प्रभु बैंकद्वारा सिन्धुलीकाे भानुभक्त माविलाई १० वटा कम्प्युटर सहयाेग

काठमाडाैं । प्रभु बैंकले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर सहयाेग गराएको छ । बैंकले विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने उदेश्यले सहयाेग गरिएकाे जनाएकाे छ । विद्यालयमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा यस क्रियाकलापलाई निरन्तरता दिइरहने जनाएकाे छ ।

कान्ति भैरव मावि पुनःनिर्माणका लागि शिलान्यास, २६ करोडमा बन्ने

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या खम्पाले बिहीबार संयुक्तरूपमा विद्यालय भवन शिलान्यास गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा पुनःनिर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनःनिर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । मूल्यअभिवृद्धि करबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ मा ठेक्का लागेको कार्यक्रममा जानकारी गराइएको छ । शिलान्यासपछि मन्तव्य राख्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकामा खुशी व्यक्त गर्नुहुँदै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे । “सामुदायिक विद्यालयमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर वृद्धि मात्र होइन, शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ”, उनले भने । भारतीय राजदूतावासका मिसन उपप्रमुख खम्पाले विद्यालय पुनःनिर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनःनिर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखेका थिए । फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनःनिर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि पाँचवटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकतानुसार प्रयोग गर्न मिल्ने थप आठ कोठा रहनेछन् । यसैगरी चमेनागृह, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्ञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् । विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब ९०० विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । शिलान्यास आज भए पनि गत माघ २६ गतेदेखि नै निर्माण शुरु भएको छ । भूकम्पपछि शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान आयोजनाअन्तर्गत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ । भारत सरकारले विद्यालय पुनःनिर्माणमा पाँच करोड अमेरिकी डलर (बिहीबारको विनिमयदर ११६ अनुसार करिब पाँच अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचना निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनःनिर्माणको विभिन्न चरणमा छन् । कान्ति भैरवसहित थप छ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूँजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन् । यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए । आगामी दिनमा एच.आई.भी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एच.आई.भी. संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले सफलता एच.आई.भी. सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका छन् । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एच.आई.भी. शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए ।