त्रिविद्वारा पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु

पाेखरा । त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ शुरु गरिएको हो । सिभिल इञ्जिीनियरिङमा स्नातक पास भई इञ्जिीनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन शुरु गरिएको क्याम्पस प्रमुख इञ्जिीनियर रामप्रसाद पौडेलले बताए । उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन शुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा शुरु हुनेछ । पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र सोका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इञ्जिीनियरिको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी दिए । उनले भने, “रक एण्ड टनेल हालको अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा शुरु गरेका हौँ, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौँ ।” क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एशोसिएशन, हाइड्रो ल्याब, एनइए इञ्जिीनियरिङलगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । सो कार्यक्रमको कोर्ष सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ । सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले हाल विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ । “नेपाली विषयविज्ञ जो हाल विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ त्यसका साथै नेपाल टनेलिङ एशोसिएशनमा २०० जति विज्ञ आबद्ध हुनहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौँ ।” उनले भने । यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ इञ्जिीनियरिङको पाठ्यक्रम तयार गरेको थियो । सो पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ शुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिए । उनले भने, “प्रोग्रामका हिसाबले रक एण्ड टनेल देशमै पहिलो हो, हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको मुलुकमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि पूर्वाधारका काममा सुरुङ निर्माण अपरिहार्य छ । गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो देखाएको छ ।” यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इञ्जिीनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न रु १० लाख बजेट उपलब्ध गराएको सरकारले चालू वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरेको छ । इञ्जिीनियरिङ अध्ययन संस्थानका डीन डा शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्ष शुरु गर्दै जाने बताए । उनले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिए । चट्टान तथा सुरुङ इञ्जिीनियरिङको जनशक्तिको अहिले देशभित्र माग उच्च रहेको बताउँदै उनले भने, “सुरुङमार्ग निर्माणका कतिपय योजना रहे पनि जनशक्ति अभावमा ती योजना आशातीतरुपमा अघि बढ्न सकेका छैनन्, देशभित्रै दक्ष जनशक्तिको उत्पादनमा यहीको शिक्षाले सघाउने छ ।” पश्चिमाञ्चल क्याम्पसमा सो कोर्षको अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापनलगायतमा सो विश्वविद्यालयले सघाएको थियो ।