दमौलीमा पठनपाठनमा सहयोग पु¥याउन ‘रेडियो स्कूल कक्षा कार्यक्रम शुरु’
दमौली । शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले तनहुँमा ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरिएको हो । वैकल्पिक विधिको प्रयोगबाट बालबालिकाको पठनपाठनलाई सहयोग पु¥याउन सदरमुकाम दमौलीस्थित मादीसेती एफएमबाट कार्यक्रम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत लालबहादुर खड्काले जानकारी दिए । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको पढाइबाट ध्यान नहटोस् र उनीहरुलाई विभिन्न विषयको रचनात्मक ढङ्गले ज्ञान प्रदान गर्न कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरेर । विद्यालय जान नपाएको अवस्थामा उक्त कार्यक्रममार्फत बालबालिकालाई घरमै रहँदा मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराउने, प्रतिभा प्रस्फुटन गर्ने अवसर दिने, सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि प्रोत्साहित गर्ने र विभिन्न विषयको व्यावहारिक ज्ञान प्रदान गरिनेछ । यो कार्यक्रमअन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमूलक नाटक, कक्षा १ र २ का बालबालिकाका लागि शब्द निर्माण प्रतियोगिता, जीवन उपयोगी शिक्षाले किशोरीमा आएका सकारात्मक अनुभव, बन्दाबन्दीको अवस्थामा बालिका कसरी सुरक्षित रहन सक्छन् भन्नेजस्ता विषय समावेश गरिएको छ । विभिन्न विज्ञहरुको सुझाव र अन्तर्वार्ता पनि प्रसारण हुँदै आएको सो कार्यक्रम प्रत्येक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म प्रसारण गरिएको मादीसेती एफएमका स्टेशन म्यानेजर ओमकार आचार्यले जानकारी दिए । आचार्यका अनुसार रेडियो स्कूलमार्फत बालबालिका एवं विद्यार्थीले बन्दाबन्दी समयको अधिकतम सदुपयोग गरिरहेका छन् । कार्यक्रममार्फत विद्यार्थीमा सकारात्मक सूचना तथा जानकारी सम्प्रेषण भई राम्रोे प्रभाव पारेकाले अन्य रेडियोको सहयोगमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बालिका शिक्षा कार्यक्रमका सहायक मञ्जु लोहनीले जानकारी दिए । रेडियो स्कूल कक्षा कार्यक्रममार्फत मुख्यगरी बालविवाह, यसका बेफाइदा, कोभिड–१९ र बाल मनोविज्ञानमा यसले पारेको असर, महिनावारी, लैङ्गिक भूमिका र प्राचीन धारणाजस्ता विषयलाई नाटक, संवाद, कविता, गीत अन्तर्वार्ताजस्ता माध्यमबाट प्रस्तुत गरिएको छ । प्राथमिक तहका बालबालिकालाई लक्षित गरी रुम टु रिडले तनहुँका १०३ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम तथा कक्षा ६ र ७ मा अध्ययनरत १२ विद्यालयका बालिकालाई लक्षित गरी बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।
भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने
काठमाडाैं । भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ माध्यमिक विद्यालयको पुनःनिर्माण हुनेछ । नेपालमा भूकम्पपश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको २.९५ अर्ब रूपैयाँ आर्थिक सहयोगमा यी विद्यालयको पुनःनिर्माण गरिनेछ । भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनःनिर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । भूकम्पपश्चातको पुनःनिर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ । रासस
आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला
काठमाडौं । बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताए । नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रूपमा २०७३ जेठमा पशुपतिमा गीता प्रेस खुलेको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको त्रास बढेका बेला नेपाली पाठकमा आध्यात्मिक पुस्तक पढ्ने बानीमा वृद्धि भएपछि केन्द्र खोलिएको उहाँले बताउनुभयो । विपत्ति एवं महामारीका बेला मानिसमा आध्यात्मिक पुस्तकका साथै टेलिचलचित्र हेर्ने क्रमसमेत बढ्न थालेको छ । प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र सञ्चालन भइरहेको छ । “केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका ५० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ, प्रत्येक नेपालीको घरमा गीता पुस्तक पुर्याउने उद्देश्यले हामीले नेपालीमा अनुवाद गरी अभियान नै चलाएका छौं”, सञ्चालक सारडाले भने। प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछि पाठकको मागअनुसार आठ महिनामै अन्य आठ पुस्तक अनुवाद गरेको थियो । ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’ लगायत नेपालीमा अनुवाद गरिएका हुन् । नेपालीमा अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पदमप्रसाद भट्टराईले अनुवाद गर्नुभएको हो भने अन्य पुस्तक केदारनाथ दासलगायत लेखकले अनुवाद गर्नुभएको हो । बाँकी पुस्तक पशुपति क्षेत्रमै बसेर विभिन्न लेखक एवं अनुवादकले अनुवाद गरिरहेका छन् । गीताप्रेसको मुख्यालय गोरखपुरले नेपालको पहिलो बिक्री केन्द्र पशुपति क्षेत्रमै खोल्ने र अनुवाद पनि पशुपति क्षेत्रमै बसेर गर्नुपर्ने शर्त राखेको थियो । केन्द्र प्रमुख सारडा यो शर्त मानेरै केन्द्र स्थापना गरिएको बताउनुहुन्छ । केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मानव कल्याणका लागि केही गरौं भन्ने भावना जागेकाले एक वर्ष प्रयास गरेर प्रेसको आधिकारिक बिक्री केन्द्र खोलिएको संस्थापक सारडा बताए । केन्द्रले नाफा लिने उद्देश्य नलिएको र कर पनि नलाग्ने भएकाले प्रेसले तोकेकै मूल्यमा पुस्तक बिक्री गरिन्छ । प्रेसले पुस्तक निःशुल्क पनि नदिने र तोकिएको भन्दा बढी मूल्य पनि नलिने नीति लिँदै आएको छ । भूकम्पपछि जस्तै बन्दाबन्दीका समयमा पनि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आएकाे रोशन अधिकारी बताए । “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका थिए, अहिले पनि रोगको त्रासका कारण पनि हुनसक्छ युवायुवतीसमेत गीता प्रेसका आध्यात्मिक पुस्तक खोज्दै आउने गरेका छन्”, उनले भने । केन्द्र खोलेपछि चार वर्षको समय आफ्नो जीवन सबैभन्दा खुसी बनेको प्रमुख सारडाको अनुभव छ । बन्दाबन्दीका कारण घरमै बस्न बाध्य हुनुपर्दा मानिसमा चिन्ता, थकान, दबाबलगायत नकारात्मक तत्वको वृद्धि हुन्छ । यस्तो बेलामा गीतालगायत आध्यात्मिक पुस्तक अध्ययन गर्दा भित्रैदेखि शान्ति मिल्ने गोठाटारदेखि हिँडेर आध्यात्मिक पुस्तक किनेर फर्किएकाे पाठक रामेश्वर पुडासैनी बताए । विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गरेका हुन् । प्रेसले हालसम्म रु ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ । हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । गीता प्रेसका सबै बिक्री केन्द्रले प्रकाशनको लगानी मात्र लिने गरी पुस्तक बेच्ने गरेका छन् । रासस