एसईईको नतिजा साउन १५ गतेभित्रै प्रकाशित हुने
काठमाडौं । एसईईको नतिजा साउन १५ गतेसम्ममा प्रकाशन गरिसक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यालयले पठाएको डाटामा कुनै समस्या नभए साउन १५ गतेसम्ममा एसईईको नतिजा प्रकाशन गरिसक्ने बताएका हुन् । ‘विद्यार्थीहरुको डाटामा कुनै पनि प्रकारको समस्या नदेखिए साउन १५ सम्ममा नतिजा प्रकाशन गरिसक्ने हाम्रो लक्ष्य छ, केही समस्याहरु आईपरे थप केही समय लाग्न सक्छ,’ उनले भने । यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु एसर्ईई परीक्षा दिनलाई तयार बसेका थिए । तर, कोरोनाभाइरस (कोभिड १९) को कारण सरकारले चैत ६ गतेदेखि हुने भनिएको परीक्षा चैत ५ गते स्थगित गरेको थियो । परीक्षामा सबैभन्दा बढि काठमाडौंका ३६ हजार विद्यार्थीहरुले सहभागी हुने तयारीमा थिए । लगतै परीक्षा स्थगित भएसँगै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो । यस कारण एसईई परीक्षाको कुनै पनि टुँगो लागेको थिएन । तर, गत जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले एसईईलाई यस वर्ष आन्तरिक मुल्यांकनको आधारमा नतिजा निकाल्ने भएको हो । विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्नु पर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण असार २० गतेभित्र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा असार ३० गतेभित्र नतिजा पठाउनु पर्नेछ ।त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।
नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न मागसहित बुधबार त्रिवि पुगेका उनीहरुले बास्काेटाको कुर्सी जलाएका हुन् । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ ।
बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी
बैतडी । बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो । कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मङ्गलबार छलफल गरिएको छ । लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए । उनले भने, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको छ ।” स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । छलफलमा सहभागी प्रधानाध्यापकहरुले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औँल्याए । रासस