एनटीएनयूका प्रोफेसर डा कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इञ्जिीनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताए । नेपाल टनेलिङ एशोसिएशनका अध्यक्ष डा ज्ञानेन्द्रलाल श्रेष्ठले कोर्षको सफलताका लागि एशोसिएशनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी पश्चिमाञ्चल क्याम्पसले यसै वर्षदेखि स्नातकोत्तर तहमा ‘जिइयोम्याट्रिक्स इञ्जिीनियरिङ’को पनि पढाइ शुरु गरेको छ । काठमाडौँ विश्वविद्यालय पछि पोखरामा यस विषयको पढाइ शुरु भएको हो । जिइयो म्याट्रिक्समा स्नातक विसं २०६९ बाट शुरु भएकामा अहिले स्नातकोत्तरको समेत अध्यापन शुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताए । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् । रासस

स्कूल भर्ना नभई घरमै पढेका विद्यार्थीले अब हुने जाँच दिन पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले नै गत चैत ६ गतेदेखि बन्द गरेका विद्यालयहरु अझै खुलेका छैनन् । सरकारले विद्यालय तहको परीक्षा सम्बन्धित विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा तय गर्न सक्ने नीतिगत व्यवस्था गर्यो । तर, कोभिड १९ संक्रमण सन्त्रास अझै कायम रहेकोले विद्यालय खुलेका छैनन् । संघीय सरकारले महामारीको यो समयमा दूरशिक्षा (खासगरी इन्टरनेट माध्यमबाट अनलाइन, टेलिभिजन वा रेडियो) बाट पठन पाठन गर्न गराउन सक्ने अर्काे नीतिगत व्यवस्था पनि गरेको छ । र, घरमा बसेका बालबालिकालाई सम्भव भएमा अभिभावकले नै अध्ययन गराउन पनि संघीय सरकारले अनुरोध गरेको छ । निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेर त्यसमा सहभागी भएका विद्यार्थीलाई मात्रै परीक्षामा सामेल गराउने भनेका छन् । इन्टरनेटको पहुच नपुगेको स्थानका विद्यार्थीले टेलिभिजन, रेडियोबाट वा अभिभावकले अध्यापन गराउँदा हुने संघीय सरकारको भनाइ छ । त्यसो भए कुनै विद्यालयमा पनि भर्ना नभएका, निजी विद्यालयहरुले भने झै अनलाइन कक्षा नलिएका र विद्यालयको सम्पर्कमा नरही अभिभावकले नै अध्यापन गराएका विद्यार्थीले आगामी परीक्षामा सहभागी हुन पाउँछन् ? कि कुनै न कुनै विद्यालयमा भर्ना भएकाले मात्रै परीक्षामा सहभागी हुन पाउने व्यवस्था भएको छ ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा कुनै पनि विद्यालयको सम्पर्कमा नरहेका वा शिक्षकले नपढाएका विद्यार्थी आगामी परीक्षामा सहभागी हुन नपाउने बताउँछन् । आगामी परीक्षामा सहभागी हुन विद्यार्थीले कुनै न कुनै विद्यालयमा भर्ना भएकै हुनुपर्ने उनको भनाइ छ । ‘विद्यालयमा पठनपाठन रोकिएको हो, विद्यालयका कार्यालय खुलेका छन्, असोज १ गतेदेखि विद्यार्थी भर्ना खुल्ला हुदैछ, नजिकको, आफूलाई पायक पर्ने, आफ्नो छनोटको वा आफूलाई सहज लाग्ने विद्यालयमा विद्यार्थी भर्ना गर्दा हुन्छ, कुनै पनि विद्यालयमा भर्ना भएर शिक्षकले नपढाएका विद्यार्थी आगामी परीक्षामा भाग लिन पाउँदैनन्,’ प्रवक्ता शर्माले भने । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक डा. तुलसी थपलिया संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ २५ गते जारी गरेको ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका’ले ‘होम स्कूलिङ’को बाटो खोलेको बताउँछन् । होम स्कूलिङ भनेको विद्यालयमा सहभागी हुन नसकेका, नपाएका वा नचाहेका विद्यार्थीलाई अभिभावकले तोकिएको मापदण्ड अनुसार घरमै पढाउने विधि हो । थपलियाका अनुसार अनलाइन मार्फत जोडिन नसकेका विद्यार्थीलाई घरमै आमा, बुवा, दाइ, दिदीमध्ये कसैलाई पनि सिकाईको जिम्मा दिएर अध्ययन गराउन सकिन्छ । तर, यसको लागि पनि विद्यालयमा भर्ना हुन भने आवश्यक हुन्छ । यद्यपि, घरमै पढाएका विद्यार्थीको सबै अनुगमन हुने र पछि गएर परीक्षामा पनि सामेल हुन पाउने थपलियाले बताए । तर, यस्तो व्यवस्था विद्यालय बन्द रहेको अवस्थाको लागि मात्रै हो । त्यसो भए गत वर्ष कुनै कक्षा पास गरेका विद्यार्थीले घरमै अध्ययन गरेर गत वर्ष पास भएको कक्षाको प्रमाणपत्र पेश गरेको आधारमा सोभन्दा माथिल्लो कक्षाको परीक्षामा भाग लिन नपाउने हुन् त ? शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पनि विद्यालय तहको परीक्षामा सहभागी हुनको लागि सम्बन्धित विद्यार्थी विद्यालयको सम्पर्कमा हुनु आवश्यक देख्छन् । ‘कुनै विद्यालयमा भर्ना भएको वा विद्यालयको सम्पर्कमा विद्यार्थी हुनु भनेको सो विद्यार्थी विद्यालय शिक्षाबाट बाहिर छैन भन्ने यकिन गर्नु पनि हो, त्यसैले विद्यालयमा भर्ना हुनै पर्दैन, विद्यालयको सम्पर्कमा नै नभएका विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउनु पर्छ भन्ने तर्क त्यति उचित होइन, तर भर्नाको नाममा पैसा असुल्ने र पैसा तिरेका विद्यार्थीलाई मात्रै परीक्षामा सहभागी गराउँछौं भन्ने तर्क भने गलत छ,’ प्राडा कोइरालाले भने । तर, काठमाडौं शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेल विद्यार्थी र विद्यालयबीच समन्वय भएको अवस्थामा घरमै बसेर पढेका विद्यार्थी पछि गएर परीक्षामा सामेल हुनसक्ने बताउँछन् । खरेलले भनेको विद्यार्थी र विद्यालयबीचको समन्वयको अर्थ के हो ? कुनै पनि विद्यालयमा भर्ना नभएका विद्यार्थीले परीक्षा दिन पाउने कि नपाउने ? उनले पनि गोलमटोल जवाफ दिए । त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेल भने कतै भर्ना नभएका विद्यार्थी पनि विद्यालयहरुले लिने परीक्षमा भाग लिन पाउने व्यवस्था मिलाउन सके राम्रो हुने बताउँछन् । ‘हामी अहिलेसम्म पनि स्थापित परम्पराको जगमा बसेर कुरा गरिरहेका छौं, तर विद्यालयमा भर्ना नभई घरमै अध्ययन गरेका विद्यार्थीलाई पनि विद्यालयको परीक्षा प्रणालीमा आवद्ध हुन सक्ने व्यवस्था मिलाउनु निकै राम्रो कुरा हो, किनभने अहिले धेरै अभिभावकहरु शिक्षित छन्, कसैको घरमा शिक्षक, कसैको घरका प्रिन्सिपल छन्, अझै महामारीको यस्तो अवस्थामा शैक्षिक संस्थाहरु भौतिक रुपमा बन्द रहँदा यस्ता शिक्षित वर्गले आफ्ना बालबालिकाहरुलाई घरमै पढाएर तयार गरी विद्यालयले संचालन गरेको परीक्षामा सामेल गराएर सर्टिफिकेट दिए निकै राम्रो सुरुवात हुनेछ, यसले आर्थिक अभावका कारण अनलाइन कक्षामा पहुँच हुन नसकेकाहरुको लागि पनि एउटा बाटो खोलिदिन्छ,’ उनले भने । यसरी पढ्ने व्यवस्था मिल्ने हो भने कुनै पनि अवस्थामा पढाई प्रभावित नहुने, अभिभावकले विद्यालयलाई दिनुपर्ने परीक्षा शुल्क बाहेक सबै शुल्क मिनाहा हुने, समयको पनि निकै बचत हुने र छोराछोरीलाई धेरै खर्च गरेर विद्यालय पठाउनुपर्ने एउटा भार पनि कम भएर जाने कँडेलले बताए । तर, घरमै पढाउने परिपाटीले विद्यार्थीलाई समाजबाट केही टाढा लैजाने जोखिम भने कँडेलले देखेका छन् । ‘विद्यालयमा विभिन्न जिल्लाबाट आएका साथीभाइहरुबाट उसले जति फरक कुरा सिक्न पाउँछ, त्यति