त्रिविले पनि गर्यो सबै परीक्षा स्थगित गर्ने निर्णय (सूचनासहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विकासन्यूजलाई जानकारी दिए । ‘एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए, हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन, त्यसैले परीक्षा स्थगित गर्नका लागि अहिले बैठक बस्यौं, बैठकमा सबैले स्थगित गर्ने भन्ने कूरा गरेपछि स्थगित गर्ने निर्णय गर्यौं’, उनले भने । उनले परीक्षासँगै त्रिविअन्तर्गतका सबै क्याम्पसहरुकाे पठनपाठन पनि बन्द गरिएको जानकारी दिए । शिक्षा मन्त्रलायले भने बुधबार साँझ नै एसईई लगायतका सबै परिक्षाहरु बन्द गर्न निर्णय गरेको थियो । तर, त्रिवि एक स्वायत संस्था भएकोले शिक्षा मन्त्रलायको निर्णयले त्रिविको परिक्षा रोकिने निश्चित नभएको भन्दै त्रिविले आज आपतकालिन बैठक बोलाएको थियो । त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।
विश्वविद्यालयहरुका सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवनलगायत सबै विश्वविद्यालयद्वारा सञ्चालन हुने सबै परीक्षाहरु स्थगित भएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयले संचालन गर्ने परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे जानकारी दिए । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण फैलिरहेको बेला सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको उनले बताए । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । ‘नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ, बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो, बैठकपछि सरकारलेएसईईसँगै चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो,’ उनले भने । यसबारे औपचारिक निर्णय भने केहीबेरमा सम्बन्धित मन्त्रालयले जानकारी दिने उनकाे भनाइ छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार थियो । यस्तै, सरकारले एसईईको परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको हो ।
ज्योति विकास बैंकले अडियो लाइब्रेरीलाई दियाे ५ थान कम्प्युटर
काठमाडाैं । ज्योति विकास बैंकले दृष्टिविहीनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई ५ थान कम्प्युटर प्रदान गरेको छ। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार साे कम्प्युटर प्रदान गरेको हो। ती कम्प्युटरहरू ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा. गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो। अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।