जेठ २५ गतेभित्र सबै तहका परीक्षा सक्न ललितपुर महानगरको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिका भित्र सञ्चालन भएका सबै विद्यालयहरुले जेठ २५ गतेसम्म सबै तहको परीक्षा सञ्चालन गरिसक्नुपर्ने भएको छ । शुक्रबार बसेको महानगर अन्तरगतको परीक्षा तथा समन्वय समितिको बैंठकले उक्त निर्णय गरेको हो । शिक्षा शाखाले एक सूचना प्रकाशन गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएको छ । सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्षा, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ । विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी मेल गर्न निर्देशन दिएको हो ।

सङ्खुवासभाका ३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

किमाथाङ्का । सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय सो कार्यक्रमको लागि छनौट भएका छन् । यसले विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने छ । त्यसमा आठमध्ये पाँच वटा कार्यक्रम मात्र परेका छन् । जसमा कक्षाकोठा निमार्णतर्फ नौ लाख रुपैयाँ लागतमा खाँदबारी नगरपालिकाको २, चैनपुर नगरपलिका २, धर्मदेवी नगरपालिका १, मादी नगरपालिका १, चिचीला गाउँपालिका १, मकालु गाउँपालिका १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हन् । त्यस्तै खानेपानी सहितको शौचालय निर्माण तर्फ ७ लाख रुपैयाँ लागतमा पाँचखपनको १, कम्युटर ल्याब स्थापना तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा खाँदबारीका ३, चैनपुरका २, धर्मदेवी १, पाँचखपन नगरपालिकामा ४, चिचिला २, मकालु १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हुन् । पुस्तकालय तथा विज्ञान प्रयोगशाला तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा १, पाँचखपन नगरपालिकामा ३, विद्यालय र शिक्षामा नविन प्रर्वद्धन तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा २ र सभापोेखरी गाउँपालिकामा ६ वटा विद्यालय छनौटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए । छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्धेश्यका साथ सम्वन्धित पालिकामा बजेट पठाउन थालिएको प्रमुख भट्टराईले बताए । शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा सम्वन्वय एकाइमार्फत सङ्घीय सरकारलाई पठाएको र आवेदन पेश भएका जिल्लाका १० वटै स्थानीय तहका ४१२ विद्यालयमध्ये ८ वटा स्थानीय तहका ३४ विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले बताए । छनौटमा परेको विद्यालयमध्ये सवैभन्दा बढी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको ८/८ वटा त्यस्तै सवैभन्दा कम मादी नगरपालिकाको एउटा रहेका छन् । त्यस्तै खाँदबारी नगरपालिकाका ५, चैनपुर ७, धर्मदेवी ३, पाँचखपन नगरपालिका ८, मकालु गाउँपालिका २, मादी नगरपालिका १, सभापोखरी गाउँपालिकाका २ वटा विद्यालय छनौट भएका छन् । रासस