उसले घरमा बसेर सिक्न पाउँदैन, त्यस्तै, विभिन्न तहका परीक्षा पास गरेर आएका शिक्षकबाट सिक्ने कुराहरुमा पनि धेरै फरक पर्छ,’ उनले थपे । ज्ञानोदय स्कुलका प्रधानाध्यापक नातिकाजी महर्जन यसरी अनलाइन कक्षामा पहुँच नभएका विद्यार्थीले विद्यालयसँग नियमित रुपमा सम्पर्कमा रहन आवश्यक रहेको र यसमा विद्यालयले सक्नेसम्म सहयोग गर्नुपर्ने बताउँछन् । ‘गाउँमा छु, लकडाउनमा छु भन्दै विद्यार्थीले हेलचेक्र्याई गरेको अवस्थामा विद्यालयले कुनै पनि प्रकारको सहयोग गर्न सक्दैन,’ उनले भने । रुढीबादी सोचले ग्रसित संयन्त्र कोरोना संक्रमणले विश्व प्रभावित भइरहेको अवस्थामा नेपाल पनि अछुतो छैन । अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि कोरोना महामारीको कारण प्रभावित भएको छ । सिक्ने एउटा नियमित प्रकृया हो । तर, हामीलाई सानैबाट सिक्ने स्थान विद्यालय र कलेज हो भनेर सिकाइएको छ, जसले गर्दा पनि पछिल्लो ६ महिनादेखि शैक्षिक संस्थाहरु भौतिक रुपमा बन्द रहँदा विद्यार्थी तथा अभिभावक र शिक्षकलाई तनाव थपिएको छ । अधिकांश निजी र केही राम्रा सरकारी विद्यालयहरुले शुल्क लिएर अनलाइन मार्फत कक्षा संचालन गरिरहेका छन् । तर, अझै पनि अधिकांश विद्यार्थी अनलाइन कक्षाको पहुँचमा पुग्न सकेका छैनन् । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच पुगेको एक अध्ययनले देखाएको छ । वाग्मती प्रदेश सरकारको प्रदेश शिक्षा निर्देशनालयले गरेको अनुगमन र विश्लेषणमा सो प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र इन्टरनेट प्रविधिमा पहुँच रहेको देखिएको हो । यति मात्र होइन, पहुँच भएकाहरु पनि लकडाउनको कारण आफ्ना गाउँमा भएकाले पनि अनलाइन कक्षामा सामेल हुन सकेका छैनन् । कतिपय अभिभावकले जागिर र आम्दानी गुमाएका कारण पनि उनीहरुले आफ्ना बालबालिकाहरुलाई शुल्क तिरेर अनलाइन कक्षामा सामेल गराउन सक्ने अवस्थामा छैनन् । यो महामारीको अवस्थामा नयाँ सोचसहितको अवधारणा अघि बढाउन रुढीबादी सोंच नै बाधक देखिएको छ । सरकारी अधिकारीले विद्यालयमा भर्ना हुनै पर्छ भनेर गरेको तर्क कति विद्यार्थी विद्यालयको पहुँचमा छन् भन्ने तथ्यांक लिनको लागि मात्रै हो । तर, भर्ना भएको आधारमा लिने तथ्यांकमा केही परिवर्तन गरी परीक्षा दिएको आधारमा तथ्यांक लिँदा फरक पर्दैन । धेरै वर्षअघिदेखि त्रिभुवन विश्वविद्यालयले परीक्षा फर्म भरेको आधारमा परीक्षा लिने गरेको अभुवन नेपालमै छ । यसरी परीक्षा दिन कुनै कलेजमा भर्ना भएर पढेको हुनुपर्ने वाध्यात्मक अवस्था थिएन । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै अहिले खुल्ला विश्वविद्यालयलाई अनुमति दिएको छ । खुल्ला विश्वविद्यालय जस्तै गरी खुल्ला विद्यालय किन नहुने ? अहिले अभिभावक सरकारी अधिकारीलाई यस्तो प्रश्न सोध्न खोजिरहेका छन् ।

अनलाइन कक्षामा विद्यार्थीलाई २५ प्रतिशत शुल्क घटाउँछौं- रोहित पौडेल

