मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकले दिए राजीनामा

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन् । उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्ररूपमा परीक्षा दिएका परीक्षार्थीले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताइन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताए । ‘विद्यार्थीहरुले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानबिन गर्नैपर्छ ।’ स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आइतबारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजीनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ । रासस

वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत प्रभु बैंकले विद्यार्थीलाई दियो बैंकिङ्ग ज्ञान

काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ्ग ज्ञान दिएको छ । बैंकले फागुन २३ गतेका दिन सिन्धुपाल्चोकका विद्यार्थीलाई उक्त बैंकिङ्ग साक्षरता तथा ज्ञान दिएको हो । यससँगै सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो । स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्नने गरी प्रकाश पारेका थिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस इस्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीमा

काठमाडाैं । भारत अध्ययनार्थ जान चाहने विधार्थीहरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित, व्यापारी केन्द्र र अनुकूल वातावरणका कारणले बस्न लायक उत्कृष्ट शहरको रुपमा चिनिएको छ। यसै विषयमा केन्द्रित रहेर इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले गुजरातमा अवस्थित स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्ने भएको छ । यसै साता स्वणिर्म युनिभर्सिटीका भाइस प्रिसीडेन्ट आदी ॠषभ जैन, हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्की र इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर साकार साहीले संयुक्त रूपमा एक कार्यक्रमभीच स्वणिर्म युनिभर्सिटीको नेपाल अफिस समुद्घाटन गरेका थिए। कार्यक्रममा स्वणिर्म युनिभर्सिटीका हेड अफ एड्मिसनस् अर्पित कुमार सोलन्कीले युनिभर्सिटीले विश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी युनिभर्सिटीले स्टार्टअप र इनोभेसनमा गरिएको उपलब्धिका बारेमा जानकारी दिए । यस्तै इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका निर्देशक साकार साहीले नेपालमा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इ-स्पट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले स्वणिर्म युनिभर्सिटीलाई नेपालमा प्रवर्धन गर्न पाउँदा निकै खुशी लागेको बताए ।