राष्ट्रिय वाणिज्य बैंकले तीन दिने तालिम दिँदै, सहभागी ५० जनालाई पेड इन्टर्नसीप दिइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत ७ देखि चैत ९ गतेसम्म वीरगंजमा संचालन गर्दैछ । जसको लागि २१ गतेबाट फागुन ३० सम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।

इरानको उप स्वास्थ्य मन्त्रीसहित ३३ सांसद कोरोना संक्रमित, ५४ हजार कैदीलाई गर्याे रिहा

तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । इरानका सर्वाेच्च नेता अलि खामेनीलाई सभामुख अलि लरिजानीको पत्रलाई ध्यानमा राख्दै उक्त विषयको जानकारी दिएका हुन् । त्यस्तै इरान सरकारले जेलमा रहेका ५४ हजार कैदीलाई रिहा गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै इरान सरकारले उक्त कैदालाई रिहा गरेको हो । पछिल्लो समय इरानमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमित ३३ सांसदसहित स्वास्थ्य मन्त्रीलाई अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहन इरान सरकारले निर्देशन दिएको छ । इरानमा दुई हप्तामा सरकारका उच्च अधिकारीसहित ७७ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ३ सयभन्दा बढी उक्त भाइरसबाट संक्रमित रहेका छन् । हाल विश्वमा ९० हजारभन्दा बढीमा व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ।

पाल्पाको विद्यालयलाई सिटिजन्स बैंकले दियो दश थान कम्प्युटर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो । निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ । यस बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।