डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन । अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । प्रदर्शनमा सहभागि युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन । केसीको स्वास प्रस्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पुरा गर्न माग गरिएको हो । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ । माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।
मिलाप फाउण्डेसनद्वारा काभ्रेकाे १४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । मिलाप फाउण्डेसनले स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । फाउण्डेशन स्कुलका १४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरेकाे थियो ।
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
दाेलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना सङ्क्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए । बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ । मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन । रासस