तत्काल विद्यालय खोल्न सकिँदैन- काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो । गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ । विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । “अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षा सकिए पनि उपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्छ”, प्रमुख ढकालले भने । विश्वभरि फैलिएको कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन् । अहिले उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भए पनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुनसकेको छैन । काठमाडौँ उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ । उपत्यकामा सङ्क्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने कामपाले जनाएको छ । हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् । रासस
बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित
काठमाडाैं । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् । सडक विस्तार भइरहेका क्षेत्रमा बिना सूचना दैनिकजसो बत्ती जाँदा गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको कक्षा प्रभावित भएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल सडक विस्तार गरिरहेको छ । विस्तारका क्रममा विद्युत्का पोल सार्नेलगायत कारणले बिना सूचना दैनिकजसो बत्ती जाँदा पढाइमा प्रभाव परेको गोकर्णेश्वर नगरपालिका–४ का अभिभावक कृष्णमान श्रेष्ठले गुनासो गरे । नगरपालिकाले तीन पटकसम्म विद्यार्थीलाई भौतिकरूपमा विद्यालयमै बोलाएर कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको जोखिमका कारण सबै विद्यालयले कार्यान्वयन गर्न सकेका छैनन् । केही विद्यालयले कक्षा ६ भन्दामाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा बढाएर दूरी कायम गरी अध्यापन गराएका छन् । साना विद्यार्थीलाई भने जुमका माध्यमबाट नै अध्ययन अध्यापन गराइएको छ । घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी बिना सूचना बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशन स्कूल कक्षा ५ मा अध्ययनरत विदिशा ढुङ्गानाको दुःखेसो छ । गोकर्ण नोलाइटका कर्मचारी भने धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । नेपाल विद्युत् प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउँछन् । बत्ती निभाउँदा सधैँ सूचना दिन नसके पनि धेरै विद्यार्थीले जुम प्रविधिबाट नै अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको उनको भनाइ छ । रासस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुल्यो, सम्पर्क कार्यालय खारेज गरिने
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो । प्रतिष्ठानमा दुई जना डीन नियुक्ति गरिसकेका उपकुलपति प्रा डा वाग्लेले कार्यकारी परिषद्को बैठकको निर्णयबिना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिनुपर्ने माग राखेको थियो । तालाबन्दी खोल्न उपकुलपतिले सम्पर्क कार्यालय काठमाडौँबाट प्रतिनिधिमण्डल खटाएर पटकपटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन । पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नसक्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो । मङ्गलबार मात्र प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरिएका तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए । सहमति भएअनुसार हाल नियुक्त भएका डीन र अन्य डीनको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य सङ्कायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको समाजका अध्यक्ष उपाध्यायले बताए । यता ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्ने सहमति भएको छ । यसका साथै समाजले राखेका छवटै मागका सम्बन्धमा कार्यकारी परिषद्बाट हुबहु पारित गर्ने सहमति भएको प्रतिष्ठानले जनाएको छ । रासस