स्वास्थ्य मन्त्रालयद्वारा सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडाैं । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए । मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ । रासस

नेपालमै पहिलो पटक ब्रिटिस कलेजले पायो ‘ब्रिटिस एक्रिडेसन काउन्सिल’को मान्यता

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । बीएसी आफैमा पनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरु भेटिए पनि शैक्षिक संस्थाहरुलाई आफ्नो मान्यता दिँदैन । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको हो । बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नको लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, बिभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेको कारण बीएसीको मान्यता पाएको हो । यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूह लगायतको पनि जाँच गरेको थियो । कोभिड– १९ को महामारीको समयमा कलेजले कसरी शिक्षा प्रदान गरिरहेको छ भनेर ब्रिटिस एक्रिडेसन काउन्सिलले प्रत्यक्ष रुपमा विद्यार्थीहरुको सिकाई, एकेडेमिक टिमको कार्यशैली लगायतका कामको अवलोकन तथा मूल्यांकन गरेका थिए । यो कठिन अवस्थामा पनि कलेजले प्रभावकारी रुपमा काम गरेको, विद्यार्थीहरुले भोग्नुपरेका प्राविधिक कामहरुलाई पनि समाधान गरिदिएको साथै शिक्षक तथा कर्मचारीहरु विद्यार्थीहरुलाई आवश्यक परेको समयमा उपलब्ध भएकाले पनि मान्यताको लागि सकारात्मक पाटो बनेको हो । टीबीसीका मार्केटिङ तथा एडमिसन हेड अमरद्वीप मण्डलले महत्वपूर्ण मान्यता पाएसँगै कलेज परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । साथै, कलेजले आगामी दिनमा अझै उत्कृष्ट काम गर्नको लागि विद्यार्थी, पूर्व विद्यार्थी, कर्मचारीका साथै बिभिन्न संस्थाहरुसँग काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ब्रिटिस एक्रिडेसनबारेः ब्रिटिस एक्रिडेसन काउन्सिल शैक्षिक गुणस्तर प्रमाणिकरणको प्रमाणपत्र दिने संस्था हो । यसले ब्रिटिस विश्वविद्यालयको सम्बन्धनमा संचालनमा रहेका शैक्षिक संस्थाहरुको नियमित गुणस्तरको जाँच गर्ने गर्दछ । सन् १९८४ मा स्थापना भएको यो संस्थाले बेलायतमा स्वतन्त्र रुपमा निजी शैक्षिक संस्थाहरुको गुणस्तरको मापन गर्दै आएको छ । बीएसीको एक्रिडेसन विश्वभरी नै विद्यार्थी, एजेन्ट्स तथा सरकारी अधिकारीहरुमाझ प्रख्यात रहेको छ ।

बर्दिवास नगरपालिकाद्वारा विद्यार्थीलाई साइकल वितरण

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले पुञ्चधुरा माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नं. ५ मा रहेको पुञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । नगरपालिकाले प्रदेशको सहयोगमा विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका सांसद शारदा देवी थापाको उपस्थितिमा कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण भएको हो । विद्यालय जान आउन सहज होस् भन्दै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको नगरले जनाएको छ । नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै साइकल वितरण गरेको वडा नं. ५ का वडाध्यक्षले बताए । साइकल वितरण कार्यक्रममा बोल्दै सांसद थापाले गुणस्तरीय शिक्षाका साथै छोरीहरूको मनोवल बढाउन साइकल वितरणले बुलो सहयोग मिल्ने बताइन् । उनका अनुसार शिक्षा स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान पनि ल्याइएको छ ।