शुक्रबारसम्म देशभरका शिक्षणसंस्था बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन (अर्थात चैत २० गतेसम्म) बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो । बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकुलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए । बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।
कैलालीका मुस्लिम समुदायका छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल, विद्यालयको पोशाक छोटो हुनु एउटा कारण
टीकापुर । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत विद्यालय छ तर त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गरेकी छिन् । शकिनाको विवाह भइसकेको छ । आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने भए पनि यहाँका मुस्लिम बालिका भने ५ कक्षाभन्दा माथि पार गर्न सकेका छैनन् । किशोरावस्था प्रवेश गरेकी छोरीलाई विद्यालय पोशाक लगाउन परिवारको स्वीकृतिको अभाव हुने तथा बालविवाह गरिदिने कारणले ५ कक्षासम्म पढेका छोरीहरुले शिक्षालाई निरन्तरता दिन नसकेको बताएका छन् । समुदायले छोरीका लागि शिक्षा अनिवार्य नठानेकै कारण छोरीहरुले आँगनमै भएको विद्यालयमा समेत पढाइ पूरा नगरेको स्थानीयवासीको भनाइ छ । सानै उमेरमा बालविवाह गरेकी कुरेसा खातुनले शिक्षा आर्जन गर्ने इच्छा भएर पनि पूरा गर्न पाइन् । बालविवाह गरेकी कुरेसालाई हाल शारीरिक समस्या छ । ‘मैले सानै उमेरमा विवाह गरेका कारण शारिरीक र मानसिक समस्या भोग्नुपर्यो’, कुरेसाले भनिन्, ‘मैलेजस्तै आफ्ना छोरीले पनि यस्तो समस्या भोग्न नपरोस् भनी सम्झाउने गरेकी छु । यहाँ गरिबीका कारण छोरी पढाउनुभन्दा छिट्टै विवाह गरिदिने चलन छ ।’ घरायसी कामको बोझका कारण कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेकी जेहरा वालुम आजभोलि विद्यालय छाडेकामा पछुतो मान्छिन् । उनलाई पढ्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको विरुद्धमा जान सकिन्न । ‘हाम्रो समाजमा छोरी ठूली भए विद्यालय पोशाक सर्ट, स्कट र पाइन्ट लगाउन अप्ठ्यारो मान्ने चलन छ । त्यसैले पनि छोरीलाई अलि ठूली भए घरकै काम सिकाउने गरिन्छ’, जेहरा भन्छिन्, ‘हाम्रो चलनका कारण मजस्ता धेरै छोरीको शिक्षा पूरा हुन सक्दैन । चाहना भएका, पढाइमा अब्बल छोरी पनि घरमै थन्किन बाध्य छन् ।’ शिक्षक मोहम्मद नवी जागाले मुस्लिम समुदायका मान्यताका कारण छोरीको शिक्षामा बाधा पुगिरहेको बताइन् । ‘छोरीले छोटा लुगा लगाउन हुँदैन, विद्यालयको पोशाक छोटो पहिरन हुन्छ, छोरीले त्यो पहिरन लगाउनका लागि अनुमति पाउँदैनन्’ उनले भनिन्, ‘बन्द वातावरणमा राखिएका छोरीहरुसमेत खुल्न सकेका छैनन् । उनीहरु लजालु स्वभावका छन् । उनीहरु आफ्नै विवेक प्रयोग गरेर विद्यालयलाई निरन्तरता दिन सकिरहेका छैनन् ।’ सामाजिक अगुवा साहिदअली जागा अशिक्षा र अभिभावकको कमजोरीका कारण छोरीहरुले पढाइ छाड्ने गरेको बताए । ‘शिक्षामा छोरीको पहुँच बढाउन र बालविवाह रोक्न अभिभावक जिम्मेवार बनेको देखिँदैन’, उनले भने, ‘निगरानी गर्न र अनिवार्य छोरी पढाउनुपर्छ भन्ने खालको नीति ल्याउन जरुरी छ । जसरी सरकारले बालविवाह गर्नेलाई कारवाही गर्ने कानून ल्याएको छ, त्यसैगरी छोरी नपढाउने अभिभावकलाई पनि कारवाही गर्ने कानूनी व्यवस्था हुनुपर्छ ।’ जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको बताए । ‘पहिरन र चलनका नाममा छोरीमाथि भइरहेको लैङ्गिक विभेदले बालविवाहलाई प्रश्रय दिएको छ’, अध्यक्ष चौधरीले भने, ‘हामी छोरीको शिक्षामा गम्भीर छौँ, हामीले विद्यालय भर्ना कार्यक्रम, घरदैलो कार्यक्रमजस्ता काम गर्ने गरेका छौँ । यसरी पढाइ छाडेका छोरीको शिक्षामा सघाउन पालिकाले विशेष कार्यक्रम ल्याउनेछ ।’ गाउँपालिका अध्यक्ष चौधरीले पालिकाले विद्यालयमा आकर्षण बढाउन समुदायको मागअनुसार पोशाक वितरण, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सञ्चालन गरेर पनि विद्यार्थीलाई प्रोत्साहन गरिरहेकाले अभिभावकलाई छोरीको शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरे । रासस
भिडभाड नगरी विद्यालय सञ्चालन गर्नु: शिक्षा मन्त्रालय
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।