इन्जिनियरिङमा स्नातकोत्तरको डिग्री कसरी हासिल गर्ने ?
काठमाडौं । पछिल्लो समय स्नातक तहसम्मको अध्ययन सामान्य भइसकेको छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ । इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेको छ । ललितपुरको प्रयागपोखरीमा रहेको नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालको माटो, भूगोल तथा अन्तराष्ट्रिय बजारको माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएको नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह(प्राध्यापक रोवर्ट डंगोलको दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुकको आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारको मागलाइ समेत संवोधन गर्न सकेको छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन्,’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगोल भन्छन् । स्नातक तहको अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकोत्तर तह अध्ययन गर्नै पर्ने उनको भनाइ छ । ‘ब्याचलर्स प्रोगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ,’ डंगोल भन्छन् । स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लो समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकोत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेको कार्यवाहक निर्देशक डंगोल बताउँछन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलो आकर्षण छ । काम गर्दै स्नातकोत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ । सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ । प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, सोध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजको विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकोत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, सोध र अनुसन्धानलाई प्राथमिकता दिएका छौं । खानेपानी, हाइड्रोपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयोगात्मक अध्ययन विधिहरू अपनाउँछौं भने, हामी विद्यार्थीहरूलाई फेलोसिप समेत दिन्छौं,’ कार्यक्रम निर्देशक डंगोल भन्छन् । उद्योग र शिक्षालाई जोड्दै बजारको अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएको छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छौं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छौं, भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बोलाउने, बोलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछौं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छौं ।’ रिसर्च वेसको अध्ययनले विद्यार्थीहरूको सिकाई बलियो हुने सह-प्राध्यापक डंगोलको भनाइ छ । त्यसो त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको कलेजको दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकोत्तर (मास्टर्स) नहुँदा भनेजस्तो अवसरहरू प्राप्त गर्न नसकिने भएकोले स्नातकोत्तर तहको शिक्षा अपरिहार्य रहेको सह-प्राध्यापक डंगोलको भनाई छ ।
थप विद्यार्थी लिन सकिँदैन भन्दै अभिभावकसँग माफी माग्नुपरेको छ