बिएण्डसी मेडिकल कलेजले पायाे सम्बन्ध, मेडिकल उच्च शिक्षाको जग बस्यो मेचीमा

काठमाडाै । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ (मेची अञ्चल)का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो । काठमाडौं विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको थियो । विज्ञ सम्मिलित टोलीले गत वैशाख २२ देखि २६ सम्म विश्वविद्यालयको ‘नम्स एण्ड स्ट्याण्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ मा तोकिएका मापदण्ड अनुसार कलेजको निरीक्षण गरी प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा विश्वविद्यालयले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विश्वविद्यालको कार्यकारी परिषद्को गत वैशाख ३१ गते सम्पन्न ६२५ औँ बैठकले कलेजलाई सहमति दिने तथा सिट सङ्ख्या सहित आवश्यक स्वीकृतिको निर्णय गरिदिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार समेत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुबोध शर्माद्वारा हस्ताक्षरित पत्र यही जेठ २ गते आयोगलाई पठाइएको बताइएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा बिएण्डसी मेडिकल कलेजले काठमाण्डौं विश्वविद्यालयको ‘नम्स एण्ड स्ट््याण्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ मा तोकिएका मापदण्ड र चिकित्सा शिक्षा ऐन २०७५ का आधारमा सम्बन्धनको सहमति प्राप्त गरेको जनाइएको छ । ‘…यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्राबधान लागू हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।’ चिकित्सा शिक्षालाई अझ व्यवस्थित बनाउन कार्यान्वयनमा आएको बहुचर्चित ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ मा ती बुँदा उल्ल्लेख छ । सरकारले सो ऐन विसं २०७५ फागुन १० गते जारी गरेको थियो । विज्ञप्तिमा बिएण्डसी कलेज काठमाडौँ विश्वविद्यालयको ‘नम्स एण्ड स्ट््याण्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ नेपाल मेडिकल काउन्सिलको एग्रिडिटेसन स्ट्याण्डर्स फर दि एमबिबिएस (ब्याचलर अफ मेडिसियन एण्ड ब्याचलर अफ सर्जरी प्रोग्राम २०१७ ) मा उल्लेखित सम्पूर्ण शर्त पूरा गर्न तयार भएको उल्लेख छ । सिट सङ्ख्या निर्धारण गर्न माग कार्यकारी निर्देशक प्रसाईँले विज्ञप्तिमा एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जनाउँदै कोटा ( सिट) सङ्ख्या निर्धारण गरिदिन चिकित्सा शिक्षा आयोगसँग माग गर्नुभएको छ । उहाँका अनुसार पठन पाठनका लागि भवन तथा अस्पताल तयारी अवस्थामा रहेको र अध्यापन गराउने विभागीय जनशक्ति (फ्याकल्टि मेम्बर ) नियुक्त हुने अवस्थामा छन् । कलेजका धाईजनमा २२ बिघा जमिन, यसमा बनेका विशाल संरचना, विर्तामोडमा पूर्वाञ्चल क्यान्सर र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया, ती अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० बढी एमआरआई हुने गर्छ । पछिल्लो समय अस्पतालले मिर्गाैला तथा मुटुरोग प्रत्यारोपणको तयारी गर्दैछ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई निः शुल्क सेवा समेत प्रदान गरिराखेको छ । साथै कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले कोरोना सङ्क्रमितलाई उपचार गर्न २०० श्यया सञ्चालनमा ल्याएको छ । भेन्टिलेटर , एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव नरहेको सो अस्पतालमा २२ कोरोना सङ्क्रमित ‘हवाई लिफ्ट’ गरी उपचार गर्न पुगेका छन् । अस्पताललले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दैछ । कलेजका प्राचार्य प्राडा उमेश शर्माले एमबिबिएस पठन पाठनका लागि आवश्यक पूर्वाधार काठमाडौँको भन्दा उच्च र विशिष्टिकृत रहेको दाबि गरे । उनले भने, ‘एमबिबिएस पठन पाठनका लागि तयारी पूरा भएको छ । हाम्रो पूर्वाधार एमडी/एमएसका लागि पनि छ । नीति निर्माण तहमा रहेकालाई एकपटक विर्तामोड आएर अस्पताल, उपकरण, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सहित भौतिक पूर्वाधार तथा मापदण्ड हेरिदिन आग्रह गर्छु ।’ नाफा होइन ,सेवामा समर्पित छु: कार्यकारी निर्देशक प्रसाईँ कार्यकारी निर्देशक प्रसाईँले आफ्नो कलेजले नीति र बिधि भित्र रहेर सम्बन्धन पाएको विज्ञप्तिमा जनाएका छन् । उनले भनेका छन्,’ऐन अनुसार कलेजले सम्बन्धन पाएको छ । अब सरकारी शुल्कमा गुणस्तरीय चिकित्सा शिक्षा दिन्छौँ । स्वदेश मै दक्ष चिकित्सक उत्पादन गर्छाै । मैले चिकित्सा ऐन जारी हुनुपूर्व नै सम्बन्धन पाऔँ भनेर निवेदन दिएको हुँ ।’ कलेजले मापदण्ड तथा पूर्वाधार तयार गरी सम्बन्धनका लागि सो विश्वविद्यालय समक्ष विसं २०७३ फागुन १५ गते निवेदन दिएको थियो । साथै चिकित्सा शिक्षा ऐन जारी भएपछि गठन भएको सो आयोगमा एमबिबिएस सिट निर्धारणका लागि कलेजले आवश्यक कागजातपत्र सहित विसं २०७६ फागुन १ गते निवेदन दिएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रति एकलाख जनसङ्ख्या बराबर छ चिकित्सक मात्र उपलब्धता छ । ती मध्ये अधिकांश शहरी क्षेत्रमा केन्द्रीत हुँदा ग्रामीण क्षेत्रमा सधै चिकित्सकको अभाव हुँदै आएको छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘विपन्न जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन चिकित्सक उत्पादनमा सरकारी तथा निजी लगानी वृद्धि गर्नु आवश्यक छ । सरकारको नीति र नियम अक्षरशः पालन गर्न बिएण्डसी प्रतिवद्ध छ । करिव ३२ लाख जनसङ्ख्या रहेको मेचीले एउटा पनि मेडिकल कलेज नपाउनु पर्ने कारण के हो ? कोरोना महामारीमा बिरामीको सेवा गर्ने कि भएका संरचनालाई ध्वस्त बनाउन लाग्ने ? म आफै क्यान्सरलाई जितेर नयाँ जीवन प्राप्त गरेको व्यक्ति हुँ, बिरामीका छट्पटि कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ । यही पीडाले जायजेथा बैँकमा राखेर मेडिकल शिक्षामा लगानी गरेको हुँ ।’ झापामा मेडिकल कलेज सञ्चालन हुने विषय विद्वान र सचेत वर्गले टाउको दुःखाउन आवश्यक नरहेको र काठमाडौँमा बसेर बिएण्डसीका बारेमा अनावश्यक धारणा नबनाउन विज्ञप्तिमा उनले आग्रह समेत गरेका छन् ।’