नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न मागसहित बुधबार त्रिवि पुगेका उनीहरुले बास्काेटाको कुर्सी जलाएका हुन् । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ ।
बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी
बैतडी । बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो । कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मङ्गलबार छलफल गरिएको छ । लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए । उनले भने, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको छ ।” स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । छलफलमा सहभागी प्रधानाध्यापकहरुले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औँल्याए । रासस
एसईईकाे मूल्यांकन कार्यविधि तयार, यसरी दिइनेछ विद्यार्थीलाई अंक
काठमाडाैं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि तयार भएकाे छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन कार्यविधि सार्वजनिक गरेकाे हाे । योसँगै विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएकाे छ । एसईई मूल्याकन समिति गठन गर्ने प्रावधान कार्यविधिले तय गरेको छ । समितिमा सम्वन्धित विद्यालयको प्रधानअध्यापक अध्यक्ष तथा सम्वन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने प्रावधान तय गरिएको छ । विद्यार्थीको मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । बोर्डले विद्यार्थीको अन्तिम नतिजाको प्रकाशन गर्नेछ । नतिजा प्रकाशित नगरेसम्म विद्यालयले गरेको विद्यार्थीको मूल्याङ्गन गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको छ । यसपटक नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुन परीक्षण गराउने तथा पुरक ग्रेडबृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरुले दिएका छन् । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिने निर्णय गरेको थियो । तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अघि बढ्न सकेको थिएन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।