आशा लघुवित्तले ग्राहक सदस्यका छोरा छारीलाई दियो छात्रवृत्ति
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरु मध्येबाट उत्कृष्ट अङ्ख ल्याई उत्तीर्ण भएका ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति दिएको हो । संस्थाले प्रत्येक आर्थिक वर्षमा देश भरको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत प्रति शाखा १ जनाको दरले ग्राहक सदस्यहरुको छोरा वा छोरीहरुले १० जोड २ को परीक्षामा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुनेलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही अनुरुप यस वर्ष पनि संस्थाले उक्त कार्यलाई निरन्तरता दिएको हो । वित्तीय संस्थाले ग्राहक संरक्षण कोष मार्फत क्रमशः शाखा कार्यालयहरु सिसहनिया दाङ, बेलौरी कञ्चनपुर, देबिघाट नुवाकोट, कोहलपुर बाँके, बज्रबाराही मकवानपुर र सेमरा रुपन्देहीमा आवद्ध रहेका ग्राहक सदस्यहरुको छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, हालसम्म करीब २ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानीमा रहेको संस्थाले सदस्यहरुबाट ८० करोड रुपैयाँभन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।
निजी विद्यालयमा आर्थिक समस्या भएको भन्दै अनलाइन कक्षा बन्द, शिक्षक कर्मचारीलाई बेतलबी घरमै राख्ने
काठमाडाैं । बिहिबारदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी बिदामा राख्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय गरेका छन् । निजि विद्यालयका संस्था प्याबसन र एनप्याबसनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे बताएका हुन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आर्थिक समस्याका कारण अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने आफुहरुले निर्णय गरेकाे बताए ।
एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन
काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् । विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा डा केशरसिंह राना, पूर्व डिन प्रा डा दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा डा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ । रासस