दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन हुने, ५० लाख बजेट विनियोजन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ । उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए । पुस्तकालयमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर पनि अध्ययन गर्न सक्ने छन् । योजनानुरुप नै काम भए आगामी दुई महिनामा सञ्चालनमा आउने जनाइएको छ । नवनिर्मित हाइस्कूलमा त्यस्तो पुस्तकालय सञ्चालनका लागि सोहीअनुरुप नै संरचना तयार गरिएको छ । सोका लागि कामपा वडा नम्बर २७ र विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा काम अघि बढिसकेको छ । कामपा क्षेत्रमा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अध्ययनअध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ । कोरोना कहरका कारण भौतिक रुपमा पठनपाठन गर्न गराउन नसकिएको अहिलेका समयमा अत्याधुनिक पुस्तकालयबाट ठूलो सहयोग पुग्ने कामपा –२७ का सदस्य परिवेशमान बज्राचार्यले बताउनुभयो । सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँसुकैबाट सुविधा लिन सकिनेछ । गोरखा भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेको भानु मावि र संस्कृत मावि पुनःनिर्माण सम्पन्न भई गत कात्तिक ५ गते राष्ट्रपतिले रानीपोखरी पुनः निर्माणसँगै उद्घाटन गरे पनि कोरोना महामारीका कारण हाल बन्द छ ।

ललितपुरकाे विद्यालय मेयर फोरमको निर्णयपछि मात्र खोलिने

ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।” अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताइन् । गोदावरी नगरपालिकाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते निर्णय गरेको विद्यालय सञ्चालन कार्याढाँचा, २०७७ मा उल्लेखित प्रावधानलाई पूर्णपालना गर्दै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गर्ने र गराउने भनी अनुरोध गरिसकेको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताए । उनले भने, “कम विद्यार्थी भएका विद्यालयमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न लगाउने, सम्भव भएका विद्यालयमा वैकल्पिक प्रणाली अपनाउने र सम्भव नभएका विद्यालयमा उपयुक्त सिकाइ विधि पालना गर्नेछाैँ ।” दक्षिण ललितपुर वाग्मती गाउँपालिका शिक्षा समिति बैठकले सम्भव भएका कुरालाई पालना गरेर अघि बढ्न आग्रह गरिसकेको शिक्षा शाखा प्रमुख शेषकान्त पौडेलले बताए । महाँकाल गाउँपालिकामा विद्यालय खोल्ने निर्णय भइसकेको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम आफ्नो अनुकूलताअनुसार विद्यालय खोलिने भएको शिक्षा शाखा प्रमुख ओमप्रसाद जोशीले बताए । कोञ्ज्योसोम गाउँपालिकामा विद्यार्थी सङ्ख्या र कक्षाकोठाअनुसार अध्ययन र अध्यापनलाई अघि बढाइरहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनले भने, “हामीले सम्भव भएका विद्यालय कहीँ बिहान, कहीँ दिउँसो र कुनै स्थानका विद्यार्थीलाई दुईदेखि तीन घण्टा मात्र भए पनि सिकाइरहेका छाैँ ।” रासस

भाैतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविकाे निर्देशन

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्विविद्यालयले एक विज्ञप्ती जारी गर्दै आफु अन्तर्गतकाे सबै क्याम्पस, विभाग र स्कुलहरुलाई स्थानिय निकायले ताेकेकाे समयसिमा र मापदण्डभित्र रहनेगरी कक्षा संचालन गर्न निर्देशन दिएकाे हाे । त्रिविले यस्ताे सम्भव नभएकाे अवस्थामा अन्य वैकल्पिक विधिकाे प्रयाेग गरी नियमित कक्षाहरु स‌चालन गर्न पनि निर्देशन दिएको छ। विश्वविद्यालय यस अघि काेराेनाभाइरसकाे कारण राेकिएकाे सबै परीक्षाहरु भाैतिक रुपमा गर्नकाे लागि तालिकाहरु सार्वजनिक गरिसकेकाे छ ।