शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताए । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन जरुरी रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’ प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।   

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द, प्रशस्त पानी पिउन अनुरोध

गोरखा । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । उनले भने, 'गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरेको हो ।' असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि गर्मी बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै दुई दिन बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  'गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ', गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा उल्लेख छ ।  गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन, ताजा फलफूल तथा पोषिलो खाना खान र साँझ बिहानमा मात्र शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुन अनुरोध गरेको छ । रासस

बजेट अभावमा विद्यालय भवन अधुरो, गर्मीमा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य

राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।   लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए । 'कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन', अध्यक्ष रेग्मीले भने, 'भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।' कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् । तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।