नेपाली विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरको अवसर: ‘क्युब्स इन स्पेस नासो २०२१’ नेपालमा हुँदैं
काठमाडाैं । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे १५) सम्म सञ्चालन हुनेछ । पाँचहप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत वा विद्यालय तहको पढाइ सकेका तर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्ने उनले बताए । देशभरका विद्यार्थीको पहुँच पु¥याउने उद्देश्यले कार्यक्रमका चार हप्ता विद्यार्थाले घरबाटै सहभागी हुन सक्नेछन् । पाँचौँ हप्तामा भने काठमाडौं आउनुपर्ने सोसाइटीले जनाएको छ । ‘क्युब्स इन स्पेस’ एउटा ग्लोबल इञ्जिनीयरीङ डिजाइन प्रतिष्पर्धा हो । यसमा विद्यार्थीले आफ्ना प्रयोग ‘नासा साउन्डिङ रकेट’ तथा ‘जेरो प्रेसर साइन्टिफिक बेलुन’ मार्फत ‘स्पेस वा नियर स्पेस इन्भाइरोमेन्ट’मा पठाउन सक्नेछन् । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को कार्यालयमा पठाउनुपर्ने हुन्छ । सो कार्यक्रममा सहभागिताका लागि तयारीस्वरुप नेपालमा सञ्चालन गरिने कार्यशालामा यस वर्ष ५० विद्यार्थीलाई अवसर दिन सकिने गरी अनुमति प्राप्त भएको सोसाइटीले जनाएको छ । सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षका बारेमा सिकाइने छ । विद्यार्थीलाई प्रयोगको डिजाइन गर्न लगाइनेछ । नेपालबाट छानिएका दुई क्युब्स यस वर्ष अमेरिका पठाइनेछ । यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । विश्वरभबाट छानिएर २०१ क्युब्स अन्तरिक्षमा पठाइनेछ । कार्यक्रममार्फत हालसम्म ९०० प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच व्यवस्थापकीय सम्झौता
काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच शनिबार व्यवस्थापकीय सम्झौता भएकाे छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशकाबीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी सम्झौता भएको हाे । उक्त सम्झाैता पत्रमा मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा। डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साे सम्झौता अवधि ५ वर्षको रहने महासंघले जानकारी दिएकाे छ । यस् सम्झौतापश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि दुई संस्थाबीच विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुनेछ ।
बिएण्डसीकाे एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्था सकारात्मक: काउन्सिल
काठमाडाैं । तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमुनि गाविसमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ कलेजलाई मनसायपत्र (लेटर अफ इन्टेन्ट) विसं २०६८ माघ २४ गते प्रदान गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३०० श्ययाको बिएण्डसी अस्पताल सञ्चालनार्थ कलेजलाई विसं २०७३ साउन ९ गते स्वीकृति दिएको थियो । नेपाल मेडिकल काउन्सिलले विसं २०७३ मङ्सिर १४ र १५ गते एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मापदण्ड तथा पूर्वाधार भए÷नभएको ‘इन्पेक्सन’ गरेको थियो । ‘कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्था सकारात्मक’ भएको जानकारी काउन्सिलका तत्कालीन रजिष्ट्रार डा दिलीप शर्माद्वारा विसं २०७३ मङ्सिर १७ गते हस्ताक्षरित पत्रमा उल्लेख छ । ‘यसैका आधारमा हामीले काठमाडौँ विश्वविद्यालय समक्ष विसं २०७३ फागुन १५ गते सम्बन्धनका लागि निवेदन दिएका हौँ । विश्वविद्यालयको हालै बसेको सिनट बैठकले सम्बन्धनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सुनेको छु ।’, कार्यकारी निर्देशक प्रसाईंले भने । अहिले प्रदेश नं १ स्थानीयवासी बिएण्डसीलाई सम्बन्धन छिटो प्रदान गर्न सरकारसँग माग गरिरहेका छन् । घरआँगनमा नै आफ्ना छोराछोरीलाई डाक्टर पढाउने र गुणस्तरीय उपचार सेवासमेत पाउने आशले सो माग गरिरहेका हुन् । कलेजले सम्बन्धन पाउने बित्तिकै एक हजार ५०० स्थानीयवासीले रोजगारी र सरकारले ५० करोडभन्दा वार्षिक राजस्वसमेत पाउने कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । प्रदेश नं १ मेडिकल हव हुने पनि त्यत्तिकै सम्भावना छ । रासस