शैक्षिक सत्र २०७८ काे लागि पाठ्यपुस्तक अभाव नहुने
काठमाडाैं । शैक्षिक सत्र २०७८ काे लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताए । यद्यपी उनकाे अनुसार असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ । यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरुपनि छापिरहेको बताएको छ ।
नेपालको पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिएका छन् । बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए । बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन समेत निर्देशन दिएका हुन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।
शैक्षिक प्रमाणपत्रबाट कर्जा लिनेले अनुभवी व्यक्तिको सहयोगमा परियोजना बनाउनु: अर्थमन्त्री पाैडेल
काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिन देखि नै कार्यान्वयनमा लैजाने बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताए । शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उनले ऋण लिन चाहाने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नुहने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे । ‘शैक्षिक ऋणसँग सम्बन्धित वा अरु शिक्षा क्षेत्रमा जेजस्ता मौलिक कार्यक्रम अगाडी सारेका छौँ हामिले । वा नियमित कार्यक्रमहरु छन् । तिनको प्रभावकारी कार्यान्वयन हुन्छ । कुनै दुविधा, अन्यौल, अस्पष्टता नराख्नका लागि, आश्वस्त हुनका लागि आग्रह गर्न चाहान्छु । यहाँहरुले कुरेर बस्नुपर्ने स्थिति हुँदैन’,उनले भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने जुनखालको प्रवन्ध छ, यो बजेटको प्रवन्ध कार्यान्वयन हुन्छ । ऋण लिन चाहाने युवाहरुले आफ्नो परियोजना निर्माण गर्दा बिचमै असफल भएर हिंँड्नु नपर्नेगरी त्यसको तयारीमा ध्यान दिनका लागि अनुभवी व्यक्ति, संस्थाहरुबाट सहयोग लिन उत्प्रेरित गराउनुहोला । यो कार्यान्वयन हुन्छ । शिघ्र कार्यान्वयन हुन्छ ।’