ब्रिटिस काउन्सिलको 'कनेक्सन थ्रु कल्चर' अनुदानका लागि आवेदन खुला

काठमाडौं । नेपाल र बेलायतबीचको सिर्जनात्मक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप सशक्त बनाउन ब्रिटिस काउन्सिलले ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ सुरु भएको घोषणा गरेको छ । यस अनुदान कार्यक्रमअन्तर्गत नेपाली कलाकार, सांस्कृतिक अभियन्ता तथा सृजनात्मक संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्यमा आधारित परियोजनाका लागि आवेदन दिन आह्वान गरिएको छ । कार्यक्रम अन्तर्गत विश्वव्यापी कलात्मक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले १० हजार पाउन्ड स्टर्लिङ (झण्डै १८ लाख २० हजार रुपैयाँ) सम्मको अनुदान दिइनेछ । परियोजनाहरू संयुक्त कला कार्यशाला, प्रदर्शनी, मञ्चन, अनुसन्धान र डिजिटल कथा वाचनजस्ता विधामा हुन सक्नेछन् । ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, 'यो कार्यक्रमले नेपाल र बेलायतका कलाकारहरूलाई साझा भविष्य निर्माणका लागि सृजनात्मक शक्तिको उपयोग गर्न प्रेरित गर्नेछ ।' सन् २०२५ संस्करणका लागि आवेदन २८ अप्रिल २०२५ देखि खुला गरिएको हो भने २३ जून २०२५ बेलायती समय अनुसार साँझ ३ः१५० अन्तिम म्याद तोकिएको छ । परियोजनाहरू अक्टोबर २०२५ देखि सुरु हुनेछन् । ब्रिटिस काउन्सिलले यस वर्ष करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य लिएको छ । विशेष प्राथमिकता जलवायु परिवर्तन, विविधता तथा समावेशिता, र समानताको विषयमा केन्द्रित कलात्मक पहलकदमीहरूलाई दिइनेछ । ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भनेकी छन्, 'केवल अनुदान होइन, सृजनात्मक सहकार्य र सामाजिक रूपान्तरणको उत्प्रेरक हो । यस्ता परियोजनाहरूले कला र संस्कृतिबीच सशक्त सेतु निर्माण गर्छन् ।' नेपालका दृश्यकला, साहित्य, चलचित्र, सङ्गीत, मञ्चीय कला, डिजिटल मिडिया, सम्पदा, फेसन र वास्तुकला क्षेत्रमा काम गरिरहेका कलाकार तथा संस्थाहरूलाई प्रत्यक्ष, डिजिटल वा मिश्रित ढाँचामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

टक्सारको सामुदायिक विद्यालयमा इलर्निङ कक्ष सुरु, १० कम्प्युटरसहित सुविधा विस्तार

टक्सार । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र  आवश्यक उपकरण  जडान गरिएको छ ।  पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।   सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताए । उनले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भने ।  ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री बन्न आवश्यक रहेको र विद्यालयमा संस्थाले इलर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थी पनि प्रविधिमैत्री र सक्षम हुने छ भने  । इलर्निङ कक्षको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ । ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयस्तरबाट नै यो अनिवार्य भएको बताए । उनले भने, 'कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इलर्निङ कक्ष आवश्यक देखिएको छ ।'

पढाइको जोश कहिल्यै मर्दैन, कक्षा १२ को परीक्षा दिइरहेका ६८ वर्षीय लालबहादुर

गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थीभित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । ‘अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला’, उनले भने, ‘अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।’ उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिए । ‘त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास गर्‍यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो’, उनले भने । तर, त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् । ‘दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ’, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाई, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्‍यो । तर, मनबाट शिक्षाको भोक हराएन ।’ उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् । ‘छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्‍यो’, विगत सम्झँदै विकले भने, ‘पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।’ कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ । ‘पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस्’, उनले सुनाए । चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन् । ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उनको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् । यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् ।   प्रतिक्षा आले/रासस