौ वटा शौचालयमध्ये दुई वटा र छ वटा खानेपानीमध्ये दुई वटा योजना सम्पन्न भएको छ । २०७६/०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, तीन वटा तीन कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् । कार्यालयका सूचना अधिकारी विष्णु रिजालका अनुसार यो वर्ष चार कोठे भवन निर्माण हुने विद्यालयमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगङ्गा मावि, महादेव मावि छन् । सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मङ्गला मावि, दीपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मङ्गला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् । यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धौलागिरिको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् । जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनोट भएको छ । पोखरेबगर आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योति र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनोट भएका छन् । विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।