खोटाङकाे ६ स्थानीय तहमा विद्यालय खुल्यो, चारमा अझै अन्योल

खोटाङ । जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम भने बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सोमबारदेखि विद्यालय खुलाएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोगलगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन (शिक्षक)लाई राखेर तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो । पन्ध्र वडा रहेको नगरपालिकामा ९४ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने भन्दै प्रत्येक विद्यालयलाई थर्मलगन उपलब्ध गराएको छ । यस्तै विद्यार्थीलाई ज्वरो आएमा निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका २९ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको नगरप्रमुख दीपनारायण रिजालले बताए । उता हलेसी तुवाचुङ नगरपालिकाले भने अहिलेसम्म अवरुद्ध विद्यालय पुनःसञ्चालन गराउने मिति तय गरेको छैन तर पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ । पठनपाठनलाई सुरक्षित तरिकाले सञ्चालन गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको नगरप्रमुख इवन राईले बताएका छन् । हलेसी तुवाचुङमा ८८ सामुदायिक र चार निजी विद्यालय सञ्चालनमा छन् । जिल्लाको रावाबेँसी गाउँपालिकाले कक्षामा न्यून सङ्ख्यामा विद्यार्थी राखेर यही मङ्सिर ३ गतेदेखि नै पठनपाठन सञ्चालन गराएको छ । पठनपाठनलाई थप प्रभावकारी बनाउन सोमबार शिक्षा समितिको बैठक बोलाएको थियो । रावाबेँसीमा २८ सामुदायिक विद्यालय सञ्चालनमा छन् । बयालीस सामुदायिक र एक निजी विद्यालय रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐंसेलुखर्क गाउँपालिकाले आइतबारदेखि विद्यालय खुलाएर नियमित पठनपाठन शुरु गरेको छ । विद्यार्थी सङ्ख्या सबैभन्दा बढी भएको उक्त गाउँपालिकामा कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर पठनपाठन गराइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए । केपिलासगढी गाउँपालिकाले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । यही मङ्सिर ५ गते बसेको गाउँ शिक्षा समितिको निर्णयानुसार सबै विद्यालय खुलाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । सो गाउँपालिकामा ३७ सामुदायिक र दुई निजी विद्यालय छन् । भदौ ३ गतेसम्म गाउँटोलमै सिकाइ सहजीकरण गरेको दिप्रसङ चुइचुम्मा गाउँपालिकाले पुनः असोज ११ देखि निरन्तर पढाइ सञ्चालन गरिरहेको छ । हाल गाउँपालिकाभरका विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन भइरहेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । उक्त गाउँपालिकामा ४८ सामुदायिक र दुई निजी विद्यालय छन् । जन्तेढुङ्गा गाउँपालिकाले सोमबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था मिलाएर पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए । जन्तेढुङ्गामा ३६ सामुदायिक र एक निजी विद्यालय छन् । खोटेहाङ गाउँपालिकामा विद्यालय सञ्चालन गराउने विषयमा बैठक बोलाइएको छ । अवरुद्ध विद्यालयको पठनपाठन गर्ने या नगर्ने निर्णय कार्यपालिका बैठकबाट फुकाइने गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । खोटेहाङमा ४९ सामुदायिक र दुई निजी विद्यालय सञ्चालनमा छन् । यस्तै साकेला गाउँपालिकाले पनि पठनपाठन सञ्चालन गराउने तयारी गरिरहेको जनाइएको छ । वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयलाई कार्ययोजना पेश गर्न भनिएको तथा सोही कार्ययोजनाका आधारमा कक्षा चलाउने गरी तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए । स्वास्थ्य सुरक्षा अपनाउँदै बिहान १० देखि दिउँसो १ बजेसम्म नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । साकेलामा २८ सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाले ११ मङ्सिरदेखि विद्यालयमा नियमित पठनपाठन गराउने तयारी गरेको छ । कक्षा सञ्चालनका क्रममा भौतिक दूरी कायम गरिने गाउँपालिकाले जनाएको छ । बराहपोखरीमा ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । लामो समयदेखि बन्द रहेको विद्यालयलाई पुनः नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहले निर्देशन दिए पनि विद्यार्थी सङ्ख्या भने कम मात्र सहभागी हुने गरेको शिक्षकहरुले बताएका छन् । जिल्लाका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थी घर गएकाले पनि आउन बाँकी रहेको उनीहरुको भनाइ छ । रासस

बाजुराकाे बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

मार्तडी । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताए । उनले भने, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गरेका छौँ ।” प्रधानाध्यापक पाध्यायले नगर शिक्षा समितिको बैठकले मङ्सिर ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भए पनि ११ कक्षाको परीक्षाका कारण आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सञ्चालनमा ल्याएको बताए । कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएको प्रधानाध्यापक पाध्यायको भनाइ छ । माध्यमिक र क्याम्पस तहका कक्षा खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवालले जानकारी दिए । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागेको चोयाकोट माविका शिक्षक श्याम रावलले बताए । “कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ”, उनले भने । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका र बीचमा सिफ्टमा सञ्चालन गरिएको भए पनि प्रभावकारीरूपमा पढाइ नभएकाले विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले बताए । विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी २८ माध्यमिक विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका छन् ।

महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने, सिटिइभिटी अन्तर्गतकाे ७ वटा विषय पढाइने

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७/७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख विष्टले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका अनुसार प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेण्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालन हुनेछन् । “सात वटै विषयमा ४० का दरले २८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।” उनले भने “ यसले यहाँको शैक्षिक विकासमा ठूलो फड्को मार्नेछ ।” महेन्द्रनगरमा शनिबार शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्दै गरेका छन् । नगरका प्रमुख विष्टले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र समयसापेक्ष समसापेक्ष शिक्षाको मागअनुरुप सिटिइभिटीइबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालन हुने बताए । उनले भौतिक पूर्वाधार जनशक्तिको कामसमेत अघि बढाइने जानकारी दिए । सिटिइभिटिइको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो । रासस