विद्यार्थी जीवन र शिक्षणका अनुभव सम्झँदै शिक्षामन्त्रीः मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राखिने
काठमाडौं । “एकै पटक कक्षा ५ मा भर्ना गरेर विद्यालय शिक्षा शुरु गरेको यहाँ कोही हुनुहुन्छ ?” सभाकक्षमा एकाएक सुनिएको यो प्रश्नको जवाफमा “म छु” भन्ने कोही देखिएन । कसैको हात नउठेको देखेपछि दायाँबायाँ हेर्दै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुसुक्क हाँस्दै भने, “म नै त्यस्तो भाग्यमानी हुँ जो कक्षा ५ भन्दा तलका कक्षा नपढीकन एकैपटक पाँचमा भर्ना भएको थियो ।” विसं २०२५ मा नुवाकोटको त्रिशूली बजारस्थित तत्कालीन ‘त्रिभुवन त्रिशूली हाइस्कूल’ मा कक्षा ५ मा भर्ना भएको र त्यसबेला त्यहाँ पाटनबाट गएका प्रधानाध्यापक शारदामान श्रेष्ठ रहनुभएको स्मरण गर्दै मन्त्री श्रेष्ठले शिक्षा र आफ्नो नाता थप जोड्न थाले । शायद आमाले ज्याला मजदूरी गरेर हुर्काएकाले सानो छँदा श्रेष्ठले कक्षा १ देखि भर्ना हुन पाएनन् । विसं २०३१ मा त्यहीँबाट प्रवेशिका उत्तीर्णपछि पञ्चायतविरोधी भूमिगत राजनीतिमा सामेल हुँदै २०३५ सालमा काभ्रेपलाञ्चोकको बनेपास्थित आधार माविमा विज्ञान र ऐच्छिक गणित शिक्षक भएर केही समय काम गरेको अनुभव पनि मन्त्री श्रेष्ठले सुनाए । विद्यार्थीलाई विषयगत शिक्षाका साथै मोदनाथ प्रश्रितको ‘पचास रुपियाँको तमसुक’ जस्ता कृतिबाट राजनीतिक चेतनायुक्त शिक्षा पनि दिएको उनका स्मरण छन् । विघटित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ आफ्नो विद्यार्थी रहेकामा उनले गर्व गरे । विसं २०१५ मा काठमाडौँमा जन्मेका श्रेष्ठ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका संयोजक हुन् । प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढेका श्रेष्ठले स्नातक भने अर्थशास्त्रमा गरेका हुन् । आफ्नो उच्चशिक्षाको अनुभव सुनाउने क्रममा उनले त्यसबेला चिकित्सा शिक्षाका लागि रुसबाट प्राप्त छात्रवृत्तिमा जान नेकपाका दिवङ्गत नेता जीवराज आश्रितसँग सोध्दा ‘छात्रवृत्तिमा पढ्न जाँदा निश्चित विषयका डाक्टर बन्न सक्ने तर स्वदेशमै राजनीतिमा लागेमा नेपाली जनताको सेवा गर्ने डाक्टर बन्न सक्ने’ सल्लाह दिएका कारण आफू अहिले राजनीतिमा सक्रिय रहेको रोचक प्रसङ्ग सुनाए । स्वाभिमान बढाउने शिक्षा प्रणालीमा जोड शहरी विकास मन्त्रालयमा ७५ दिन नेतृत्व गरी शिक्षामा आउनुभएका मन्त्री श्रेष्ठले मन्त्रालयमा पदबहालीपछि सचिवद्वय गोपीनाथ मैनाली र डा सञ्जय शर्माका साथै अन्य कर्मचारी तथा विभिन्न निकायका प्रमुखलाई सम्बोधन गर्दै देशको विकास र स्वाभिमान बढाउने शिक्षा प्रणालीतर्फ आफूहरु केन्द्रित हुनुपर्ने आग्रह गरे । विसं २०६१ मा स्थानीय विकास राज्यमन्त्री हुनुभएका श्रेष्ठ विसं २०४८ को आमनिर्वाचनमा जननेता मदन भण्डारीले छाडेको काठमाडौंँ क्षेत्र नं ५ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०५१ मा काठमाडौँ क्षेत्र नं ७ बाट पुनःनिर्वाचित हुनुभयो । विसं २०५६ र २०६४ निर्वाचनमा सोही क्षेत्रका प्रत्याशी उहाँ विसं २०७४ को निर्वाचनमा काठमाडौँ–९ बाट विजयी भएका थिए । राम्रो पढ्नेलाई शिक्षण र राजनीतिमा लाग्न आग्रह मन्त्री श्रेष्ठले जापान, जर्मनी, बेलायत, चीन, दक्षिण कोरिया आदि मुलुकको उदाहरण दिँदै कुनै पनि मुलुकको विकास र प्रगतिमा शिक्षाको गुणस्तर पहिलो शर्त हुने भएकाले मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राख्ने सक्ने वातावरण बनाउनुपर्ने बताए । जापानमा अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो पढाउने बारेमा चिन्ता गर्ने र ती विद्यार्थीले पढिसकेपछि जागीरको पहिलो रोजाइ शिक्षणलाई बनाउने गरेको, चीनमा विभिन्न विधाका मेधावीलाई राजनीतिमा सामेल गराउने गरेको तर नेपालमा कतै जागीर नपाएपछि शिक्षक र पढाइमा कमजोर भएकाहरु राजनीतिमा लाग्ने गर्नाले मुलुकको प्रगति नभएको तर्क राखे । राम्रो पढ्नेले राजनीतिलाई घृणा गर्ने अवस्थाको पनि अन्त्य गराउनुपर्ने उनको भनाइ थियो । नेपालका शिक्षकको सुविधा आकर्षक नभएकाले उनीहरुले पढाउने पेशासँगै वैकल्पिक पेशामा पनि ध्यान दिने भएकाले शिक्षामा गुणस्तर नआएको जिकिर गर्दै मन्त्री श्रेष्ठले कतै नपाएपछि शिक्षक हुने प्रवृत्ति अन्त्यका लागि गम्भीर हुनैपर्ने बताए । ‘राजनीतिक झोला मन्त्रालय बाहिर’ मन्त्री श्रेष्ठले एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिअनुकूल शिक्षाको विकासका लागि दूरगामी योजनाका साथ आफूले इमान्दार भएर काम गर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक रहेको बताए । आफू नेकपाको नेता भए पनि मन्त्री हुँदा देश र जनताको हितलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई राजनीतिको झोला मन्त्रालय परिसर बाहिरै राख्न निर्देशन दिए । ‘राम्रा कामलाई निरन्तरता’ मन्त्री श्रेष्ठले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा भएका राम्रा कामको निरन्तरता हुने र अपूरा तथा गलत कामलाई सुधार गरिने बताए । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका केही सदस्यले आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गरेको तर्फ लक्ष्य गर्दै उनले त्यस्ता काम आफूबाट नहुने बताए । कर्मचारीलाई सही सल्लाह र परामर्श दिन आग्रह गर्दै मन्त्री श्रेष्ठले “म शिक्षाको यस पोखरीमा फाल हालिसकेको छु, म यसलाई पारि तार्न चाहन्छु । डुब्न लागेमा बचाउनुहोला । तीरमा बसेर तमासा नहेर्नुहोला ।” पहिलो निर्णय मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा खगेन्द्रप्रसाद अधिकारीको सेवा शर्तसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लाने टिप्पणीमा सदर गरी पदबहाली गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद् लान लागिएको हो । मन्त्री श्रेष्ठलाई मन्त्रालयमा आउँदा सचिवद्वय मैनाली र शर्मालगायत कर्मचारीले स्वागत गरेका थिए । रासस
भक्तपुरमा तत्काल विद्यालय नखुल्ने, भर्चुअल माध्यमबाटै कक्षा सञ्चालन हुने
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिए । “अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लान सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाइ गराऔँ ।” कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि सञ्चालन गर्न रोक्न नहुने जिकिर गरेका थिए । सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गरेका थियो । मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीका बीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धराशायी बनेको बताए । मध्यपुर प्याब्सनका कोषाध्यक्ष एवं नगरपालिका शिक्षा समिति सदस्य सुमन बस्नेतले मध्यपुरथिमिका विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष आचार्यले देशमै पहिलोपटक मध्यपुरथिमि नगरपालिकाले ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएकामा बधाई दिँदै नगर प्रमुख श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे । त्यसैगरी करातेमा दोहोरो स्वर्ण पदक विजेता मध्यपुरथिमिका खेलाडी मन्देकाजी श्रेष्ठलाई पनि अध्यक्ष आचार्यले सम्मान गरे । रासस
