मसिक शुल्क बढाएकाे भन्दै काठमाडौं मोडल स्कुलका अभिभावकद्वारा विद्यालय घेराउ

काठमाडाैं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् ।अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँचनुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक पटका आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् । अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् । अभिभावक संघका संयोजक शुभप्रभावत घिमिरेले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिदा विद्यालयहरुले आफूखुशि उठाउने गरेको बताए । अभिभावकहरुको पेशा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको बताए । सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो । असोज दोस्रो साता भित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिले सम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् जसको फाइदा उठाउँदै केही विद्यालयहरुले आफूखुशि शुल्क निर्धारण गर्न थालेका छन् । यससँगै अधिकांश विद्यालयहरुमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुबीच विवाद बढेको देखिन्छ ।

नियमविपरीत थप अर्का डिन नियुक्त गरेकाे भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । मङ्गलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको छ । अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी तालाबन्दीका लागि गरिएको विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ । प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् । उपकुलपति राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य सङ्कायको डिन अनियमित तरिकाले नियुक्त गरिएको विषयमा विरोध गर्दै २४घण्टे अल्टिमेटम दिएको थियो । कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्रा डा रेशमबहादुर राना नियुक्त भएका थिए । असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते वाग्लेलाई नियुक्त गरेको थियो । गौतमपछि प्रतिष्ठानले डिन मेडिसिन प्रा डा रेशमबहादुर रानालाई नियुक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको हो । कोभिडको समयमा दुई जना डिनलाई खासै काम कम भएको समयमा अझै अर्का डिन नियुक्त गर्नु उपकुलपतिले पदावधि जाँदै गर्दा पदको दुरुपयोग गरेका र राज्यकोष सिध्याउन आफ्ना मानिसको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावधि सकिँदैछ । यता उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले प्रतिष्ठानलाई अब ५०० श्ययाको अस्पताल विस्तार गर्नुपर्ने, एमबिबीएस शुरु गर्नुपर्ने भनेर सरकारबाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्टजस्तो गर्ने भएकाले सोहीअनुसार काम भएको प्रतिक्रिया दिए । कानूनी व्यवस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०६८ स्थापना भई पदाधिकारी नियुक्त हुने प्रावधान छ । कर्णाली प्रतिष्ठान ऐनको परिच्छेद १ दफा २ परिभाषाको (घ) मा उपकुलपति, उपकुलपति, शिक्षाध्यक्ष, छनोट समितिका अध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक भन्ने व्यवस्था छ । सोही दफामा आवश्यकतानुसारका पदाधिकारी नियुक्त गर्ने अधिकार पनि छ । उपकुलपति वाग्लेले पछिल्लो तेस्रो डिनमा नियुक्त गरेका महालक्ष्मी नगरपालिका–२ ललितपरका प्रा डा मुनिराज क्षेत्रीलाई ऐनको दफा २३ उपदफा १ अनुसार नियुक्त गरिएको नियुक्तिमा उल्लेख छ । तर एउटै पदमा तीन जना पदाधिकारी नियूक्त गर्नु राम्रो नभएको कर्मचारीले बताउँदै विरोध जनाएका छन् । रासस

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ । त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, विसं २०७७ ल्याइएको र सोही निर्देशिकाअनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।