निजी विद्यालयमा आर्थिक समस्या भएको भन्दै अनलाइन कक्षा बन्द, शिक्षक कर्मचारीलाई बेतलबी घरमै राख्ने
काठमाडाैं । बिहिबारदेखि अनलाईन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी बिदामा राख्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय गरेका छन् । निजि विद्यालयका संस्था प्याबसन र एनप्याबसनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे बताएका हुन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले आर्थिक समस्याका कारण अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने आफुहरुले निर्णय गरेकाे बताए ।
एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन
काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् । विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा डा केशरसिंह राना, पूर्व डिन प्रा डा दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा डा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ । रासस
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान
बैतडी । बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय रूपैयाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । यस्तै जिल्लाको दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको पाइएको छ । सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र रु ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । उनीहरु दुवैजनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् । रासस