साइप्रसमा अध्ययनरत विद्यार्थीलाई प्रतिव्यक्ति ३ सय युरो पठाउन पाइने
काठमाडौं । युरोपेली देश साइप्रसमा अध्ययनका लागि गएका विद्यार्थीलाई अभिभावकले नेपालबाट ३ सय युरो पठाउन पाउने भएका छन् । साइप्रसमा कोरोना भाइरस (कोभिड १९) को कारण जनजीवन प्रभावित भएपछि राष्ट्र बैंकले रकम पठाउने बाटो खुल्ला गरेको हो । कोभिड १९ संक्रमण रोक्न भन्दै साइप्रस सरकारले चालेका कदमका कारण नेपाली विद्यार्थीको रोजगारी गुमेको र त्यसले उनीहरुलाई समस्या भएको व्यापक गुनासो आएपछि प्रतिविद्यार्थी ३ सय युरोका दरले रकम पठाउन पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । यसरी रकम पठाउन नेपाल राष्ट्र बैंकले विभिन्न शर्त तोकेको छ । शर्तहरुमा यसरी पठाइएको रकम लाभग्राही नेपाली विद्यार्थी हुनुपर्ने, विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा त्यस्ता विद्यार्थी साइप्रसमा रहेर अध्ययन गरिरहेको काजतसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्ने र रकम पठाउँदा प्रतिविद्यार्थी बढी युरो ३ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र पठाउन सकिने व्यवस्था गरिएको छ । यस्तै, साइप्रसमा रकम प्राप्त गर्ने विद्यार्थीका अभिभावक/आफन्तले मात्र नेपालबाट करम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यसप्रकारको सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, यसरी प्रदान गरिने सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा सम्बन्धित बैंकले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा रिपोर्टिङ गर्नुपर्ने र यस्तो रकमको दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक÷आफन्त जिम्मेवार हुनुपर्ने शर्त रहेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।
अब विद्यार्थीले घरमै बसेर पढ्न सक्ने, इसेवा र मिडास एजुकेशनले ल्याए यस्तो व्यवस्था
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘esewa’राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् । मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
तराई पढ्न गएका ३ सय विद्यार्थी फर्काउन ३० लाख विनियोजन
काठमाडौं। डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडाँै, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए । आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ । रासस