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी
डाेटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए । उनले भने, “लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि उल्लेख्य सहभागी बढेको छ ।” विद्यालय सञ्चालन भएसँगै यहाँका विद्यालयमा पढाइसमेत सञ्चालन हुँदै आएको छ । कोरोना महामारीका कारण कम्तीमा पनि आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुशी हुन थालेको आदर्श गाउँपालिका–२ का हर्कबहादुर खड्काले बताए । उनले भने, “महिनौँसम्म घरमा बस्नु पर्दा विद्यार्थीलाई तनाव भइसकेको थियो, अहिले स्कूल खुलेपछि उनीहरु खुशी साथ रमाउँदै स्कूल जान थालेका छन् ।” विद्यार्थीलाई घरभन्दा स्कूलमा बढी रमाइलो हुने भएकाले पनि यहाँका प्रायजसो विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल २०० को हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए । उनले भने, “लामो समयपछि विद्यालय खुलेका छन्, जिल्लामा कोरोना जोखिम कायमै छ, सामान्य लापरवाही गरे विद्यार्थीबाट नै कोरोना जोखिम फैलिन सक्ने प्रबल सम्भावना देखिएको छ, सावधानी अपनाउन जरुरी देखिएको छ ।” कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले बताए । उनले भने, “कोरोना सङ्क्रमणबाट जोगिन सम्पूर्ण सुरक्षा रणनीति अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छौँ, सोही अनुसार यहाँका विद्यालयले काम गरिरहेका छन्, हामीले पनि अनुगमन गर्न थालेका छौँ ।” विद्यार्थीको शैक्षिक सत्र सकिनलाग्दासमेत विद्यालय नखुलेको तथा यो वर्षको शैक्षिक सत्र खेर जाने अवस्था आएका कारण कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सुरक्षा नीति अपनाएर विद्यालय सञ्चालन भइरहेको जोरायल गाउँपालिका शिक्षा विकास अधिकृत तेजबहादुर खत्रीले बताए । उनले भने, “विद्यार्थीको शैक्षिक सत्र खेर जान थालेका कारण हामीले सबै सुरक्षा रणनीति अपनाएर विद्यालय खोलेका छौँ, आशा छ, विद्यालयबाट कोरोना सङ्क्रमण फैलिने छैन ।” विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गरी खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन भइरहेको घण्टेश्वर मावि जोरायलका प्राचार्य सुनलाल थापाले बताए । उनले भने, “पठनपाठन गर्न चुनौतीपूर्ण नै छ, तैपनि हामीले कोरोना सङ्क्रमणबाट जोगिन सबै सुरक्षा प्रविधि अपनाएका छौँ ।” चिसो मौसम भएकाले पनि ठूलो कक्षाका भन्दा पनि सानो कक्षाका बालबालिकालाई समस्या देखिने प्रबल सम्भावना भएको उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरी त्यसैका आधारमा विद्यालय सञ्चालन गरेको बताइएको छ । उक्त निर्देशिकामा स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्य पूर्णरूपमा पालना गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था एवं विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्नुपर्ने उल्लेख गरिएको छ । रासस