प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालयलाई मेगा बैंकले एक करोड रुपैयाँसम्म कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालयलाई एक करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा सो मात्राको कर्जा दिने भएको हो । मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग सम्झौता गरी उक्त संस्थामा आवद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्नेछन् । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ । यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड-१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

बैतडीको पुर्चाैडी नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । उनले भने, “सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउन जान पनि रोक लगाएका छौँ ।” भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए । मृत भेटिएका ती पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ । छ दिनअघि बैङ्लोरबाट हिँडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएको बताइएको छ । गौरीफण्टादेखि मृत भेटिएको स्थानसम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ । पुर्चौडीमा अहिलेसम्म २० जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना अझै सक्रिय सङ्क्रमित छन् । मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताए । उनले भने, “भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको छ ।” विद्यालयहरु पुनः बन्द पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।” पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ । शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए । उनले भने, “यसअघि नगरपालिका कोरोना सङ्क्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौँ, अब नगरपालिकाले अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन् ।” पुर्चौडीमा ७५ सामुदायिक विद्यालयमध्ये ३९ ओटामा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष राखिएका थियो । नगरका ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् । बैतडी जिल्लाभरि हालसम्म ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । रासस

सरकारले प्राविधिक शिक्षा विस्तारलाई उच्च प्राथमितामा राखेको छः मन्त्री नेम्वाङ

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको आएको बताएका छन् । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आइसीटी) ल्याबको उद्घाटन गर्दै मन्त्री नेम्वाङले आधुनिक र प्राविधिक शिक्षाले मात्रै मुलुकको समृद्धिको यात्रामा सघाउ पुग्ने जनशक्ति उत्पादन गर्नसक्ने बताए । ‘जहाँसुकै पुगे पनि राम्रो रोजगारी प्राप्त गर्न सक्ने र आधुनिक नेपाल निर्माणमा सघाउ पुर्याउने दक्ष जनशक्ति उत्पादनका लागि आधुनिक र प्राविधिक शिक्षा अत्यावाश्यक छ’, मन्त्री नेम्वाङले भने, ‘भविष्यमा हाम्रो युवा जनशक्ति कमजोर नहोस् भन्ने उद्देश्यसहित सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ ।’ आवश्यक पूर्वाधार निर्माण गरी सरकारले प्रत्येक वर्ष १०० माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने नीति लिएको मन्त्री नेम्वाङले बताए । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले लगानी गरिरहेको उनको भनाइ छ । शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षले जिम्मेवार पहल गर्नुपर्ने बताउँदै मन्त्री नेम्वाङले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा समेत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाईमा जोड्न आवश्यक प्रयत्न गर्न आग्रह गरे । मन्त्री नेम्वाङका हजुरबुवाका बुवा प्रसादसिं नेम्वाङले जग्गा दान गरी उनकै पहलमा स्थापना भएको फिदिम माध्यमिक विद्यालयमै मन्त्री नेम्वाङले कक्षा १० सम्म अध्ययन गरेका थिए । उक्त विद्यालयमा रु ३५ लाख लागतमा २४ वटा कम्प्युटरसहित आधुनिक सूचना सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको हो । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक सहयोग पु¥याएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले बताए । जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको विद्यालयमा गत शैक्षिक सत्रमा १ हजार ९६१ जना विद्यार्थी अध्ययनरत छन् । मन्त्री नेम्वाङले आफ्नै पुर्खाले स्थापना गरेको तथा आफूले अध्ययन गरेको विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताए । ‘मैले यो विद्यालयको उन्नयनका लागि धेरै लगानी गर्न खोजे पनि पाइरहेको थिइन्’, मन्त्री नेम्वाङले भने, ‘यस विद्यालयलाई आधुनिक एवम् प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षास्थल बनाई जिल्लाका सबै विद्यालयलाई यसकै बाटोमा अघि बढाउन तीनै तहका सरकार लागिपर्नु पर्ने आवश्यकता छ ।’ विद्यालय संस्थापक प्रसादसिं नेम्वाङका नातिसमेत रहेका फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले उक्त विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि उपयुक्त समय रहेको बताए ।