रोहित पौडेल, भाइस-प्रिन्सिपल- गोल्डेन गेट इन्टरनेशलन कलेज कोरोना महामारी र लकडाउनकोबीचमा नै निजी क्षेत्रका स्कूल कलेजले भर्चुअल कक्षा सञ्चालनको लागि प्रयास थाले । तर अनलाईन कक्षलाई मान्यता नदिने, अनलाइन कक्षा पढाएर शुल्क लिन नपाउने सरकारको प्रतिगामी निर्णयले केही महिना भर्चुअल कक्षाहरु पनि दुविधामा, अन्यौलमा रहे । शैक्षिक क्यालेन्डर पुरै अस्तव्यस्त भएपछि सरकारले अनलाइन कक्षालाई मान्यता दिएको छ । शुल्क लिन, परीक्षा लिन सक्ने बताएको छ । कोरोना महामारी, सरकारको ढुलमुले नीति, अनिश्चिता र सरकारी शिक्षण संस्थाहरु पूर्ण बन्द भैराख्दा पनि निजी क्षेत्रका स्कूल कलेजको केही न केही शैक्षिक गतिविधि चलाईरहेका छन् । यसभित्रका चुनौति के के छन् ? कलेज तहमा अनलाइन कक्षाको प्रभावकारीता कस्तो छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत भई गोल्डेनगेट कलेजका भाइस प्रिन्सिपल रोहित बहादुर पौडेलसँग गरिएको विकास वहस । यस वर्षको शैक्षिक क्यालेण्डर कति प्रभावित भएका छन् ? कलेज तहमा कतै आंशिक रुपमा प्रभावित भएका छन् भने कतै पूर्णरुपमा प्रभावित भएका छन् । विश्वविद्यालयहरुमा तीन किसिमका शैक्षिक क्यालेण्डर छन्, वार्षिक, सेमेस्टर र ट्राइमेस्टर । कुनै सेमेस्टर वा ट्राइमेस्टरको परीक्षा हुन नसके पनि हामीले अर्को सेमेस्टरको पढाई शुरु गरेका छौं । त्यस्तोमा आंशिक प्रभाव परेको छ । कुनैको परीक्षा हुन नसक्दा अर्को कक्षा सञ्चालन गर्न सकिएको छैन, उनीहरुको शैक्षिक क्यालेण्डर पूर्ण रुपमा प्रभावित भएको छ । खासगरी वार्षिक परीक्षा हुने विद्यार्थीहरु बढी प्रभावित भएका छन् । प्लस टु, व्याचलर डिग्री वा मास्टर डिग्रीमा पढिरहेका विद्यार्थी मध्ये कसलाई कति प्रभाव परेको छ ? प्लसटू कक्षाको साउन १७ गतेबाट शुरु गर्ने सरकारी क्यालेण्डर हो । हामीले साउन १० बाट शुरु गथ्र्यौ । हामी भदौको अन्तिम सातामा आइसक्यौ । सरकारले भखर्रै मात्र अनलाईन कक्षालाई मान्यता दिएको छ । हामीलाई विश्वास छ, प्लस टूको पढाईमा परिपूर्ति गर्न सकिन्छ । डिप्लोमा कोर्षमा वार्षिक र अर्धबार्षिक दुबै क्यालेण्डर छन् । वार्षिक परीक्षा सञ्चालन मंसिर पछाडि गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । वार्षिक परीक्षा हुने विषयहरु अहिले धेरै नै प्रभावित भएका छन् । सेमेस्टर (अर्धवार्षिक) परीक्षा हुने विषयहरुमा लकडाउन हुने वखत कुनै परीक्षा हुने अवस्था थियो, कसैको भइसकेको थियो, कसैको अलिपछि हुने वाला थियो । परीक्षा सकिएका सेमेस्टरका विद्यार्थीले नयाँ सेमेस्टरमा पढ्न पाएका छन् । परीक्षा हुन नसकेको विद्यार्थीहरुलाई पनि चलिरहेको सेमेस्टर सिध्याएर नयाँ सेमेस्टरमा पढाई चलाएका छौं । अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीहरुलाई अगाडि बढ्न कठिन भएको छ । मास्टर लेवलको सबै विषय सेमेस्टर सिस्टममा चलेका छन् । उनीहरुको पढाई पनि व्याचलरका सेमेस्टरका विद्यार्थीको जस्तै तरिकाले अगाडि बढेको छ । अहिले सबै तहका कक्षाहरु अनलाईनबाट नै चलिरहेका छन् । क्याम्पस तहमा अनलाईन कक्षा सञ्चालनको चुनौति के के छन् ? गोल्डेन गेट कलेज वा निजी क्षेत्रले चलाएको सुविधा सम्पन्न कुनै एक स्कूल तथा कलेजलाई हेरेर यो प्रश्नको जवाफ खोजिनुहुन्न । समग्रमा सबै नेपाली विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छैन । इन्टरनेट सेवा भएकाको घरमा कप्यूटर, ल्यापटप वा स्मार्ट फोन नहुनसक्छ । एउटाको घरमा ४ जनाको परिवार होलान्, दुई जनासँग मोवाइल होला वा एउटा ल्यापटप होला । चारै जनालाई त पुगेन । यतिबेला विद्यार्थी मात्र होइन, उसको अभिभावकले समेत अनलाइनबाट काम गर्नु परेको होला । सबै जनालाई घर वा डेरामा बसेर पढ्न वा काम गर्न उचित वातावरण नहोला । गोल्डेनगेट कलेजका सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छ कि छैन ? मास्टरलेवल र डिप्लोमा लेवलका १०० प्रतिशत विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा छ । तर प्लस टूका विद्यार्थीमा केही समस्या छ । यस कलेजमा ७२ जिल्लाका विद्यार्थी पढ्छन् । ग्रामिण क्षेत्रका विद्यार्थीहरु पनि छन् । उनीहरु मध्ये केहीले इन्टरनेट सेवा नभएर समस्या भोग्नु परेको छ । यस्तो समस्या १० देखि १५ प्रतिशत विद्यार्थीमा छ । अनलाइन कक्षमा विद्यार्थीको सहभागिता र पठनपाठनको प्रभावकारीता कस्तो छ ? हामीले सञ्चालन गरेको अनलाईन कक्षा यूरोप वा अमेरिकामा जस्तो पूर्वतयारीका साथ सञ्चालन भएको होइन । यो आकस्मिक सुरुवात हो । त्यसैले हामीले पहिला अभिभावकसँग छलफल गर्यौ, त्यसपछि विद्यार्थीसँग छलफल गर्यौ । उहाँहरुलाई अनलाईन कक्षा पढ्न पढाउन उत्प्रेरित गर्यौं । अभिभावकसँग मैले ५ पटकसम्म मिटिङ गरे । बेलायत, यूरोप, अमेरिका, अष्ट्रेलियामा भईरहेको अनलाईन कक्षाको बारेमा जानकारी दिए । ती देशमा कोभिडका कारण कलेज स्तरको पढाई नरोकिएको जानकारी गराए । हामीले मात्र हाम्रा विद्यार्थीलाई कोभिड भनेर नपढाउने हो भने हाम्रा विद्यार्थी पछाडि पर्ने विषयमा सबैको ध्यानाकर्षण गराए । अहिले अनलाईन कक्षमा डिप्लोमा लेवलका विद्यार्थी ९० प्रतिशत सहभागिता छ भने मास्टर डिग्री लेवलमा लगभग १०० प्रतिशत विद्यार्थीको सहभागिता छ । उनीहरुको पढाई पनि राम्रो छ । प्लस टूमा भने केही समस्या छ । मैले पोखरा विश्वविद्यालयको एमबीए र त्रिभुवन विश्द्याविद्यालयको एमबीएसका विद्यार्थीहरुलाई पढाउँछु । ३५ जनाको कक्षामा २९÷३० जनाको सहभागित सधैं नै हुन्छ । कक्षा कोठामा विद्यार्थी सहभागि भएर पढाइ हुँदा पनि विद्यार्थीको सहभागिता यस्तै नै हुन्थ्यो । डिप्लोमा तहमा विएचएम पढाउँछु, त्यसमा पनि विद्यार्थीको सहभागिता १०० प्रतिशत हुन्छ । तर विविएसमा विद्यार्थीको सहभागिता कम छ । कुन विषय हो, कुन भूगोलका विद्यार्थी पढ्छन् त्यसले पनि विद्यार्थीको सहभागिता निर्धारण गर्छ । कलेजमा हार्ड साइन्सदेखि सोसियल साइन्ससम्मका सबै विषय पढाउनु पर्ने हुन्छ । कुन विषय पढाउन र बुझाउन सहज छ, कुनमा कठिनाई छ ? गोल्डेनगेट कलेजले पहिलादेखि नै विश्वविद्यालयमा जाने सोचका साथ शैक्षिक अभ्यासहरु गर्दै आएको छ । हामीले अनलाईन क्लासको लागि पनि त्यहि अनुसार तयारी गर्दै आएका थियौं । व्यवस्थापन वा मानविकी संकायका विषयहरुमा पढाइ, बुझाइ राम्रो छ । लेखा र तथ्याङ्कशास्त्रको पढाईमा शुरुमा केही कठिनाई भयो । तर हामीले प्रिजेन्टेशन तयार गरेर, स्क्रीन सेयरिङ गरेर त्यसलाई सजिलो बनाउँदै गएका छौं । विज्ञानमा सैद्धान्तिक पढाई राम्रो छ । तर प्राक्टिलक गर्न ल्याव नै चहिने भएकोले कठिनाई भएको छ । त्यसको लागि पनि हामीले निश्चित मापदण्ड, कार्यविधि बनाएर प्रोयोगशाला कक्षा सञ्चालन गर्दैछौं । भर्चुअल कक्षा सञ्चालन गर्दा कुन एप वा प्लेटफर्म प्रयोग गर्नुभएको छ ? जुम । यसमा धेरै फिचर छन् र प्रभावकारी पनि देखिएको छ । अनलाइनबाट परीक्षा सञ्चालन कसरी गर्नुहुन्छ ? यो मूल्याङ्कनको पाटो भयो । पढाईसँगै मूल्याङ्कन पनि नियमति हुनैपर्छ । हामीले ओपन बुक एक्जाम पनि गर्यौ । हामीले एमसीक्यू टाइपका क्वइसनबाट पनि परीक्षा लिएका छौं । कुनै विषयमा ओपन बुक