देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, सीमानाका पनि बन्द हुने
काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ । यस्तै, बैठकले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो।
त्रिविकाे सबै परीक्षा स्थगित
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले भाेलीदेखि हुने सबै परीक्षा स्थगित गरेकाे छ । विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जाेशीले सबै परीक्षा स्थगित भएकाे विकासन्युजलाई जानकारी दिए । ‘काेराेनाभाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै हामीले परीक्षा स्थगित गरेका हाैं । अर्काे सूचना जारी नभएसम्म हाम्रा कुनै पनि परीक्षा संचालन हुने छैनन्,’ उनले भने । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आईतबार बसेको बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकार समक्ष सिफारिस गरेको थियाे । बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकोले बैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीको निर्देशन विपरित परीक्षा लिँदै विद्यालय, प्याब्सन भन्छ- निर्देशन पालना नभए कारवाही
काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आईतबार बसेको बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकार समक्ष सिफारिस गरेको छ । बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकोले बैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सीसीएमसीको सिफारिस विपरित केही निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) मा आवद्ध केही विद्यालयले भने परीक्षा सञ्चालन गरिरहेका छन् । सरकारको निर्देशनको वेवास्ता गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन भएका अधिकांश विद्यालयले परीक्षालाई निरन्तरता दिईरहेका छन् । धेरै विद्यालयले आईतबारदेखि परीक्षा सुरु भएको भन्दै परीक्षालाई निरन्तरता दिने निर्णय गरेको पाइएको छ । ‘सरकारले पुनः लकडाउन गर्ने तयारी गरेको छ भन्ने सुनिएको छ । आईतबारदेखि परीक्षा सुरु भएको छ । लकडाउन भएपछि के हो के, हुनभन्दा अगाडी परीक्षा सक्ने तयारी भएको छ । स्वास्थ्य सुरक्षा अपनाउँदै परीक्षा सञ्चालन भइरहेको छ’, एक विद्यालय सञ्चालक भन्छन । सरकारको निर्देशन विपरित परीक्षा सञ्चालन भएको विषयमा विकासन्युजले जिज्ञाशा राख्द प्याब्सनका अध्यक्ष टीकाराम पुरी सरकारको निर्णय पालना हुने बताउँछन् । उनले प्याब्सनले सबै विद्यालयलाई भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगीत गरेर बैकल्पीक विधि अपनाउन निर्देशन दिसकेको भन्दै निर्देशनको पालना नगर्ने विद्यालयलाई कारवाही हुने बताउँछन् । ‘हामीले सरकारको निर्णय र निर्देशनको पालना गर्ने हो । सरकारको निर्णयको पालना नगरी आफूखुशी विद्यालय खोलेर परीक्षा सञ्चालन गर्ने विद्यालय कारवाहीको भागीदार हुन्छ’, उनले भने, ‘स्थानीय सरकारले सरकारको निर्णयको पालना नगरी विद्यालय सञ्चालन गर्ने विद्यालयलाई कानुनी दायरामा ल्याउनुपर्छ, हामीले कारवाही गर्न मिल्दैन ।’ यस्तै, एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटा सबै विद्यालयलाई परीक्षा स्थगित गरी वैकल्पिक विधिबाट परीक्षा लिन निर्देशन दिईएको बताउँछन् । ‘हामीले सबै विद्यालयलाई अनलाइन मार्फत पठनपाठन गर्न तथा परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छौँ । आईतबार साँझ ढिलो निर्णय आउनाले केही विद्यालयले आज परीक्षा लिएका छन । भोलीबाट भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगित गरी अनलाईन मार्फत सञ्चालन हुन्छ’, उनले भने ।