निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित
बैतडी । बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु सुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्तर्गत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन । उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर प्रयोगशाला स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रर्वद्धन, सिकाइ सामग्री उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पुर्वाधार विकास लगायत योजना निर्माणको काम गर्न भनिएको छ । असार मसान्तसम्ममा नै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएपनि निषेधाज्ञाका कारण योजनाका कामहरु प्रभावित भएका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । निषेधाज्ञाका कारण उक्त अवधिमा निर्माण सम्पन्न हुने सम्भावना छैन् । उनले भने, ‘निर्माण सामग्री ढुवानीको समस्या छ, ढिला गरी बजेट विनियोजन भयो, कार्यान्वयनमा समस्या छ ।’ कुनै कुनै स्थानीय तहमा रहेका विद्यालयले स्थानीयस्तरमा रहेका स्रोत साधनको प्रयोग गरेर पनि काम गरिरहेका समन्वय एकाइका प्रमुख अवस्थीको भनाइ छ । उनले भने, ‘निर्माण सामग्रीको अभाव भएकोले अधिकांश विद्यालयमा काम नै शुरु भएको छैन्, तोकिएको समयमा काम सकिने अवस्था छैन् ।’ उक्त कार्यक्रम अन्तर्गत आफ्नो विद्यालयमा कक्षाकोठा निर्माण र शिक्षण सामग्री खरिदको योजना परेकोले उक्त कार्य जारी रहेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक वलदेवनाथले बताए । ‘गाउँपालिकासँग सम्झौता गरेर कक्षाकोठा निर्माणको कार्य जारी राखेका छौं’, उनले भने, ‘निषेधाज्ञाले बाहिर जान सकिराखेका छैनौ, स्थानीय स्रोत साधनको प्रयोग गरेर काम गरिरहेका छौं, हामी समयमै काम सम्पन्न गर्छौ ।’ विद्यालयमा छनौट भएका योजनाले शैक्षिक गुणस्तर सुधारका लागि टेवा पुग्ने समेत प्रधानाध्यापक वलदेवनाथको विश्वास छ । छनौट भएका विद्यालयले स्थानीय तहमार्फत रकम पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । उक्त कार्यक्रमका लागि जिल्लाका १० वटै स्थानीय तहका २ सय ८ विद्यालयको आवेदन पेश भएकोमा १ सय ३० विद्यालय मात्रै छनौट भएका थिए । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका सबैभन्दा बढी २७ वटा विद्यालयहरु छनौट भएका छन् । यस्तै पुर्चौडी नगरपालिकाका १९, मेलौली नगरपालिकाका १७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका १४, डिलाशैनी गाउँपालिकाका १० र दशरथचन्द नगरपालिकाका ९ वटा विद्यालयहरु छनौट भएका हुन । दोगडाकेदार गाउँपालिकाका ७, शिवनाथ गाउँपालिकाका ६ र पञ्चेश्वर गाउँपालिकाका ५ विद्यालयहरु छनौट भएका छन् । विद्यालयले पेश गरेको कार्यक्रमको आधारमा छ लाख ५० हजार देखि एक करोड रुपैंयासम्म विद्यालयले प्राप्त गर्ने गरी छनौट गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ ।
एनप्याब्सनले भन्यो- बजेटको बुँदा नं. ४१४ भेदभावपूर्ण भयो, तत्काल हटाउनु
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेसनल प्याब्सन) ले आगामी आर्थिक वर्षको बजेटमा भएको बुँदा नं.४१४ कार्यान्वयन नगर्ने भएको छ । एसोसिएसनले जेठ १७ गते एक सूचना जारी गर्दै उक्त बुँदा भेदभावपुर्ण भएकोले कार्यान्वयन नगर्ने जानकारी गराएको हो । निजामती कर्मचारीका छोराछोरीका लागि भनि गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न निजामती विद्यालय खोल्ने तथा निजामती कर्मचारीका छोराछोरीलाई प्रदेशगतरुपमा प्रतिस्पर्धा गराई स्नातक र सोभन्दा माथिल्लो तहको अध्ययनको लागि ५ लाख रुपैयाँसम्म छात्रवृति उपलब्ध गराइने गरी जारी भएको उक्त बुँदामा संघको ध्यानाकर्षण भएको छ । त्यस्तै, सबै नागरिक कानूनको दृष्टिमा सम्मान हुने भएकोले उक्त भेदभावपुर्ण बुँदा कार्यान्वयनमा ल्याउन संघ असमर्थ रहेको बताएको छ । साथै, संघले उक्त बुँदालाई कार्यान्वयन नर्गन र सोको आधारमा बजेट बिनियोजन नगर्न र आगामी दिनयमा यस्तो विषयमा सरोकारवाला संस्थाहरुसँग छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेको छ । त्यस्तै, सो बुँदालाई तत्काल हटाई सार्वजनिक रुपमा जनतालाई जानकारी नगराएमा निवेदश संस्था मौलिक हक तथा विधिको शासनको संरक्षणार्थ सम्मानित सर्वोच्च अदालत जान बाध्य हुने नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटामार्फत जारी भएको विज्ञप्तिमा जनाईएको छ । के छ बजेटकाे बुँदा नं. ४१४ मा ? आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय व्ययको सार्वजनिक जानकारी वक्तव्यको ४१४ नंम्बरमा ‘निजामती कर्मचारी सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशमा निजामती विद्यालय स्थापना गरिने छ । प्रदेशसँगको साझेदारी र सहकार्यमा धनकुटा र दिपायलमा सञ्चालित निजामती विद्यालयको स्तारोन्नति गरिने छ । निजामती कर्मचारीका सन्ततिलाई प्रदेशगत रुपमा प्रतिस्पर्धा गराई स्नातक र सोभन्दा माथिल्लो तहको अध्ययनका लागि ५ लाखसम्म छात्रवृत्ति उपलब्ध गराइने छ’ उल्लेख छ ।
३२ वर्षकाे इतिहास बाेकेकाे शुभतारा स्कुल दुई कराेड घाटा लागेकाे भन्दै सधैँकाे लागि बन्द गरिँदै
काठमाडाैं । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ । अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन् । स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन् । अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउँछन् । उनी भन्छन्, ‘बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाएपछि बन्द नगर्न सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापनले मानेन, मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठायो ।’ कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभई यस स्कूलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उनी बताउँछन् । कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान बेहोर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको उनको भनाइ छ । कक्षा १ देखि १० सम्म पढाइ हुँदै आएको यो विद्यालयले आर्थिक सङ्कटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ । विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा दुई करोड घाटा लागेकाले आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ । कलङ्की रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताइन् । उनले भनिन्, ‘अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक/दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक सङ्कट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गर्नुभयो ।’ हालसम्म २० वटा एसइई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ । विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजासमेत वितरण गरिसकिएको छ । विद्यालय बन्दको निर्णयप्रति रुष्ट हुँदै अभिभावक शिवशङ्कर मानन्धरले भने, ‘शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस् हामी थप सहयोग गर्न तयार छौँ ।’ अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावनाविपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात गर्नु सरह भएको टिप्पणी गरे । विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उनले अभिभावक सङ्घकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि आगामी २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको उनले बताए । विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशङ्का व्यक्त गरे । महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराई बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताए । रासस