त्रिविले भन्योः सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोकिँदैन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका परीक्षाहरु नरोकिने बताएको छ  । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने बताएको हो । त्रिभुवन विश्व विद्यालयका रजिष्टार पेशल दाहालले परीक्षा नरोकिने बताएका हुन् । ‘अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ, यसले विद्यार्थीलाई एक किसिमको मानसिक तनाव पनि सिर्जना हुन्छ, सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा हामी रोक्ने योजनामा छैनौं, परीक्षा तोकिएकै समयमा हुन्छ,’ उनले विकासन्युजसँग भने । उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेका छन् भने साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने प्रस्ताव गरेकाे छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको हो । मन्त्रालयले कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने उल्लेख गरेकाे छ ।

कोभिड तेस्रो लहरको डरले सबै तहका परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको हो । सोमबार स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगनको तयारी भएको बताएका हुन् । ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनाको बुँदा नम्बर ११ मा भनिएको छ । परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन । उनले स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी छिटै निर्णय लिने बताए । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म गर्ने भनी परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको थियो । विद्यार्थीले होम सेन्टरबाटै १०० पूर्णङ्कको परीक्षा दिने व्यवस्था गरिएको थियो । जेठ २६ गते तय भएको कक्षा १२ परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

शैक्षिक सहकार्यका लागि मध्यपश्चिम र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता

सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि आज सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएकोे छ । दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पु¥याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ । त्यस्तै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।