एक्जाममा साथै केस स्टडी गराएका छौं । सबैभन्दा बढी जोड ओपन बुक एक्जामलाई दिएका छौं । विद्यार्थीलाई कसरी होमवर्क गराउनुहुन्छ ? होमवर्क जाँच कसरी गर्नुभएको छ ? हामीले एउटा मोड्यूल सफ्टवेयर प्रयोग गरेका छौं । त्यसमा विद्यार्थीलाई होमअर्क दिने, लिने, जाँच गर्ने सबै काम गरेका छौं । होमवर्क अभ्यास टाइप गरेर हुन्छ कि कापीमा लेखेर फोटो खिचि पठाउने ? हाम्रो टाइप स्पीड कमजोर छ । मेरो पनि टाइप फास्ट छैन । साथीहरुको समस्या पनि त्यस्तै छ । म नढाँटी भन्छु हामी टिचरहरु पनि धेरै डिजिटल फ्रेण्ड्ली छैनौ । लकडाउनपछि म आफैले टाइप गरेर सबै काम गर्न प्रयास गरेको हुँ । तर एकैचोटी इम्प्रुभ भएन । विद्यार्थी, शिक्षक सबैले कापीमा लेख्ने हो, त्यसलाई फोटो खिचेर इमेल गर्ने हो । हामीले मोड्यूलबाट पठाउँछौं, चेक जाँच पनि त्यहि हुन्छ । तपाईहरु भर्चुअल क्लास चलाउने तर कलम र कापी छोड्न नसक्ने हो, लेखेर, फोटो खिचेर, स्क्यान गरेर इमेल गर्नु भनेको ज्यादै अव्यवहारिक प्रणाली भएन ? व्यवहारिक भएन । अहिले मुखले बोलेर ल्यापटपमा टाइप हुने सिस्टम पनि छ । हामीले त्यस्तो अभ्यास पनि गरिरहेका छौं । तर समस्या धेरै हुँदोरहेछ । म मेरै घरको उदाहरण दिन्छु । दुईटा छोरी पढ्छन् । मिसेस पनि स्कूल पढाउँछिन्, उनलाई स्कूलको तयारी गर्नुपर्यो । मैले कलेजको तयारी गर्नुपर्यो । एक त हामीलाई प्रयाप्त ग्याजेट भएन । दोस्रो हामीलाई अभ्यास गर्ने समय पनि भएन । लकडाउन पछि हामी एकाएक अनलाईन क्लास भनेर दौडियौं । म एक जना मात्र अनलाईन फ्रेण्डली भएर पनि हुँदोरहेन छ । सबै जना अनलाईन फ्रेण्डली हुनुपर्यो । गोल्डेन गेटले त छिटै तयारी गर्यो । हामीले छिटै अनलाइन कक्षाको लागि पूर्वाधार तयार गर्यौ । तर यो लेवलको कलेज कम छन् नि । तपाईको कलेजको नाम नै गोल्डेन गेट छ । तपाईहरु आफ्नो कलेज राम्रो छ पनि भन्दै हुनुहुन्छ । तपाईको कलेजबाट डिप्लोमा वा मास्टर डिग्री हासिल गरेका विद्यार्थीले जुन ठाउँमा जागिर खान जान्छ, त्यहाँ त कलम र कापी प्रयोग नै हुँदैन । सबै काम कम्प्यूटरबाट वा इलेक्ट्रिक डिभाइसको माध्यमबाट हुन्छ । लकडाउन पूर्व चेकमा सहि गर्न कलम प्रयोग हुन्थ्यो भने अहिले त्यो पनि हुन छोडिसक्यो । तपाईहरुले शिकाइ औजारमा कलम र कापी सट्टा इलेक्ट्रिक डिभाई किन प्रयोग नगर्ने ? अरु कलेजको तुलनामा हामी इन्जिनियरिङ र आइटीमा धेरै अगाडि छौं । हामीसँग १५/२० जना इन्जियिर हुनुहुन्छ । हाम्रो आईटी डिपार्टमेन्ट नै थियो । आफ्नै मोड्यूलहरु विकास गरेका छौं । विद्यार्थीले एप्लिकेशन समिटदेखि फि पेमेन्टसम्मका सबै काम अनलाइनबाटै गर्न सक्ने व्यवस्था गरेका छौं । पढाई पनि डिजिटल्ली शुरु भइसक्यो । फेरि म तपाईलाई मेरो अनुभव सुनाउँछु । अमेरिकाबाट फर्किएका एक इन्जिनियरलाई मैले एमबीए पढाएको थिएँ । फाइनान्सियल एनालाइसिस् र रिपोटिङ मैले पढाउने विषय हो । उनलाई कापीमा लेख्न आउँदो रहेनछ । तर हामीकहाँ लेख्नैपर्छ । आजको दिनमा कलेज सकेर कुनै ठूलो अफिसमा जागिर खान गयो भने लेख्न नआउनेले जागिर पाउँछ तर टाइप गर्न नआउनेले जागिर पाउँदैन । यो परिवेशलाई बुझेर तपाईहरु किन विद्यार्थीलाई अपग्रेड गर्नुहुन्न ? म प्रि स्कूलदेखि मास्टर लेवलका इएमबीए सम्मका विद्यार्थीलाई पढाउँछु र व्यवस्थापनको काम पनि गर्छु । म प्रि–प्राइमरी स्कूलमा पढ्ने