नीलबाराही काठमाडौंको उत्कृष्ट सामुदायिक विद्यालय हो । यहाँ करिब ११ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूको रुचिका आधारमा शिक्षा दिइरहेको यो विद्यालयले जापानिज र कोरिया भाषा पनि पढाइरहेको छ । यो विद्यालयमा अहिले विद्यार्थीको आकर्षण कस्तो छ ? ३४ वर्षदेखि शिक्षण पेशामा आवद्ध हुँदाको अनुभवसहित हामीले विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : शिक्षण पेसामा केकस्ता चुनौती छन् ? यो एकदमै राम्रो पेशा हो । यसमा आत्मसन्तुष्टि छ, आत्मसम्मान पनि छ । तर समाजले शिक्षकलाई हेर्ने नजर अलिकति फरक छ । शिक्षक भनेको कृपाले जागिर खाने, केही नपाएर शिक्षण पेशामा जाने भन्ने खालको समाजको एउटा मूल्यांकन छ । तर त्यो मूल्यांकन पनि विस्तारै परिवर्तन हुँदैछ । अहिले शिक्षण पेशा पनि राम्रो पेशा हो भनेर आकर्षण धेरै बढेको छ । तर शिक्षण पेशालाई व्यवस्थित गर्न नेपाल सरकारले अझ सकिरहेको अवस्था छैन । शिक्षा ऐनको लागि लाखौंलाख शिक्षकहरू सडकमा पुग्नुभयो । तर ऐन अहिलेसम्म आउन सकेको छैन । शिक्षण पेशा राम्रो हो, म शिक्षक हुँ, यस पेशाप्रति म गर्व गर्छु । शिक्षण पेशामा युवाहरूको आकर्षण बढ्नुपर्छ किनभने यहाँभित्र विद्यार्थीसँग पाउने सन्तुष्टि र आफूले जानेको कुरा विद्यार्थीहरूलाई कसरी सहजीकरण गर्ने र उहाँहरूमा भएको कुरा कसरी आफूले लिएर अझ सहज बनाइदिने भन्ने हुन्छ । जो कोहीलाई यो गाह्रो हुन्छ । सिक्ने र सिकाइने पेशा, शिक्षण पेशा हो ? हो, यसमा सिक्ने/सिकाउने दुवै बराबरी हुन्छ । अहिलेको भनेको कृत्रिम बौद्धिकता (एआई)को जमाना हो । हामीभन्दा विद्यार्थीहरू आईसीटीमा स्मार्ट हुनुहुन्छ । कतिपय कुरा हामीभन्दा धेरै विद्यार्थीले जानेका छन् । कतिपय कुरा कसरी सहजीकरण गर्ने र विद्यार्थीमा राम्रो कुरा कसरी भरिदिने भन्ने कुरा शिक्षकले गर्नुपर्छ । नैतिक मूल्यमान्यता, अनुशासनका कुरा, कर्तव्यका कुरा, हिजोका संस्कार र संस्कृतिका कुरा कसरी विद्यार्थीलाई भरिदिने र पाठ्यक्रममा भएका कुरालाई कसरी विषयवस्तुसँग जोडिदिने, उहाँहरूको जीवनसँग कसरी जोडिदिने, व्यवहारिक जीवनसँग, सिकाइसँग कसरी जोड्ने भन्ने कुरा चाहिँ शिक्षकले अब सिकेर सिकाउनुपर्ने हुन्छ । तर विद्यार्थीलाई पहिले जस्तो बोर्डमा केही लेखिदिने र विद्यार्थीहरूलाई मैले भनेकै कुरा गर्नुहोस्, यही कुरा होमवर्कको रूपमा लेख्नुहोस्, यही कुरा क्लास वर्कको रूपमा लेख्नुहोस् भन्ने छैन । अब फरक भइसकेको छ । यही अनुसार हामीले सोच्नुपर्छ । स्मार्ट विद्यार्थीलाई सिकाउन शिक्षक पनि स्मार्ट हुनुपर्यो, यस्ता शिक्षक कति देख्नुभएको छ ? सहरी क्षेत्रमा एकदमै स्मार्ट शिक्षकहरू धेरै पाइन्छ । यदाकदा ग्रामीण क्षेत्रमा पनि त्यस्ता शिक्षकहरू प्रवेश गर्नुभएको छ । तर अत्यन्त कम हुनुहुन्छ । जसले गर्दा शिक्षकभन्दा विद्यार्थीहरू स्मार्ट हुनुहुन्छ । स्मार्ट विद्यार्थीको मनोभावना बुझेर, उहाँहरूसँग भएको ज्ञानलाई हामीले फेरि त्यो एकनलेज गरेर, उहाँहरूकै नलेजलाई हामीले बुझी थप कुरा बुझाउन सक्नु चाहिँ हाम्रो शिक्षकको महत्त्वपूर्ण चुनौती हो । उक्त चुनौतीमा शिक्षकले आफूलाई अपडेट गर्नुपर्छ । आज म के विद्यार्थीहरूसँग सिकाउनेभन्दा पनि सहजीकरण गर्दैछु, विद्यार्थीलाई करिकुलमलाई के कुरा जोड्दैछु, उनीहरूको व्यवहारिक ज्ञानसँग के कुरा चाहिँ म थपिदिँदैछु भन्ने कुरालाई पूर्वतयारी गर्न आवश्यक छ । विद्यार्थीहरूको लागि उत्सुक वातावरण शिक्षकले नै सिर्जना गर्नुपर्छ । अब शिक्षकहरू परिवर्तन हुनुपर्यो र सिकाउने विधि पनि परिवर्तन हुनुपर्यो भन्ने हो ? हो, तर यसका लागि शिक्षकहरूलाई तालिमको आवश्यक पर्छ । अहिले शिक्षकले पाइरहेको तालिम पर्याप्त छैन । तालिम नै छैन त मैले भन्दिनँ तालिम छ तर पर्याप्त छैन । अब तालिम डिजाइन गर्ने सम्बन्धित निकायले अब स्कुल–स्कुलमा गएर तालिम दिनुपर्छ । स्कुलमा जति शिक्षक छन् उहाँहरूको मागअनुसार तालिम दिनुपर्छ । स्रोतकेन्द्र स्तरमा गएर तालिम दिनुपर्छ । उहाँहरूलाई दैनिकभन्दा निरन्तर रूपमा अनुगमन संयन्त्र बनाउनुपर्छ, मूल्यांकनको संयन्त्र निर्माण गर्नुपर्छ । त्यो तालिमको रिफ्लेक्सन कसरी गरिरहनुभएको छ, कक्षाकोठामा रिफ्लेक्सन भएको छ कि छैन भन्ने कुरा हेरिनुपर्छ । तालिम लिएर मात्र पनि भएन, विद्यार्थीमा सकारात्मक परिवर्तन पनि आउनुपर्यो । अहिलेसम्म तपाईंको स्कुलमा अनुगमनको लागि अनुगमन टोली पुगेको छ ? कहिलेकाहीँ आउनुहुन्छ, अनुगमन हुन्छ । काठमाडौं महानगरपालिकाभित्र चाहिँ विभिन्न कार्यक्रमहरू छन् । शिक्षामा सिर्जनात्मक सीप भनेर कार्यक्रम गरिरहेको छ । तर मैले समग्र देशको कुरा गरिरहेकी छु । समग्र देशका शिक्षकहरूलाई सहजीकरणको लागि सहायताको कुरा हुन्छ, तालिमका कुरा हुन्छ, अनुगमनका कुरा हुन्छ तर त्यहिमात्र पर्याप्त छैन । सामुदायिक विद्यालयको गुणस्तर नै खस्किएको भन्ने कुरा आइरहन्छ, के शिक्षकहरूले तालिम नपाएरै हो त ? यसमा धेरै कुरा छन् । मैले नीलबाराही माध्यमिक विद्यालयलाई मात्र जोडिनँ । समग्र सामुदायिक विद्यालयलाई जोड्दा सबैभन्दा पहिले विषयअनुसारको दरबन्दी नै पर्याप्त रूपमा अपुग छ । जुन विद्यालयमा विषयगत दरबन्दी पुगेका छैन, त्यो दरबन्दीको फुलफिल हुनुपर्छ । दोस्रो नम्बरमा शिक्षकलाई आफ्नो पेशाप्रति दक्ष बनाउनको लागि तालिम एकदमै जरुरी छ । तेस्रो, विद्यालयको वातावरण राम्रो हुनुपर्यो । अहिले विविधतामा एकता छ । विविध प्रकारका विद्यार्थीहरू कक्षाकोठामा हुनुहुन्छ । उहाँहरूको रुचि फरक छ, क्षमता फरक छ । ती विविध प्रकारका विद्यार्थीहरूलाई सम्बोधन हुने किसिमका प्याकेजहरू ल्याउन जरुरी छ । एउटै करिकुलम छ, एउटै शिक्षक हुनुहुन्छ अनि पुरानै तरिकाले पढाइरहनुभएको छ, यसले पनि केही असहज भएको छ । एउटा कक्षाकोठामा ६०/६५ जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने वातावरण विद्यालयमा छ भने शिक्षकले विविधतामा ध्यान गाह्रो हुन्छ । कुनै विद्यालयमा विद्यार्थीभन्दा धेरै शिक्षक पनि हुनुहुन्छ । त्यसलाई सरकारले दरबन्दी मिलान गर्न, विद्यालय मर्जिङ गर्न सकिरहेको अवस्था छैन । ग्रामीण क्षेत्रमा विद्यालयको ठूलो जग्गा–जमिन छ, भवनहरूलाई व्यवस्थित गर्न सकेको छैन । भवन छ, फर्निचर छैन । फर्निचर छ, शौचालय छैन । सहरी क्षेत्रमा भवन छ, जग्गा छैन । दुई आनामा पनि विद्यालय छन्, तीन आनामा पनि विद्यालय छन्, चार आनामा पनि विद्यालय छन् । वास्तवमा एउटा माध्यमिक तहको विद्यालय सञ्चालन गर्न कति जमिन चाहिने त ? कति ठाउँ चाहिने जसले गर्दा कत्रा कक्षाकोठा, कस्तो चाहिने भन्ने म्यापिङ हुनुपर्यो । क्षेत्र निर्धारण गर्नुपर्यो । यति नहुँदासम्म सामुदायिक विद्यालयको गुणस्तर सोचेजति राम्रो हुँदैन । भौतिक पूर्वाधारदेखि लिएर दरबन्दीको कुरा नीलबाराहीमा चाहिँ कस्तो छ ? नीलबाराही एउटा राम्रो विद्यालय हो । जमिन थोरै छ । लगभग तीन रोपनी जग्गा विद्यालयले ओगटेको छ । त्यति ओगट्दा पनि सबै छैन । बाटोतिर गएर सायद डेढ–दुई रोपनी जतिमा मात्र विद्यालय सञ्चालित छ । समुदायका धेरै व्यक्तिहरूले हामीलाई सपोर्ट गर्नुभएको छ । विद्यालयको खुला एरिया भएको हुनाले सुरक्षाको दृष्टिकोणले अलिकति समस्या भएको छ । हाम्रो भौतिक पूर्वाधारको क्षमताभन्दा धेरै विद्यार्थीहरू छन् । विद्यार्थीको रोजाइ, अभिभावकको रोजाइ हाम्रो विद्यालय हो किनभने यहाँ राम्रो पढाइ हुन्छ, व्यवहारिक शिक्षा दिइन्छ, शिक्षकहरूको टिम राम्रो छ । साथै सीपका कुराहरू, नैतिक मूल्य–मान्यताका कुराहरू, अनुशासनका कुराहरू, संस्कार र संस्कृतिका कुराहरू पनि पढाइ हुन्छ । अहिले विद्यार्थीको संख्या