तारकेश्वर नगरपालिकामा आजदेखि विद्यालय सञ्चालन
तारकेश्वर । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना गरी विद्यालय सञ्चालनमा ल्याएको हो । एघार वडा रहेको नगरपालिकामा १८ सामुदायिक र ६४ संस्थागत विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातारण बनाउने, पाठ्यपुस्तक, कापी कलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
उच्च शिक्षाको चुनौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु
काठमाडाैं । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ । ‘शेपिङ अ ह्युमान वर्ल्ड : ग्लोबल प्राेसपेक्टिभ अन हाइअर एजुकेशन’ विषयक सो सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न गरेको सङ्कट विश्वका सबै धनी र मुलुकका लागि समान भएकाले साझा चुनौतीको सामना गर्न साझा प्रयास गर्नुपर्नेमा जोड दिए। उनले महामारीपछि सरकारले सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको र जोखिम कम भएका स्थानमा सामाजिक दूरी कायम गरी प्रत्यक्ष पढाइ शुरु भएको जानकारी दिए । मन्त्री पोखरेलले नेपालले शैक्षिक सत्रलाई खेर जान नदिने गरी प्रबन्ध गरेको उल्लेख गर्दै सूचना र प्रविधिमा आएका नवीन आयाम र परिवर्तनलाई आत्मसात् गरी उच्च शिक्षालाई अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउन आवश्यक रहेको बताए । खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माका अनुसार सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, नेपाललगायतका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती आदिबारे छलफल हुनेछ । सो विश्वविद्यालयका रजिष्ट्रार कमलराज ढकालले आफूहरुले विश्वका विभिन्न विद्यालयहरुसँग सहकार्य बढाउन चाहेको बताए ।
‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ सञ्चालनमा, विद्यार्थीलाई स्वरोजगार र उद्यमशील बनाउने
काठमाडौं । सिस्को नेटवर्क एकेडेमीको सम्बन्धनमा अन्तराष्ट्रिय स्तरको “समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी” को स्थापना गरेको छ । काठमाडौंको बनस्थलीस्थित रहेको समृद्धि स्कूल/कलेजले सुचना तथा सञ्चार प्रविधिसंग सम्वन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विज्नेस क्याम्पस अन्तर्गत अध्यापन गराईने बीसीए र बीबीएस कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो । बजारको आवश्यकता अनुरूप सुचना प्रविधि क्षेत्रमा एक्काइसौं शताब्दिको दक्ष जनशक्ति निर्माण गरी यस क्षेत्रमा योगदान गर्ने उद्देश्य यस एकेडेमीले राखेको छ । समृद्धि स्कूल/कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा उद्घाटित उक्त समारोहमा कलेजका सिईओ/प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले स्वागत मन्तव्यका क्रममा कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाड्गीण विकाशको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमुलक शिप प्रवर्धन गर्नको लागि यस एकेडेमीले निकै महत्व पूर्ण सहयोग पुर्याउने धारणा राखे । त्यसैगरी प्रमूख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हासिल गरि सरकारी कामलाई ई गभरमेन्ट तथा पार्लियामेन्टलाई पनि ई पार्लियामेन्ट बनाई आई.टी. यूजर बढाउनु पर्ने धारणा राखे । त्यसैगरी अर्का प्रमूख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका उप-कुलपति डा. सुनिल बाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको विचार व्यक्त गरे । श्रीलंकाबाट अनलाइनबाट जोडिएका सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासंभव सहयोग गर्ने तथा सिस्कोद्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालीमबाट विद्यार्थीहरुको सीप र व्यक्तित्व विकाशमा सहयोग पुर्याई प्रमाणपत्रमा मात्र केन्द्रित नभएर जीवनको जटिल अवस्थाको सामना गर्न सक्ने बनाउन यस एकेडेमीले सहयोग पुर्याउने धारणा राखे । त्यसैगरी, उक्त कार्यक्रममा विशेष अतिथिहरु त्रिभुवन विश्वबिद्यालय, इन्जीनीयरिङ्ग अध्ययन संस्थानका प्राध्यापक डाक्टर सुवर्ण शाक्य, विशाल फाउण्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले पनि आ-आफ्नो धारणा राखेका थिए ।