विद्यार्थीको कुरा गर्छु जहाँ विद्यार्थीले स्कूल देखेको छैन, टिचरलाई भेटेको छैन, अनलाइनबाट डिजिटली पढिरहेको छ । मैले हार्डवर्ड यूनिभर्सिटीको अध्ययन गरेर हुँबहुँ त्यो स्कूलमा लागू गरेको छु । मैले त्यो गरे भन्दैमा सारा नेपालीले त्यहि गर्नुपर्छ वा सबै स्कूलमा त्यहि हुनुपर्छ भन्ने छैन । हामीले अपग्रेड गरेका छौं । यसमा हामी अब्बल छौं । म तपाईलाई हाम्रो कलेज भिजिटको लागि निम्ता गर्छु । म प्रि स्कूलदेखि मास्टर लेवलका इएमबीए सम्मका विद्यार्थीलाई पढाउँछु र व्यवस्थापनको काम पनि गर्छु । म प्रि–प्राइमरी स्कूलमा पढ्ने विद्यार्थीको कुरा गर्छु जहाँ विद्यार्थीले स्कूल देखेको छैन, टिचरलाई भेटेको छैन, अनलाइनबाट डिजिटली पढिरहेको छ । मैले हार्डवर्ड यूनिभर्सिटीको अध्ययन गरेर हुँबहुँ त्यो स्कूलमा लागू गरेको छु । मैले त्यो गरे भन्दैमा सारा नेपालीले त्यहि गर्नुपर्छ वा सबै स्कूलमा त्यहि हुनुपर्छ भन्ने छैन । नेपालका कति प्रतिशत विद्यार्थीले यस्तो शिक्षा लिन सक्छन् ? म पनि गाउँको सरकारी स्कूल पढेर आएको विद्यार्थी हुँ । मैले पढेको स्कूल र मैले स्थापना गरेको स्कूलमा धेरै परिवर्तन आएको छ । सबै क्षेत्रमा एकै पटक धेरै परिवर्तन हुन सक्दैन । भर्चुअल शिक्षाको लागत पक्कै पनि कम होला । गोल्डेन गेट कलेजले विद्यार्थीको शुल्क घटायो ? म व्यवस्थापनको विद्यार्थी भएकाले पनि निजी क्षेत्रका संस्थाको आर्थिक भारलाई राम्ररी बुझेको छु । हरेक संस्थाको निश्चित लागत छ । कलेजहरुले बैंकको ऋण तिर्नुपर्छ । कर्मचारीको तलवमा ठूलो खर्च आउँछ । भाडा खर्च आउँछ । विजुली खर्च आउँछ । अनलाइन कक्षामा दुई प्रकारले खर्च कटाउन सकिन्छ । एक, भाडामा ठूलो बचत गर्न सकिन्छ, यदि भएको भौतिक संरचनालाई छोड्न तयार हुने हो भने । दोस्रो, पहिला भन्दा कम कर्मचारीबाट काम गर्न सकिन्छ । तर कति कर्मचारी कटौति गर्ने, त्यसले समाजमा कस्तो असर गर्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । भौतिक संरचना यथावत राख्ने हो भने अनलाइन क्लास चलाउँदा २० देखि २५ प्रतिशत शुल्क घटाउन सकिन्छ । विद्यार्थी भर्ना संख्या घटेको छ कि बढेको छ ? हामीले भुकम्प, नाकाबन्दी, कोभिड जस्ता ठूला संकट भोग्यौ । त्यसमा सबैभन्दा बढी कठिनाई कोभिड नै हो । केही स्कूल कलेजले अब विद्यार्थी नपाउन पनि सक्छन् । उनीहरुलाई चल्न गाह्रो हुनसक्छ । केही स्कूल कलेजले अथाहा विद्यार्थी पाउने सम्भावना पनि छ । तपाईहरु अथाहा विद्यार्थी पाउनेमा पार्नुहुन्छ ? हाम्रो कलेजमा ६२ जिल्लाका विद्यार्थी छन् । काठमाडौं र वाहिरका विद्यार्थी आधाआधा छन् । राजधानीको विद्यार्थी बढ्न सक्छन् । तर राजधानी बाहिरबाट आउने विद्यार्थी घट्न सक्छन् । विद्यार्थी घट्यो भने पनि त्यो थोरै संख्यामा घट्नेछ । हामीसँग विद्यार्थी बढ्ने सम्भावना छ । तर हामीसँग अथाहा विद्यार्थी लिने क्षमता छैन । फि कति घटाउनु हुन्छ त ? २५ प्रतिशत शुल्क घटाउँछौं नै । तर हामी शिक्षक, कर्मचारीलाई बेरोजगार बनाउने पक्षमा छैनौं । घरमा स्वअध्ययन गरेर विद्यार्थीले परीक्षा मात्र दिन पाउँछन् ? त्यो त नेपाल सरकारले मापदण्ड नै बनाएको छ । सरकारी मापदण्डभित्र रहेर स्वअध्ययन गर्नेले परीक्षा दिन पाउँछन् । कोभिड महामारीको बेलामा छ झन् स्वअध्ययन गर्नेलाई परीक्षाको मौका दिनैपर्छ, हामी दिन्छौं ।