ई-लर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ बैशाख १ गतेदेखि
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उद्देश्यसहित ई-लर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ आउने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको जानकारी दिएको हो । सो प्रडक्ट आगामी बैशाख १ गतेदेखि देशभर नै उपलब्ध हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माइ सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औल्याउँदै अध्यक्ष बुढाथोकीले यस प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे । माइ सेकेण्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्दतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामाग्रीहरू, नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषताहरू रहेका छन् । हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्र्तक्रियात्मक भिडियो सामाग्रीहरू देशभर उपलब्ध हुनेछन् । नेपालमै नेपालीले बनाएको यो प्ल्याटफर्म विश्वका १८ वटा विकसित देशका सयौं क्याम्ब्रिज स्कुलहका हजारौं विद्यार्थी, शिक्षक तथा अभिभावकले प्रयोग गर्दै आएका छन् । सन् २०२० मा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई-लर्निङ्ग प्ल्याटफर्ममा पर्न सफल माइ सेकेण्ड टिचर अमेजन वेब सर्भिसेसको भ्म (क्तबचत अवार्डबाट समेत सम्मानित छ ।
चिकित्सा शिक्षामा स्नातक भर्नाका लागि आवेदन शुल्क खल्तीबाटै तिर्न सकिने
काठमाडाैं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकिकृत परीक्षाकाे अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल माेबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । चिकित्सा शिक्षा आयाेगले एमबिबिएस, बिडिएस, बिएससी नर्सिंग, बिपिएस, बि फर्मा, बि अप्टोमेट्री, बि पिटी, बि. एन. एस लगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेकाे छ । ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयाेगकाे वेबसाइटमा चैत्र ९ गतेदेखि वैशाख १२ गतेसम्म अनलाईनबाटै आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ। खल्तीमा भुक्तानी पछि चिकित्सा शिक्षा आयाेगको वेबसाइटमा गइ ट्रान्ज्याक्सन आइडीको अन्तिमको ६ अंक राखी बाँकि फारम भर्न पर्नेछ। खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दाबढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेकाे हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका छन् । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ । रासस