प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्छु: प्रा.डा. प्रेमनारायण अर्याल

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने बताएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले सोमबार आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका हुन् । पोखरा विश्वविद्यालयमा आफूले चुनौती र सम्भावना दुवै देखेको बताउँदै चुनौती सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको बताए । आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आफू आतुर रहेको बताउँदै विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएरै अगाडि बढ्ने जानकारी दिए । कुनै पनि पूर्वाग्रहबाट आफू प्रेरित नहुने र पक्षपात नगरी विशिष्टताका आधारमा न्यायसङ्गत निर्णय लिँदै जाने कुरा पनि उनले सो क्रममा उल्लेख गरे । पोखरा विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पूरा गर्न आफू दृढ सङ्कल्पित भएको पनि जनाए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा आफूले लिएको पनि उनले उल्लेख गरे । अबको चार वर्ष पोखरा विश्वविद्यालयबाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको गुणस्तर अभिवृद्धि आफ्नो एक मात्र अभीष्ट रहेको जनाए । नियुक्तिसँगै अनेक अफवाह फैलाउन केही समूह उद्धत भएको बताउँदै अर्यालले आफूलाई असफल बनाउने सपना नदेख्न साङ्केतिक रूपमा चेतावनी दिनसमेत भ्याए । स्वागत कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए । पदाधिकारी रिक्त हुँदा थुप्रै काम बाँकी भएकाले ती काम समयमा सम्पन्न गरी विश्वविद्यालयलाई समयसापेक्ष बनाउन सबैले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधान गर्नका लागि अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई सल्लाह दिए । विश्वविद्यालयका कार्यकारी परिषद् सह प्रा. डा. अजय थापाले विश्वविद्यालयले आफ्नै विशिष्ट कार्यक्रम लागु गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्नतिर केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा पोखरा विश्वविद्यालय प्राध्यापक संघका प्रथम निर्वाचित सभापति ई. दीपकराज पौडेल, प्रजातन्त्रवादी कर्मचारी संघका सभापति तेजनारायण पराजुली, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव रविन्द्र वराल, सह प्रा. राजेश ठकुराठी, विद्यार्थी नेता गोपी तिवारी लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरूले पोखरा विश्वविद्यालयमा रहेका समस्याका बारेमा जानकारी गराउँदै ती समस्या समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेकोमा जोड दिए । साथै पदाधिकारी नियुक्तिमा निकै संयमित भई सुझबुझपूर्ण ढङ्गबाट अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई आग्रहसमेत गरे । विगतमा देखिएका कमजोरी नदोहो¥याउन सचेत गराउँदै उनीहरूले सफल कार्यकालको शुभकामनासमेत दिए । प्रजातन्त्रवादी प्राध्यापक संघ, पोखरा विश्वविद्यालयका सभापति ई. सञ्जीव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विमला भट्टले गरेकी थिइन् भने उपाध्यक्ष सन्तोष गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

रोकिएका सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं । सरकारले सबै तह तथा विषयका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै बैठकले सबै तहका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएका हुन् । बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। ‘जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ ज्ञवालीले भने। उनले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर परीक्षा गर्न सकिने बताएका हुन् । परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाईका साथ पालना गर्नु पर्ने उनकाे भनाइ छ ।

डेढ करोड लगानीमा जुम्लामा जिल्लाकै नमूना विद्यालय भवन निर्माण

जुम्ला । विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सो गाउँपालिका–५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ । युएनडिपीको ८५ लाख २६ हजार ४०० र तिला गाउँपालिकाको ५५ लाख गरी जम्मा एक करोड ५५ लाख ८४ हजार बढीको लागतमा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय पहुँच बाहिर रहेका किशोरीलाई विद्यालय पहुँचमा ल्याउन मैत्रीपूर्ण शौचालयदेखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, सफा कक्षाकोठा र डेक्स–बेन्चसहितको दुईतले आठकोठे पक्की नमूना भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए । किर्डाक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन जिल्लाकै नमूना सुविधायुक्त छ । प्राविधिक अजित थापाले भने, “अपाङ्गमैत्री शौचालय, छात्रछात्राको छुट्टाछट्टै शौचालय, किशोरीका लागि स्यानिटरी प्याड आउने मेसिन, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको बैठककक्ष, कार्यालय कोठा र १० कक्षासम्मको कक्षाकोठा छन् ।” महिनावारी भएको बेला विद्यालयमा नआउने किशोरीलाई विद्यालयको पहुँचमा ल्याउन स्यानिटरी प्याडदेखि छुटाछुटै शौचालयको व्यवस्था गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए । उनले भने, “अझ कर्णालीमा किशोरी शिक्षाको दुरवस्था छ । विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा देवता रिसाउने र विद्या नष्ट हुने डरले विद्यालय छाड्ने किशोरीको सङ्ख्या बढी छ । नमूना सुविधायुक्त भवन निर्माणले तिला–५ का सयौँ किशोरीलाई विद्यालयमा ल्याउन मद्दत गर्ने विश्वास छ ।” तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दिगो विकास लक्ष्यको अवधारणाअनुसार नै शिक्षा क्षेत्रको लगानीमा जोड दिइएको बताए । जिल्लाकै नमूना भवन निर्माण भए पनि भवनजस्तै नमूना र गुणस्तरीय शिक्षा दिने चुनौती आएकाले योजनाबद्ध ढङ्गबाट शिक्षा क्षेत्रको सुधारमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । विभिन्न योजना अनुगमनका क्रममा जुम्ला पुग्नुभएका कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले दक्ष जनशक्ति उत्पादन गर्न, स्वावलम्बन नागरिक बनाउन, शिक्षा क्षेत्र पहिलो जग भएको बताए । उनले पूर्वाधार निकै नमूनायोग्य बनेको उल्लेख गरे । अब पूर्वाधारजस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने र शैक्षिक गुणस्तर कायम गर्ने सवालमा पालिका गम्भीर हुन सुझाए । पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धतासमेत जनाए । रासस