हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

सिमकोट । लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो । प्रकाशन गृहले जिल्लामा पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ । ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले प्रतिक्रिया दिए । उनले भने, ‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ ।’ उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए । उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन् । यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् र त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ । खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरे । विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर पनि अध्ययन गर्न सकिने रावतकको भनाइ थियो । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका एजेन्टको लापरवाहीका कारण आफूहरुले समयमै पुस्तक नपाएको रावतले बताए ।

निषेधाज्ञाका कारण रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजबाट सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ। स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण रोकिएका परीक्षा एक वर्ष ढिलो गरेर सुर हुन थालेका हुन्। त्रिवीले पहिलो पटक वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई अनलाईन माध्यमबाट परीक्षा आवेदन फारम भर्ने तथा केन्द्र परिवर्तन गर्ने कार्य गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ। परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न कार्यालयले अनुरोध गरेको छ। प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न पनि केन्द्रले केन्द्राध्यक्षलाई आग्रह गरेको छ।

भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श शुरु

काठमाडाैं । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ । काठमाडौंस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत कम्पेक्स छात्रवृत्तिमा आवेदन दिने विद्यार्थीका लागि विश्वविद्यालयका पूर्वाधार, गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र छात्रवृत्तिका बारेमा फाउण्डेशनले परामर्श गरेको हो । यसबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१/२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा आफूहरुले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताए । कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।