विद्यालयलाई प्रविधिमैत्री बनाउन एनआईसी एशियाको प्रयास, १९ विद्यालयलाई सहयोग गर्यो सफ्टवेयर

काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ‘ब्राइट स्कुल सिष्टम’ नामक सफ्टवेयर सहयोग गरेको हो । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले उक्त सफ्टवेयर प्रदान गरेको हो । विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनाहरू लगायतका सुविधाहरू रहेको सफ्टवेयरबाट उक्त स्थानीय निकायहरूका प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुनेछन् । बैंकले हाल ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

टप कलेजले पत्याएनन् एसइईको नतिजा, भर्ना हुन कक्षा ८ र ९ को नतिजा मागे

काठमाडौं । नेपालका टप कलेजहरु एसइईको नतिजालाई आधार मानेर कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने प्रकृयामा परिवर्तन ल्याएका छन् । कलेजहरुले भर्ना प्रकृयाको लागि कक्षा ८ र ९ को नतिजा पनि मागेको पाइएको छ । नेपालको टप कलेजको रुपमा रहेको माइतिघरस्थित सेन्ट जेभिएर कलेजले विद्यार्थीहरुलाई भर्ना हुनुअघि प्रवेश परीक्षा फारम भर्नको लागि पनि कक्षा ८ र ९ को नतिजा मागेको छ । कलेजले पछिल्लो वर्षहरुमा भर्ना फारमको लागि एसईईको नतिजा मात्र माग्ने गरेको थियो । बजारमा यस वर्षको एसइई नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहँदा नेपालकै टप कलेजहरुले पनि यस वर्षको नतिजामा प्रश्न उठाएका देखिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण यस वर्षको एसईई परीक्षाको नतिजा विद्यालयले दिएको आन्तरिक मुल्यांकनको आधारमा निकालिएको हो । यस वर्ष देशभर ४ लाख ८२ हजार २१९ जना विद्यार्थीहरुले एसइई तयारी गरेको थिए । चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोभिड १९ का कारण परीक्षा आउनु एकदिन अगाडि मात्र स्थगित गरिएको थियो । भदौ १ गते सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही साँझ एसइईको नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएसँगै निकै टिपाटप्पणी भए । धेरैले परीक्षा नदिई दिएको नतिजा पनि के नतिजा लगायत अभिभावकले घुस खुवाएर अंकहरु बढि दिन लगाइएको आरोपहरु आए । यसले हाम्रो समाजमा ३ घण्टे परीक्षाको स्थान कहाँ छ भन्ने पनि देखाउँछ । वर्षौसम्म विद्यालयहरुले आन्तिरक मुल्यांकनको आधारमा नतिजा प्रकाशित गररहँदा कहिले कतैबाट पनि प्रश्न नउठेको अवस्थामा अन्तिम वर्षको परीक्षामा भने प्रश्न उठेको छ । सधैं एसईईको नतिजा आईसकेपछि कक्षा ११ का भर्नाहरु धमाधम खुल्ने गरेसँगै यस वर्ष कोरोनाको कारण भर्नाहरु कहिले लिने भन्ने टुँगो नलागेको कारण कलेजहरुले अहिले प्रवेश परीक्षाको लागि अनलाईन मार्फत विद्यार्थीहरुलाई फारमहरु भराईरहेका छन् । कतिले भने विद्यार्थीहरुसँग प्रि रजिस्ट्रेसन भन्दै शुल्कहरु लिन थालिसकेका छन् ।

सुदूरपश्चिमका नौ क्याम्पसकाे स्तरोन्नती हुँदै, १ कराेड ८० लाख बजेट छुट्याइयाे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका सबै नौ जिल्लामा एक/एक वटा क्याम्पस छनोट गरेको छ । छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डडेलधुराको त्रिवेणी बहुमुखी क्याम्पस छन् । बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पस पनि नमूना क्याम्पसका रुपमा स्तरोन्नती गर्न छनोट गरिएको छ । मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्नका लागि विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ वटा विभिन्न सूचकहरु र क्याम्पसले भरेको स्वमूल्याङ्कन फरामका आधारमा क्याम्पसहरु छनोट गरिएको बताए । उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने प्रदेश सरकारको नीति बमोजिम छनोटमा परेका क्याम्पसलाई नमूना क्याम्पसमा स्तरोन्नती गर्ने पहल थालिएको हो । यसका लागि मन्त्रालयले ‘नमूना क्याम्पस तथा व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७७’ तयार गरिरहेको छ । मूल्याङ्कन गर्दा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल कैलाली र कञ्चनपुरका विभिन्न पाँच वटा क्याम्पसले पाएको प्राप्ताङ्कको तुलनामा एकतह मुनी अङ्क प्राप्त गर्ने क्याम्पसहरु स्तरोन्नतीका लागि छनोटमा परेका हुन् । मूल्याङ्कनमा भने कैलालीको कैलाली बहुमुखी क्याम्पस पहिलो, टीकापुर बहुमुखी क्याम्पस दोस्रो, कञ्चनपुरको कञ्चन विद्यामन्दिर सामुदायिक कलेज तेस्रो, कैलालीको ऐश्वर्य विद्या निकेतन क्याम्पस, चौथो र कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पस पाँचौ स्थानमा रहेको छ । “सर्वोत्कृष्ट अङ्क ल्याउन सफल क्याम्पसले उपलब्ध गराइरहेको शैक्षिक गुणस्तरकै हाराहारीमा छनोट भएका क्याम्पसलाई पु¥याउन लागिएको छ”, महराले भने, “यी क्याम्पसलाई वर्षेनि अनुदान सहयोग उपलब्ध गराउन सकेमा सर्वोत्कृष्ट अङ्क ल्याउने क्याम्पस सरह पु¥याउन सकिन्छ भन्ने विश्वास छ ।” छनोट भएका क्याम्पसको स्तरोन्नती गर्नका लागि चालू वर्षमा रु २० लाखका दरले बजेट छुट्याइएको छ । सर्वोत्कृष्ट अङ्क ल्याउन सफल क्याम्पसलाई पनि निर्देशिकामा व्यवस्था भए बमोजिमको सहयोग उपलब्ध गराउन लागिएको जनाइएको छ । कतिपय जिल्लामा आवश्यकताभन्दा बढी क्याम्पस सञ्चालनमा हुँदा कतिपय क्याम्पसले आवश्यक सङ्ख्याका शिक्षक, विद्यार्थीको अभाव झेल्नु परेको र आवश्यक भौतिक पूर्वाधार समेत जुटाउन नसक्दा उच्च शिक्षाको अवस्था लथालिङ्ग बन्दै गएपछि प्रदेश सरकारले नमूना क्याम्पस बनाउने नीति लिएको हो । यस्ता क्याम्पसलाई ‘मर्जर‘ (एक आपसमा गाभ्न)गर्न गराउनका लागि गत वर्ष मन्त्रालयले आह्वान गरेकोमा कसैको निवेदन नपरेको बताइएको छ । यो कार्यक्रम अन्तर्गत मन्त्रालयले गत आर्थिक वर्षमा प्रोत्साहन अनुदान वापत ६०लाख बजेट पनि छुट्याएको थियो ।