डाेटी साक्षर जिल्ला घोषणा
डाेटी । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ । मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गरे । उनले भने, ‘अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।’ रासस
नयाँ शैक्षिक सत्रका लागि ७० प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो
काठमाडौं । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको हो । विगतका तय गरिएका पाठ्यक्रम मुद्रणीय प्रति (सिआरसी) का आधारमा पहिल्यै छापिइका पाठ्यपुस्तकमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ राजनीतिक नक्सा समावेश नभएकामा सम्बन्धित पृष्ठमा नक्साबारे अलग्गै पृष्ठ छापेर विद्यालय–विद्यालयमा पठाउने काम पनि केन्द्रले गरिरहेको छ । हाल मुद्रण भइरहेका पाठ्यपुस्तकमा नयाँ नक्सासहित छपाइ भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए । विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने सरकारको दायित्व हो । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रका प्रेसले उत्पादन गर्दै आएका छन् भने सो तहभन्दा माथिका लाागि जनक शिक्षाले उत्पादन गर्दै आएको छ । वितरणका लागि केन्द्रले मुलुकका आफ्ना प्रादेशिक र अन्य कार्यालयमा गरी एक हजार एक सय बिक्रेता नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नक्सा समावेश गर्न निर्देशन दिएपछि यही असार १५ गते पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षा लिमिटेडलाई त्यसबारे पत्राचार गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले आग्रह नगरेसम्म उत्पादनकर्ता निकायले पाठ्यपुस्तकमा परिमार्जन गर्न पाउँदैन । नयाँ (चुच्चे) नक्सा अनुसार नेपालको क्षेत्रफल बढेर एक लाख ४७ हजार ५१६ कायम भएको छ । संसद्बाट संविधान संशोधन भएपछि नेपालका नयाँ राजनीतिक नक्सा २०७७ जेठ ७ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजकि गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्दले समयमा नयाँ नक्साबारे पाठ्यसामग्रीमा परिमार्जनका लागि समयमा औपचारिक पत्राचार नगर्दा बजारमा गइसकेका पाठ्यपुस्तकमा पुरानै नक्सा समावेश भएको गुनासो आएको थियो । पाठ्यक्रम विकास केन्द्रले यही असार १३ गते ‘पाठ्यपुस्तकको प्रयोगसम्बन्धी अत्यन्त जरुरी सूचना’ जारी गरी विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको गत जेठ २८ गतेको निर्णयानुसार यस शैक्षिकसत्रका लागि बिक्रीमा रहेका स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा अनिवार्यरुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा समावेश हुुनुपर्ने सूचना बिक्रेता, शिक्षक र अभिभावकमा पनि दिएको थियो । गत वर्षमा नै छपाइ भएका पाठ्यपुस्तक तथा सामग्रीमा सम्बन्धित पेजमा परिमार्जन गरी नयाँ पेज समावेश गर्न पनि उक्त सूचनामा आग्रग गरिएको थियो । अनुगमन समितिले यही असार १२ मा बजार अनुगमन गर्दा पुरानै नक्सा भएका धेरै पुस्तक देखिएको नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले अब पुस्तक खरीद गर्दा हेरेर मात्रै खरीद गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई आग्रह गरेको छ । कक्षा ४ देखि १० सम्मका सामाजिक विषयमा नेपालको नक्सासम्बन्धी पाठ रहेको छ । कक्षा १, २, ३ र ६ मा नयाँ पाठ्यपुस्तक लागू भएकाले ती पुस्तकमा स्वतःनयाँ नक्सा समावेश गरिएको जनाइएको छ । लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यका अनुसार यस शैक्षिकसत्रका लागि सरकारले दिएको एक करोड ८४ लाख थान पाठ्यपुस्तक उत्पादन हुनुपर्ने लक्ष्य रहेकामा हालसम्म एक करोड ३० लाख थान बिक्री वितरण भइसकेको छ । कर्णाली प्रदेशका केही जिल्लाबाहेक अन्य जिल्लाबाट पाठ्यपुस्तक अभाव भएको गुनासो नआएको केन्द्रले जनाएको छ । रासस
कालाेपुलस्थित जेभियर इन्टरनेशनल कलेजलाई विश्वस्तरको अवार्ड
काठमाडाैं । नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वर्ल्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो । हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले दुबइस्थित ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरेको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताए । कोभिड–१९ को महामारीका कारण सो पुरस्कार भौतिक उपस्थितिमा नभई प्रमाणपत्र उपलब्ध भएको जनाइएको छ । तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षा सञ्चालन गर्दै आएको छ । प्रगतिशील शिक्षण र सिकाइ अवधारणाको कार्यान्वयन गर्दै आएको सो कलेजले बोर्डको परीक्षामा गत सात वर्षदेखि ९० प्रतिशत सफल नजिता हासिल गर्दै आएको छ । यस कलेजमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् ।