शैक्षिक हड्तालका कारण आज सामुदायिक र निजी विद्यालय ठप्प

काठमाडौं । उपत्यकाका अधिकांश विद्यालय शुक्रबार (आज) बन्द गरिएका छन् । बिहीबार धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट शिक्षक र विद्यार्थी संगठनले शैक्षिक हड्तालको घोषणा गर्दै शुक्रबार विद्यालय बन्द गर्न भनेपछि अधिकांश विद्यालय बन्द गरिएका हुन् । सरकारले असार १५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने भनेपनि साउन महिनासम्म पारित नहुँदा सरकारलाई दबाब सिर्जना गर्न शैक्षिक हड्ताल गर्नुपरेको बहुमत निकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले बताएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा ४८ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनले देशको शिक्षा प्रणाली चलिरहेको भन्दै यसले शिक्षाको व्यापारीकरणलाई बढावा दिएको र आम नागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षाको पहुँचबाट वञ्चित गरेको उल्लेख गरेको छ ।  जसमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयन गरी जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै साउन २ गते देशभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, विश्वविद्यालय, प्रतिष्ठान, सिटिइभिटी, ट्युसन सेन्टर तथा कन्सल्टेन्सीहरू बन्द गर्न आह्वान गरेको हो ।’ अखिल नेपाल शिक्षक संगठनले पनि सरकारले नयाँ शिक्षा ऐन जारी गर्ने क्रममा आफूहरूसँग भएको सहमतिलाई लत्याएको र शिक्षा क्षेत्रलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा समर्थन जनाएको छ । शिक्षक र विद्यार्थी संगठनले सामाजिक सञ्जालबाट छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हड्तालको घोषणा गरेपछि विद्यालयहरू बन्द गरिएको शिक्षकहरूले बताएका छन् ।  निजी विद्यालयले समेत अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द गरेको जनाएको छ । अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुल लगायतका अधिकांश निजी विद्यालय र सबै सामुदायिक विद्यालयले आज विदा दिएका छन् ।  कतिपय विद्यालयले शैक्षिक हड्तालको जानकारी पाएर बन्द गरेका छन् भने कतिपय विद्यालयले जानकारी बिना नै विद्यालय बन्द गरेका छन् । ‘आज बन्द छ भन्ने कुरा सुनियो कसले गरेको हो किन गरेको हो भन्ने थाह भएन अन्य स्कुल पनि बन्द हुँदा हामीले पनि गर्यौं, ‘काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने ।  सामान्य हड्ताल प्रदर्शन भनिएका कार्यक्रममा नै कहिलेकाहीँ अकाल्पनिक घटना हुने गरेको भन्दै सुनेकै भरमा विद्यालय बन्द गर्नुपरेको उनेले बताए । शिक्षकहरूसँग लिखितरूपमै असार १५ गतेको सिमा निर्धारण गरेको सरकारले आफ्नो बाता पुरा गर्न सकेन । आफूहरूलाई धोका दिएको भन्दै नेपाल शिक्षक महासंघले भने फेरि सक्रियता बढाएको छ ।  शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।  विभिन्न मागका नाममा गरिने यस्ता हड्तालले  विद्यालयको पढाइ प्रभावित हुने भन्दै अभिभावकहरूले भने आपत्ती जनाएका छन् ।     

ग्लोबल रिचले साउन ३० गतेदेखि अष्ट्रेलियन एजुकेसन फेयर गर्दै

काठमाडौं । ग्लोबल रिच नेपालले यही साउन ३० गतेबाट काठमाडौंसहित देशका प्रमुख ५ शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । साउन ३० गते काठमाडौंमा, भदौ १ गते पोखरामा, भदौ २ गते चितवनमा, भदौ ३ गते बुटवलमा, भदौ ५ गते विर्तामोडमा र ६ गते कुमारीपाटीमा आयोजना हुनेछ । ग्लोबल रिच नेपालको काठमाडौंमा आयोजना हुने बेलामा अष्ट्रेलियाका ३० भन्दा धेरै विश्वविद्यालय तथा कलेजहरुका प्रतिनिधि सहभागी हुने कम्पनीले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, इन्टेक आदि बारेमा प्रत्यक्षरुपमा जानकारी लिनसक्नेछन् । यी विश्वविद्यालयहरूमा सत प्रतिशतसम्म छात्रवृत्ति र आठ वर्षसम्म अध्ययनपछि काम गर्नसक्ने सुविधा पनि रहेको छ । यो शैक्षिक मेला बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

काठमाडौं महानगरमा विज्ञान विषयमा छात्रवृत्ति आवेदन दिने धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न कूल १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् । महानगर शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन देशभरका ७७ वटै जिल्लाबाट परेका छन् । आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा सबैभन्दा बढी १२ हजार ३३७, व्यवस्थापन विषयमा चार हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् । यो तथ्याङ्कले विज्ञान विषयप्रति विद्यार्थीको उच्च आकर्षण देखाउँछ । जुन कूल आवेदनको करिब ७१ प्रतिशत हो । शिक्षा अधिकृत पौडेलले हाल प्राप्त आवेदनको रुजु कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने बताइन् । आवश्यक प्रक्रिया पूरा भएपछि साउन १ गतेदेखि विद्यार्थीले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने उनले जानकारी दिइन् । साउन ३ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ । कक्षा १० को पाठ्यक्रममा आधारित हरेर हुने परीक्षामा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने गरी निर्धारण गरिएको छ । सबै प्रश्नहरू बहु वैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अङ्क (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ । परीक्षापछि योग्यता सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । त्यस आधारमा विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गर्न पाउनेछन् ।