कक्षा १ देखि १२ सम्म कति छ ? नीलबाराहीमा कक्षा १ देखि १२ सम्म करिब १ हजार विद्यार्थी छन् । अहिले कक्षा ११ मा भर्ना कार्यक्रम जारी छ । यति विद्यार्थीका लागि ५१ जना शिक्षक कर्मचारी हुनुहुन्छ । ११/१२ मा नेपाल सरकारले दुईवटा अनुदान दरबन्दीमात्र दिएको छ भने बाँकी विद्यालयले नै विषयगत शिक्षकहरू राखेको छ त्यसमा कक्षा १० सम्मको लागि शिक्षक र कर्मचारी सबै जोड्दा ३७ जना हुनुहुन्छ । त्योभन्दा बाँकी माथि कक्षा ११ र १२ को लागि हुनुहुन्छ । कक्षा ११ मा के–के विषय पढाइ हुन्छन् त ? हामीकहाँ विज्ञानभन्दा बाहेक व्यवस्थापन, मानवशास्त्र, शिक्षा, कानुनका विषयहरू पढाइ हुन्छ अहिलेको विद्यार्थीहरूको रोजाइको विषय कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मास कम्युनिकेसन, ट्राभल एन्ड टुरिजम लगायतका विषयहरू विद्यार्थीले पढ्न पाउँछन् । यो बाहेक विद्यार्थीलाई जापानी भाषा र कोरियन भाषा पनि हामीले पढाउने गरेका छौं । विद्यालयमै कोरियन र जापानिज भाषा किन ? हामीले कोर्सकै रूपमा यी विषयहरू पढाइराखेका छौं । यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृति पनि लिएका छौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति गरेका विषयहरू हुन् । किनभन्दा अहिले विद्यार्थीको रोजाइको विषय नै भाषा बनेको छ । कतिपय विद्यार्थीले यही भाषा सिक्नको लागि विद्यालय छोडिरहेका छन् । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले यी विषयहरू पढाउन सुरु गरेको हो । कत्तिको आकर्षण छ यसमा विद्यार्थीहरूको? विद्यार्थीको आकर्षण एकदमै धेरै छ । हामीले तीन ब्याच, चार ब्याच चाहिँ कोरियन र जापानी भाषा उतारिसक्यौं । अब यसपालि चाहिँ विद्यार्थीहरू कति ११ मा आउनुहुन्छ, कुन–कुन विषय रोज्नुहुन्छ भनेर हेर्न बाँकी नै छ । विद्यार्थीहरूको रोजाइ सामुदायिक भन्दा निजी किन हुन्छ ? सबै विद्यार्थीको रोजाइ निजी विद्यालय नै हुन्छ भन्ने नै होइन । सामुदायिक पनि विद्यार्थीको रोजाइमा पर्छ । हामीले पनि अब विद्यार्थी लिन सकिँदैन भन्दै अभिभावकसँग माफी माग्नुपरिरहेको हुन्छ । तर अहिले काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई १० प्रतिशत निजीमा पढाउन छात्रवृत्ति दिने काम गरिरहेको छ । यसले गर्दा सामुदायिक विद्यालयका अब्बल विद्यार्थीको संख्या घट्न थालेको छ । यसले राम्रो र नराम्रो दुवै देखिएको छ । राम्रो पक्ष भनेको देशका प्रतिष्ठित भनिएका प्लस टु विद्यालयहरूमा निःशुल्क रूपमा पढ्न पाउने भए । नराम्रो पक्ष भनेको सामुदायिक विद्यालयका अब्बल विद्यार्थीहरू निजीमा जाँदा सामुदायिक विद्यालयमा अब्बल नहुने भए । यसले झन् सामुदायिक विद्यालयको गुणस्तर खस्किने चिन्ता थपिएको छ । कक्षा ११/१२ मा कति विद्यार्थीको सिट छ ? हाम्रो क्षमता भनेको ११/१२ दुवै गरी चार सय विद्यार्थी पढाउने हो । त्योभन्दा बढी लिन सकिँदैन । अहिले भर्ना प्रक्रिया जारी रहेको छ । कति जना विद्यार्थी आउनुहुन्छ भन्ने यकिन छैन । हाम्रो स्कुल विद्यार्थीको रोजाइको विद्यालय हो । ११/१२ को नतिजा पनि उत्कृष्ट छ । कुनै पनि विद्यार्थीले असफलता भोग्नुपरेको अवस्था छैन । त्यसकारण पनि हाम्रो स्कुलमा विद्यार्थीको आकर्षण बढ्दो छ । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? कक्षाकोठाको रुचि अनुसार, उनीहरूको विद्यार्थीको रुचि, आवश्यकताअनुसार शिक्षा दिनलाई हामी समय–सान्दर्भिक रूपमा हामी शिक्षकहरू अपडेट हुनुपर्छ । आईसीटीमा अपडेट हुनुपर्छ, प्रविधिमा अपडेट हुनुपर्छ । हामीले नै विद्यालयमा सिकाइको वातावरण सिर्जना गर्नुपर्छ ।