विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन
वालिङ । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए । 'अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ', उनले भने, 'ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।' विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ ।
अत्यधिक गर्मी बढेपछि २ दिन विद्यालय बिदा
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगर प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने लगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।
इम्बार्क अनम्याथको गणित शिक्षामा नयाँ आयाम
काठमाडौं । नेपालमा गणित शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले सुरु गरिएको उद्यमशील गणित कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ। इम्बार्क अनम्याथ प्राइभेट लिमिटेडले विकास गरेको यो एक वर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिने जनाइएको छ । पारम्परिक कक्षाकोठाको भित्ताबाट बाहिर निस्कँदै यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने खालको रहेको इम्बार्कले जनाएको छ । गणितलाई केवल अंकगणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ । कार्यक्रमको संरचना ३० कार्यदिवशमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ । प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । यस क्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् । त्यसपछि सामर्थ्य र व्यावहारिकताको मूल्याङ्कन, टिम निर्माण, र सम्पूर्ण व्यावसायिक मोडेल तयार पार्ने चरणमा पुगिन्छ। विद्यार्थीहरू आफैले बनाएको व्यापारिक अवधारणालाई व्यावसायिक योजनाको रूपमा प्रस्तुत गर्न सिक्छन् । स्टार्टअप फेस्ट २०२५ डिसेम्बरमा आयोजना हुने स्टार्टअप फेस्ट २०२५ मार्फत विद्यार्थीहरूले आफैले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउनेछन् । कार्यक्रममा सिकाइको समीक्षा, उपलब्धिको मूल्याङ्कन र भविष्यका योजनाहरू तयार पारिनेछ । यस अवधिभर विद्यार्थीहरूले वित्तीय योजना, लगानीको मूल्याङ्कन, समस्या समाधान, बजार विश्लेषण लगायतका विषयमा अभ्यास गरेर गणितको व्यवहारिक पक्षमा गहिरो दक्षता हासिल गर्नेछन् । शिक्षामा रूपान्तरणको संकेत प्रोटोटाइप विकास, प्रिरेभिन्यू योजना, उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया जस्ता अभ्यासहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र उद्यमशील सोचलाई मजबुत बनाउँछ । यस्तो किसिमको सिकाइले परीक्षामुखी शिक्षाभन्दा बाहिर गएर जीवनोपयोगी सीप र दृष्टिकोणको विकासमा टेवा पुर्याउँछ । हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, यूरो स्कूल हात्तीगौंडा र आलोक विद्याश्रम जस्ता शिक्षालयहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् । यसले के देखाउँछ भने नेपालमै नवीन, व्यवहारिक र सान्दर्भिक शिक्षाको अभ्यास सम्भव छ । विदेश जानु महँगो विकल्प बन्ने अवस्थामा, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यहाँकै अवसरको खोजी गर्न प्रेरित गर्दै देशको आर्थिक रूपान्तरणमा सक्रिय बनाउन सक्छ ।