मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।  विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलले नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्धतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । चालु शैक्षिक सत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।  उपकुलपति पोखरेलका अनुसार १० वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ । उनले तह १ देखि तह ५ सम्मको ‘स्किल टेस्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेको धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर अन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए । कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे ।  विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरेकोमा १४ करोड रुपैयाँ मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे । उनले कूल बजेटको ०.५ प्रतिशत मात्रै विनियोजन हुनु दुःखद भएको बताए । 

झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो ।   'खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,' कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन् । त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि बर्खामा पनि विद्यार्थी नियमित रूपमा पढ्न जाने गरेका  कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए ।  विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए । अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु १८ लाख तथा स्थानीयको रु एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । रासस

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक हुने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असार पहिलो साता नै नतिजा सार्वजनिक हुने तय थियो । तर, गत चैत २० गतेदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको मूल्यांकन बहिष्कारका कारण उत्तरपुस्तिका परीक्षण ढिला भइ नतिजा सार्वजनिक मिति पछाडि धकेलिएको हो । ‘शिक्षकहरूको आन्दोलनले परीक्षण प्रक्रियामा ढिलाइ भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा आउन सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाइएको छ । केही स्थानमा अझै परीक्षण भइरहेकाले ती काम सकिएपछि इन्ट्री, रुजु र त्रुटि सच्याएर नतिजा प्रकाशित गर्नेछौं’, उनले स्पष्ट पारे । एसईई परीक्षा चालु वर्षको चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ ।