सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गरौं: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् । रासस

विद्यालयले सामाजिक सञ्जालबाटै लिन थाले नयाँ भर्ना

काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । ‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने । यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो । सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस

एसईई र कक्षा ११ को नतिजा विद्यालयले नै निकाल्नु पर्ने !

काठमाडाैँ । एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्नु पर्ने सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले  यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सुझाव दिएको हाे । कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्न उपयुक्त हुने प्रतिष्ठानको ठहर छ । प्रतिष्ठानले कक्षा १२ को परीक्षा भने सबै उपाय अपनाई सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको जोमि बढ्ने डरले लकडाउन भएसँगै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले अपिल निकालेर संकटको यो घडीमा कक्षा ११ को परीक्षा यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्नु नै उचित हुने बताएका छन् । यसैगरी विद्यालयहरुले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ ।