निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन
काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासङ्घसँग परामर्श गरेको थियो । शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना क्याम्पस खोल्न थालेको छ ।
निजी शिक्षण संस्थाप्रति सरकारको बक्रदृष्टि, ‘६ खर्ब रुपैया लगानी, २ लाख रोजगारीलाई अन्देखा गरियोे’
काठमाडौं । निजी विद्यालयहरुले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सरकारले न्यूनतम शुल्कसमेत लिन नदिएपछि देशभरका निजी विद्यालयहरु साउन १ देखि बन्द छन्, जसका कारण निजी विद्यालयमा शिक्षण पेसामा आवद्ध शिक्षक÷शिक्षिका तथा अन्य कर्मचारीहरुको रोजगारी संकटमा परेको छ । सरकारले लकडाउन हटाएपनि विद्यालय सञ्चालन गर्ने मिति तोकेको छैन । जसका कारण विद्यार्थी भर्नामा समस्या भइरहेको निजी विद्यालय संचालकहरुले बताएका छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार तथा रोजगार समितिले निजी विद्यालयहरु र यिनीहरुका संगठन– प्याब्सन तथा एन–प्याब्सनसँग शिक्षामा निजी लगानीको अवस्था र कोभिड–१९ को प्रभाव तथा अगाडीको बाटोका सम्बन्धमा छलफल गरेको छ । राजधानीमा रहेका ५० भन्दा बढी निजी विद्यालयका सञ्चालकहरुसँगको छलफलमा समितिका संयोजक विनोद चौधरीले सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सच्याउन आवश्यक रहेको बताए । ‘गुणस्तरीय शिक्षाले मुलुकका लागि आवश्यक मानव पुँजीको विकास गर्छ र अपवाद सामुदायिक विद्यालयबाहेक निजी क्षेत्रबाट नै यो महत्वपूर्ण काम हुँदै आएको छ, कोभिड–१९ को विषम परिस्थितिमा न्यूनतम शुल्क लिएर डिजिटल (भर्चुअल) माध्यमबाट कक्षा सञ्चालन गर्न खोज्दा पनि नदिनु दुःखद् हो,’ चौधरीले भने । उनले निजी क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापना भएका शिक्षण संस्थाहरु सेवामूलक उद्योगको रुपमा विकास भएको र मुलुकमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै निजी विद्यालयलाई रोक्ने या अवरोध गर्ने नभइ सामुदायिक विद्यालयलाई समेत निजीसँग प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राखे । कोभिड–१९ को महामारीमा आम्दानी गुमेको अवस्थामा हस्पिटालिटी क्षेत्रलाई जस्तै व्यवहार निजी विद्यालयहरुले समेत पाउनुपर्ने उनको धारणा थियो । समितिका उपसंयोजक माननीय उमेश श्रेठले शिक्षामा निजी क्षेत्रले ६ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको र लाखौं व्यक्तिलाई रोजगारी दिएकोमा उनीहरुको जीविका (सर्भाइभल)का सम्बन्धमा सरकारले ध्यान नदिएको भन्दै निजी विद्यालयहरु आफैंले स्वास्थ्य सम्बन्धि प्रोटोकल (मापदण्ड) लागू गरी कम विद्यार्थी राखेर सुरक्षित किसिमले कक्षा सञ्चालन गर्नेतर्फ अघि बढ्नुपर्ने बताए । एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थी, अभिभावक न्यूनतम शुल्क लिएर अनलाइन र इन्टरनेटको राम्रो पहुँच नभएको ठाउँमा रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालन गर्नेमा सहमत हुँदा पनि सरकारले यसलाई अवरोध गर्नु पूर्वाग्रही मानसिकता भएको बताए । ‘सरकारले तोकेको शुल्क लिएर निजी लगानीमा खुलेका विद्यालयलाई शुल्क लिन पाउँदैनौं भन्नु अन्याय हो, यो अन्यायविरुद्ध सबै विद्यालय एकजुट भएर सामना गर्नुपर्छ । विद्यालयको भाडा, बैंकको ऋण, बत्ती, पानी, कर्मचारीको तलब जस्ता सञ्चालन खर्च समेत तिर्न नसकेर बन्द गर्नुपर्ने अवस्था आइसकेको छ,’ अध्यक्ष सापकोटाले भने । उनले सरकारले लगानी, रोजगारी र मानवपुँजी विकासको मर्म नबुझेको बताए । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरुले अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा पु¥याएको चर्चा गर्दै निजी विद्यालयले विपन्नलाई छात्रवृत्ति दिनेदेखि चालु आर्थिक वर्षदेखि एउटा निजी विद्यालयले एउटा सामुदायिक विद्यालयलाई प्रविधि र विज्ञता (टेक्निकल नो–हाउ) दिएर प्रतिस्पर्धी बनाउन तयार रहेको अवस्थामा सरकारले निजी शिक्षाप्रतिको दूराग्रह त्याग्नुपर्ने बताए । विश्वविद्यालयहरुले पनि शुल्क लिएर अनलाइन÷डिजिटल कक्षा सञ्चालन लिइरहेका छन्, तर सरकारले भने निजी विद्यालयहरुलाईमात्र लक्षित गरेको उनको भनाइ थियो । निजी विद्यालयहरुले विद्यालयमा ट्रेड युनियनका कारण गुणस्तरीय शिक्षा र दक्षतापूर्वक विद्यालय सञ्चालनको वातावरणमा समेत ह«ास आउने अवस्था देखिएकाले व्यवस्थापनले क्षतिपूर्ति दिएर कर्मचारी हटाउन पाउनुपर्ने साथै निजी विद्यालयमा अध्ययन गरेकाले उच्च शिक्षामा सरकारी छात्रवृत्ति नपाउनेजस्ता व्यवस्थाको लागि समेत लडिरहेको र त्यी मुद्दाले संसद्मा प्रवेश पाउनुपर्ने बताएका छन् । निजी क्षेत्र भन्नेवित्तिकै पूर्वाग्रही दृष्टिकोण राखेर मुलुकले उन्नति गर्न नसक्ने भन्दै निजी विद्यालयका सञ्चालकहरुले खुला बजार, उदार अर्थतन्त्र र निजी लगानीको हिमायती नेपाली कांग्रेसले निजी लगानी र रोजगारी सिर्जनाका लागि आवाज सशक्त बनाउन र निजी क्षेत्रलाई अवरोध गर्ने कानुनी र नीतिगत व्यवस्थाको विरुद्धमा उभिन आम निजी विद्यालय सञ्चालकहरुले आह्वान गरेका छन् ।
कक्षा १२ काे परीक्षा असाेजभित्र भइसक्छ: राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज महिना भित्रमा भइसक्ने बताएको छ । बोर्डका प्लस टुतर्फका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा असोजभित्रमा भइसक्ने बताएका हुन् । ‘स्थिती सामान्य रहे हामी भदौ अन्तिम हप्तादेखि असोजको अन्त्यसम्ममा परीक्षा लिइसक्नेछौं, परीक्षा तयारीको लागि बोर्ड बैठक पनि छिटै बोलाउँदै छौं,’ परीक्षा नियन्त्रक शर्माले भने । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण कक्षा १२ लगायत विभिन्न तहको परीक्षा स्थगित भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन हटाउँदै परीक्षा लिन पाउने अनुमति दिएसँगै रोकिएको परीक्षाहरु हुने भएको हो । यसअघि एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै केही समय अगडी कक्षा ११ लाई पनि आन्तरिक मुल्यांकनको आधारमा अंकदिने निर्णय भएको थियो । तर कक्षा १२ को हकमा भने परीक्षा लिन बाहेक केही पनि विकल्प नरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको थियो । यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी छन् । जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् भने ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।