लोकसेवाको परीक्षामा खेताला परीक्षार्थीकाे विगविगी, बुधबार मात्र ८ जना पक्राउ
कर्णाली । नेपालमा सबैभन्दा विश्वसनीय मानिएकाे लोकसेवा आयोगको परीक्षामा पनि बेथितिहरू माैलाउन थालेका छन् । सरकारी जाखिर खाने रूची भएका तर क्षमता नभएकाे मानिसहरूले लाेकसेवाकाे परीक्षामा खेताला लगाउन थालेका छन् । धनी बा-आमाका बिग्रेका छाेराछाेरीले उच्च मूल्यमा खेताला लगाएर परीक्षामा सहभागी गराउन थालेका छन् । लोकसेवा आयोगलाई साेझै प्रभावित पारेर नतिजा आफ्नाे पक्षमा ल्याउन नसकेपछि उनीहरूले खेताला परीक्षार्थी लगाउन थालेका हुन् । बुधबार मात्र यस्ता ८ जना खेताला परीक्षार्थीहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेकाे अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए । त्यसैगरी भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको उनले बताए । प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । यही मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको र उनीहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सिर्जना कलेज अफ फाइन आर्टस भवनको शिलान्यास, अनुमानित लागत साढे पाँच करोड
काठमाडाैं । सङ्घीय सांसद जीवनराम श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं ५ छोकडोल सीतापाइलामा मुनाफारहित सामुदायिक शिक्षण संस्था सिर्जना कलेज अफ फाइन आर्टस भवनकोे शिलान्यास गरेका छन् । साढे दुई रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको अनुमानित लागत रु पाँच करोड ५० लाख छ । भवन निर्माणका लागि काठमाडौंँ महानगर पालिका र विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त भएको र नपुग सङ्घीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको कलेज सञ्चालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठले बताए । सो अवसरमा सांसद श्रेष्ठले राष्ट्रको कलासंस्कृति चिनाउने कलाविधाको गैरनाफामूलक समुदायबाट सञ्चालन गरिएको एक मात्र कलेजको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र खटाइएकाे अस्पतालमा जान सरकारकाे निर्देशन
काठमाडाैं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान भनिएको छ । मन्त्रालयले आजको दिनदेखि चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ ।