‘राजनीतिक दलले शिक्षण र स्वास्थ्यमा व्यापार गरिरहेका छन्’
काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आज (कार्तिक २० गते) पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाएका हुन् । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उनले लगाए । ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, विचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् ।’, उनले भने । डा. केसीले पूँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण नगरी गुणस्तर कायम सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताए । उनले भने, ‘नेपालमा समाजवादीहरुले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’ उनले आफुसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । डा. केसीले १९ औं अनसनका समयमा आफुसँग भएका सम्झौताहरु कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गरेका छन् ।
त्रिवि दीक्षान्त समारोहकाे फारम भर्ने अन्तिम दिन मंसिर १ गते
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ । समारोहमा भाग लिनका लागि स्नातक तहले रु तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु चार हजार २०० र विद्यावारिधिले रु चार हजार ७०० शुल्क बुझाउनुपर्ने छ । तीमध्ये रु एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज(कार्तिक १९ गते) शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन् । मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गरेको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए । बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिश गरेको थियो । परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । रासस